मिडियाहरु नै असमावेशी भएकाले आदिवासीका समाचार आउँदैनन् : आचार्य

काठमाडौं : नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कैलालीको टिकापुर घटनालाई राष्ट्रियस्तरका मिडियाहरुले सही ढंगले बुझ्न नसकेको बताएका छन् ।

शुक्रबार ‘थारु आन्दोलनमा मिडियाको निष्पक्षता’ विषयक जुम संवादमा आचार्यले सो कुरा बताएका हुन् ।

२०७२ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा एक बालकसहित ८ जनाको ज्यान गएको थियो । नेपाल प्रहरीका एसएसपीसहित ५ र सशस्त्रका २ जनाको ज्यान गएको थियो ।

टिकापुर घटनामा ठूला भनिने मिडियाहरुले गतल ढंगले प्रचार गरेको थारु समुदायको आरोप लगाएका थिए ।
अहिले पनि थारु समुदायले आफूहरुको मुद्दा मिडियाले समाचार नबनाउने रुपमा बुझ्ने गर्छन् ।

यही पृष्ठभूमिमा शुक्रबारको जुम संवादमा महासंघका अध्यक्ष आचार्यले राष्ट्रियस्तरका मिडियाले थारु समुदायलाई बुझ्न नसकेको बताएका हुन् ।

टिकापुर घटनाका बेला कैलालीको फुलबारी एफएम जलाइएको थियो । टिकापुरमा राज्यले कर्फ्यु लगाइरहेकै बेला रेशम चौधरीले सञ्चालन गरेको एफएम जलाउनुमा सो घटनामा राज्य पक्ष लागेको थारु अगुवाहरुको बुझाइ छ ।

महासंघका अध्यक्ष आचार्यले थारु लगायत आदिवासीहरुको समाचार मिडियामा नआउनुको एउटा प्रमुख कारण मिडियाको असमावेशी चरित्र रहेको बताए ।

उनले अहिलेसम्म पनि नेपाली मिडियाको पुनसंरचना र समावेशीकरण हुन सकेको छैन भने पाँच वर्षअघि स्थिति झन् खराब रहेको औल्याए ।

आचार्यले पहिचानको आधारमा प्रदेश माग्ने कुरालाई मिडियाले देश नै टुक्राउने रुपमा प्रचार गरेको बताए ।

उनले मूल धारको भनिने मिडियाले अहिले पनि पहिचानको आन्दोलन बिखण्डनको आन्दोलनको रुपमा लिइरहेको बताए ।

-सार्वजनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार