इलाम : नेपालमा १६ वर्ष उमेर पुगेपछि आवश्यक प्रक्रिया पूरा गरेर नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र पाउने कानुनी व्यवस्था छ । तर जिल्लाको माईजोगमाई गाउँपालिका वडा नम्बर ६ प्याङका छेत्तर शेर्पाले ६३ वर्षमा समेत नेपाली नागरिकतो प्रमाणपत्र पाएका छैनन् ।
नाता प्रमाणित गरिदिने आफन्त कोही पनि नभएकाले यत्तिका उमेरसम्म पनि नागरिकता विहीन भएर बस्नु परेको छ । उनको बाबु र आमा प्याङकै स्थानीय बासिन्दा हुन् । स्थानीय बासिन्दा भएपनि उनीहरुको नजिकको कोहि पनि नाता प्रमाणित गरिदिने आफन्तजन नभएकाले समस्या भएको हो । उनको बाबु सुम्झेक शेर्पा र आमा नर्बु शेर्पाले पनि नेपाली नागरिकता प्राप्त नगरी नै निधन भइसकेकाले छेत्तरलाई झन् समस्या आएको हो । उनको बाबुको २० वर्ष पहिले नै निधन भइसकेको हो भने आमाको पनि १ वर्ष अघि निधन भइसकेको छ ।
छेत्तरको जन्म २०१४ साल असारमा प्याश्रमा नै भएको हो । गाउँमा पटकपटक नागरिकता टोलि आउँदा छेत्तरको आमाको पहिले नागरिकता बनाएर छोराको पनि बनाईदिन स्थानीय समाजसेवीहरुले पहल नगरेका होइनन्, तर नाता प्रमाणित गरिदिने आफन्त कोहि नभेटिएपछी बन्न सकेन ।
छेत्तरको आमाको नागरिकता नभएकोले नै ९१ वर्ष पुग्दासम्म सरकारले दिने हरेक सेवासुविधाबाट बन्चित हुनुरेको थियो । बाबुआमाले नागरिकता नपा पनि आफूले नागरिकता पाउनसके थोरै जग्गा, जमिन किनेर घर बनाई गाईवस्तु पालेर बस्ने छेत्तरको चाहाना छ । तर नागरिकता नै नभएपछि यो उनको चाहाना पूरा हुन सकेको छैन ।
कसैले नाता प्रमाणित गरेर नागरिकता दिन्छ कि भन्ने आशैआशमा ६३ वर्ष बितिसकेको र आफूसँग नेपाली नागरिकता नभएको कारण आजसम्म विवाह नगरी बस्नुपरेको शेर्पा भावुक हुँदै बताउँछ्न् । उनी भन्छ्न्, ‘आमाले नगरिकता नभएकै कारण सरकारबाट पाउने वृद्धभत्ता समेत नखाई मलाई एक्लो बनाएर छोडेर जाँदा जीवनमा सबैभन्दा धेरै दुखी भएको शेर्पा छु ।
बाबुआमाको मृत्यु भईसकेकाले अहिले उनलाई एक्लै बस्नुपर्ने बाध्यता छ । उनी अर्काको थोरै जग्गामा सानो झुपडी बनाएर बस्दै आएका छन् । उनको भाई पनि नागरिकता नभएकै कारण पहिले नै काम गर्न भारततिर गएको तर हालसम्मा फर्किएका छैनन् । सम्पर्कविहीन भएकाले अहिले कहाँ के गर्दैछ भन्ने जानकारी छेत्तरलाई छैन ।
यता वडा अध्यक्ष भवानीप्रसाद लिङदमले वडा नम्बर ६ को सबै जनताको सर्जिमन गर्न सके छेत्तरको नागरिकता बन्न सक्ने बताउँछन् । छेत्तर डकर्मी पेशा गरेर जीविकोपार्जन गर्दै आएका छन् ।