प्रधानमन्त्रीलाई हलुका टिप्पणी बन्द गर्न सुझाव

प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव : हलुका टिप्पणी छोड्नुहोस्, कोरोना नियन्त्रणमा ध्यान दिनुहोस्

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा अवधिमा हलुका टिप्पणी बन्द गरेर युद्धस्तरमा महामारी रोकथाम र नियन्त्रणका लागि कार्य अघि बढाउन सुझाव दिएको छ ।

कांग्रेसले काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु भएकै दिन बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई चैत्र महिनादेखि लागू गरिएको चार महिना लामो लकडाउनमा देशले कोरोनाविरुद्धको संघर्षभन्दा सत्ताको द्वन्द्व, भ्रष्टाचार र प्रधानमन्त्रीका हलुका र विवादास्पद अभिव्यक्तिहरू बढी भोगेको भन्दै कांग्रेसले निषेधाज्ञाको अहिलेको चरणमा देशले ती  सबै बिषयलाई निषेध गरेर अघि बढ्ने इच्छाशक्ति र सामथ्र्य खोजेको कांग्रेसले स्मरण गराएको छ ।

‘चैत्र महिनादेखि सवा सय दिनसम्मको लकडाउनमा देशले कोरोनाविरुद्धको संघर्षभन्दा सत्ताको द्वन्द्व, भ्रष्टाचार र प्रधानमन्त्रीका हलुका एवं विवादास्पद अभिव्यक्तिहरू बढी सुन्यो, देख्यो र भोग्यो । निषेधाज्ञाको अबको चरणमा यी बिषयलाई निषेध गरेर अघि बढ्ने इच्छाशक्ति र सामथ्र्य देशले खोजेको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चैत महिनादेखि गरिएको चार महिने लकडाउनले लकडाउन र निषेधाज्ञा आफैंमा समाधान नभएको पुष्टि गरिसकेको भन्दै कांग्रेसले कोरोनाविरुद्धको संघर्षलाई चुस्त बनाउन निषेधाज्ञा अवधिको उपयोग गर्ने अधिकतम क्षमता सरकारले प्रस्तुत गर्नुपर्नेमा जोड दिएको छ । ‘नेपाली कांग्रेस आग्रह गर्दछ– विगतमा गरिएका कमजोरी र गल्तीहरूबाट पाठ सिकेर युद्धस्तरमा कार्य गर्ने स्थितिको विकास हाल जारी निषेधाज्ञाको समयमा गरियोस्,’ विज्ञप्तिमा भनिएको छ ।

महामारीको प्रतिकूल वातावरणबीच अग्रपंक्ति (फ्रन्ट लाइन) मा खटिने स्वास्थ्यकर्मीदेखि सफाइकर्मीसम्म र सुरक्षा व्यवस्थापन सम्हालिरहेका सुरक्षाकर्मीदेखि सूचना सम्प्रेषण गरिरहेका सञ्चारकर्मीसम्मलाई उच्च सम्मान गर्दै कांग्रेसले उनीहरूका लागि आवश्यक पर्ने भौतिक सामग्रीदेखि मनोवैज्ञानिक सहजतासम्मको सम्पूर्ण सहजीकरणमा कुनै सम्झौता नगरी कार्य गर्न सरकारसँग आग्रह गरेको छ ।

कांग्रेसले निषेधाज्ञा लम्बिन सक्ने स्थितिमा श्रमिक, विद्यार्थी, बेरोजगार युवा, एकल महिला, अपांगता भएका नागरिकलाई हातमुख जोर्न संकट पर्न सक्ने अवस्था आउनेतर्फ सरकारलाई सचेत गराउँदै समयमै योजना बनाएर उनीहरूका बारेमा ध्यान पु¥याउन सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार