ओली-प्रचण्डबीच तीन सहमति: अब कार्यदलले के गर्छ?

बीबीसी : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीमा उत्पन्न विवाद समाधान गर्ने उपाय सिफारिस गर्न छ-सदस्यीय कार्यदल बनाउने सहमति भएको नेताहरूले बताएका छन्।

उक्त कार्यदलको नेतृत्व महासचिव विष्णु पौडेलले गर्नेछन्। कार्यदलमा अध्यक्ष प्रचण्ड र अर्का नेता माधवकुमार नेपालनिकट भनिएका नेताहरूको पनि प्रतिनिधित्व छ।

कार्यदललाई आफ्नो सिफारिस प्रस्तुत गर्ने समयसीमाबारे अहिलेसम्म केही नभनिएकाले पहिलो बैठक बसेपछि मात्रै समयसीमा र कार्यादेशबारे केही बताउन सकिने एक नेताले बताए।

ओली र प्रचण्डबीच के कुरा भयो?
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले दुवै अध्यक्षबीच पार्टी एकतालाई अक्षुण्ण राख्ने र जनताले दिएको जनादेशबमोजिम अघि बढ्ने सहमति भएको र त्यसैअनुसार कार्यदलले काम गर्ने बताए।

समितिमा सदस्य मनोनीत नेता जनार्दन शर्माले दुवै अध्यक्षबीच मिलेर जानुपर्ने र अहिले देखिएका कतिपय वैचारिक मतभेद पार्टीको महाधिवेशनबाट हल हुनुपर्ने विषयमा सहमति भएको जानकारी दिए।

महाधिवेशन नहुन्जेलसम्म सरकारको नेतृत्व नफेरिने र दुवै अध्यक्षले पार्टीको नेतृत्व गर्ने उनको भनाइ छ।

शर्माले भने, “अहिलेको मुख्य एजेण्डा भनेको महाधिवेशन सम्पन्न गरेर जाने हो। त्यति बेरसम्म दुवै अध्यक्षहरूले कार्यविभाजन भएकै छ, त्योअनुसार अघि बढ्ने भन्ने समझदारी भएको छ।”

“त्यसअनुसार विधि र प्रक्रिया नमिलेका वा पार्टी र सरकारबीचका अन्तर्विरोध समाधान हुनेगरी हामी प्रस्ताव गर्छौँ। अहिले नेतृत्व बदल्नेभन्दा पनि तत्कालका समस्याहरू हल गरेर जाने र अहिले उठेका विषयहरू महाधिवेशनबाट टुंगो लगाउने समझदारी भएको छ।”

गत माघ महिनामा नेकपाले यो वर्षको चैतसम्ममा पार्टीको महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो।

कसरी भयो कार्यदल बनाउने सहमति?
कोरोनाभाइरसको महामारीका कारण संकट आइपरेको बेलामै सत्तारूढ नेकपामा आन्तरिक विवाद चुलिएको थियो। अहिले दुई अध्यक्षको सहमतिमा कार्यदल गठन भएको हो।

बिहान प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भएको छलफलपछि गठित कार्यदलमा महासचिव पौडेल संयोजक छन्। प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुषाल सदस्य तोकिएका छन्।

नेकपाभित्र महासचिव पौडेल र पोखरेललाई प्रधानमन्त्री ओलीनिकट मानिन्छ। शर्मा र भुषाल अर्का अध्यक्ष प्रचण्डनिकट र नेता रावल र पाण्डे पूर्वप्रधानमन्त्री नेपालनजिक मानिन्छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार तथा नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले शुक्रवार भएको भेटमा दुई अध्यक्षहरूबीच तीनवटा कुरामा सहमति भएको बीबीसीलाई बताए।

उनले भने, “नेताहरूबीच पार्टीको आन्तरिक समस्याहरू सकारात्मक रूपले सामाधान गर्ने अनि पार्टी एकतालाई अक्षुण्ण राख्ने र नेपाली जनताले प्रदान गरेको जनादेशअनुरूप प्रभावकारी ढंगले कार्यसम्पादन गर्ने कुरामा दुई अध्यक्षबीच समझदारी भएको छ।”

उनले थपे, “यो निष्कर्षअनुरूप समग्र गृहकार्य गरेर प्रस्ताव गर्न पार्टी महासचिवको संयोजकत्वमा कार्यदल बनेको छ।”

कार्यदलले के गर्छ?
पार्टीमा उत्पन्न विवाद मिलाउन गठित कार्यदलका सदस्य रावलले शुक्रवार बिहान मात्रै कार्यदल बनेकाले यसको कार्यदेश टुङ्ग्याउन बाँकी रहेको बताए।

उनले भने, “सामान्य रूपमा भन्दा हाम्रो पार्टीमा केही समययता जुन समस्या उत्पन्न भयो, त्यसलाई समाधान गर्न र पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने उद्देश्यले कार्यदल बनेको हो।”

“तर कति समयावधिमा केके काम, कसरी सम्पन्न गर्ने भन्नेबारेमा कार्यदलको बैठक सुरु भएपछि मात्रै थहा होला।”

रावलले नेताहरूबीच पछिल्लो समय देखिएका मतभेदहरू समाधान गरी एकताबद्ध भएर अघि बढ्ने भन्ने सैद्धान्तिक सहमति भएपछि कार्यदल बनेको उनले बताए।

कार्यदलका सदस्य जनार्दन शर्माले आफूहरूले विश्वासिलो प्रस्ताव तयार गरेर शीर्ष नेताहरूलाई बुझाउने र नेताहरूले त्सयलाई पार्टीको स्थायी समितिमा प्रस्तुत गर्ने बताए।

रावलले भने, “सहमतिका साथ अघि बढ्नुपर्छ भन्ने सैद्धान्तिक सहमति भएपछि अब त्यो उद्देश्यका लागि गर्नुपर्ने कामहरू केके हुन् र हामीले कस्ताकस्ता समस्याहरूलाई के-कसरी समाधान गर्नुपर्छ भन्ने उद्देश्यका साथ गृहकार्य गर्ने जिम्मा कार्यदललाई शीर्ष नेताहरूले दिएको जस्तो मलाई लाग्छ।”

नेकपाभित्रको विवाद के हो?
प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले पार्टी र सरकारमा ओलीले एकलौटी गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

यसअघि नेकपाको सचिवालय र स्थायी समितिमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएको थियो।

ती दुवै निकायमा अध्यक्ष ओलीको प्रभाव कमजोर हुँदै भएको विवरणका माझ पार्टीमा संकट चुलिएको र विभाजनसम्मको अवस्था आउन सक्ने अनुमान गरिएको थियो।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको साथ पाएका प्रचण्डले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद ओलीले छाड्नुपर्ने अडान लिने गरेका थिए। तर प्रधानमन्त्री ओली दुवै पद नछाड्न दृढ देखिएका थिए।

करिब अढाइ साता पहिले पार्टीका उपाध्यक्ष वामदेव गौतमले छबुँदे प्रस्ताव सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीलाई एकता महाधिवेशन सम्पन्न नहुन्जेल अध्यक्ष र प्रधानमन्त्री दुवै रहिरहन दिनुपर्ने धारणा राखेका थिए।

गौतमको प्रस्तावमा अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी भूमिका निर्वाह गर्नपाउनुपर्ने, प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने, सरकार सञ्चालनका क्रममा पार्टीको सचिवालयमा परामर्श गर्नुपर्ने आदि बुँदाहरू समेटिएका छन्।

नेता नेपालले भने विधिसम्मत तरिकाले पार्टी सञ्चालन हुनुपर्न बताउँदै आएका छन्।

शीर्ष नेताहरूबीच गुटगत समीकरण बन्ने र फेरिने क्रम चलिरहँदा नेकपाको स्थायी समिति बैठक पटकपटक स्थगित हुँदै आएको थियो।

पछिल्लो पटक प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डको अनुपस्थितिमा बैठक स्थगित गरिदिएपछि असन्तुष्ट पक्षका नेताहरूले प्रधानमन्त्री निवास बालुवाटारमा नै बैठकको आयोजना गरेका थिए।

-हिमाल पोस्टबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार