लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

  नयाँ बुलन्द  110 पटक हेरिएको

के हुन् स्वास्थ्य इलाज कसुर
१. मुलुकी अपराध (संहिता) ऐन–२०७४ ले के–कस्ता कार्यलाई मानव स्वास्थ्य इलाजसम्बन्धी कसुरका रूपमा लिई के–कस्तो सजाय हुने व्यवस्था गरेको छ ? चर्चा गर्नुहोस् ।
 सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्न तथा विभिन्न धार्मिक एवम् साँस्कृतिक समुदायबीचको सुसम्बन्ध कायम गर्न तर्जुमा गरिएको मुलुकी अपराध (संहिता) ऐन– २०७४ ले देहायबमोजिमका कार्यलाई मानव स्वास्थ्य इलाजसम्बन्धी कसुरका रूपमा लिई देहायबमोजिमको सजाय हुने व्यवस्था गरेको छ ः
क. इजाजत प्राप्त नगरेको व्यक्तिले इलाज गर्न नहुने ः
– यदि गरेमा कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँँसम्म जरिवाना हुने, त्यसैगरी उपरोक्त विपरीत हुनेगरी चिकित्सा सेवा दिँदा, चिरफार गर्दा वा औषधि खुवाउँदा कसैको ज्यान गएमा कसुरदारलाई जन्म कैद हुने र अङ्गभङ्ग भएमा १५ वर्षसम्म कैद हुने,
– यसमा जुनसुकै कुरा लेखिएको भए पनि लामो अनुभवबाट इलाजसम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाई सानोतिनो रोग लागेको बिरामीको मानव अङ्गलाई कुनै खास प्रतिकूल असर नपर्ने मामुली प्रकृतिको औषधि खुवाउन वा सानोतिनो घाउ, खटिरा चिरफार गरी उपचार गर्नमा बाधा नपुग्ने,
ख. बदनियत चिताई इलाज गर्न नहुने ः
– यदि गरेमा देहायबमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई देहायबमोजिमको सजाय हुने ः
(अ) कसैको ज्यान गएकोमा ज्यान मारेसरह,
(आ) कसैको अङ्गभङ्ग भएकोमा अङ्गभङ्ग गराएसरह,
ग. लापरबाही वा हेलचेक्र्याइँ गरी इलाज गर्न नहुने ः
– यसबमोजिमको कामबाट कसैको ज्यान मर्न गएमा वा अङ्गभङ्ग भएमा लापरबाहीपूर्ण काम गरेको कारणबाट ज्यान मरेमा वा अङ्गभङ्ग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपियाँँसम्म जरिवाना र हेलचेक्र्याइँ गरेको कारणबाट मरेकोमा वा अङ्गभङ्ग भएकोमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँँसम्म जरिवाना हुने,
घ. मञ्जुरीविना मानव शरीरमा परीक्षण गर्न नहुने ः
– उपरोक्त विपरीत परीक्षण गर्ने, गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँँँसम्म जरिवाना हुने, उपरोक्तबमोजिमको कसुर गरेको कारणबाट कसैको ज्यान मरेकोमा ज्यान मारेसरह र अङ्गभङ्ग भएकोमा अङ्गभङ्ग गरेसरह सजाय हुने,
ङ. जोखिमपूर्ण औषधि बिक्री–वितरण गर्न नहुने ः
– यदि गरेमा यसबमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने,
च. औषधिमा मिसावट गर्न वा मिसावट गरेको औषधि बिक्री गर्न नहुने ः
– यदि गरेमा यसबमोजिमको कसुर गर्ने व्यक्तिलाई देहायबमोजिम सजाय हुने ः
(अ) त्यस्तो औषधि सेवन गरेका कारणले ज्यान मरिसकेकोमा ज्यान मारेकोसरह,
(आ) त्यस्तो औषधि सेवन गरेका कारणले ज्यान मर्न सक्नेगरी खतरा पुगेको वा पुग्ने सम्भावना भएकोमा ज्यान मार्ने उद्योग गरेसरह,
(इ) त्यस्तो औषधि सेवन गरेका कारणले शरीरको कुनै अङ्गभङ्ग हुने वा सोको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँँँसम्म जरिवाना,
(ई) उपरोक्त अवस्थामा बाहेक अन्य अवस्थामा पाँच वर्षसम्म कैद र ५० हजार रुपियाँँँसम्म जरिवाना,
छ. म्याद नाघेको वा पूर्वसावधानी नलिई औषधि बिक्री–वितरण गर्न नहुने ः
– यदि बिक्री–वितरण गरेमा यसबमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दस हजार रुपैयाँँसम्म जरिवाना हुने,
ज. एक औषधिलाई अर्को औषधि भनी बिक्री–वितरण गर्न नहुने ः
– यदि बिक्री–वितरण गरेमा यसबमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने,
झ. प्रयोगशाला परीक्षणको झुटा प्रतिवेदन दिन नहुने ः
– यदि दिएमा यसबमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवाना हुने, यसबमोजिमको प्रतिवेदनका आधारमा कसैलाई औषधि सिफारिस गरी सेवन गर्दा, चिरफार गर्दा वा उपचार गर्दा कसैको ज्यान मरेमा वा अङ्गभङ्ग भएमा त्यस्तो प्रतिवेदन दिने व्यक्ति कसुरदार मानिने र यसबमोजिम कसुर गर्ने वा गराउने व्यक्तिलाई ज्यान मरिसकेको भए ज्यान मारेसरह र अङ्गभङ्ग भएको भए अङ्गभङ्ग गरेसरह सजाय हुने ।

२. सङ्गठनमा चिट्ठीपत्रको दर्ता र चलानी किन आवश्यक हुन्छ ? खुलाउनुहोस् ।
 सङ्गठनमा आएका चिट्ठीपत्रहरू प्राप्त हुनासाथ सुरुको अभिलेख राख्ने कार्य दर्ता हो भने सङ्गठनबाट बाहिर जाने चिट्ठीपत्रहरूको अन्तिम अभिलेख राख्ने कार्य चलानी हो । कार्यालयमा दर्तामार्फत चिट्ठीपत्र भित्रिन्छ भने चलानीमार्फत चिट्ठीपत्र बाहिरिन्छ । दर्ताबाट कार्यालयमा कामको प्रारम्भ हुन्छ भने चलानीबाट कामको दायित्व अरूमा सार्ने गरिन्छ । सङ्गठनमा चिट्ठीपत्रको दर्ता र चलानीको आवश्यकता निम्नअनुसार हुने गर्दछ ः
– कार्यालयमा प्राप्त भएका चिट्ठीपत्रको प्रारम्भिक अभिलेख राख्न,
– कुन पत्र कहिले कहाँबाट प्राप्त भयो र प्राप्त पत्रको कारबाही के–कस्तो भएको छ, सोबारे जानकारी प्राप्त गर्न,
– कार्यालयमा प्राप्त पत्रको सुरक्षा गर्न,
– कार्यालयमा प्राप्त पत्र हराउने सम्भावना कम हुने, यदि पत्र हराएमा दर्ता किताबबाट जानकारी प्राप्त गर्न सकिने, जस्तै ः पत्रको दर्ता नम्बर, पत्रको मिति, पत्र सङ्ख्या, पत्रको विषय आदिबाट पत्रको खोजी गर्न सकिने,
– कार्यालयबाट कसलाई के विषयमा कहिले पत्र पठाइयो सोको विवरण चलानीबाट लिन सकिने,
– पत्र पाउने कार्यालयले पत्र बुझेको भर्पाइँ चलानीमा हुने, आवश्यक पर्दा उक्त भर्पाइँ प्रमाण हुन सक्ने,
– चलानी पत्र हराएमा पुनः अर्को पत्र तयार गर्न सरल हुने ।

३. सामाजिक द्वन्द्व के हो ? नेपालमा सामाजिक द्वन्द्वका कारण र असरबारेमा उल्लेख गर्नुहोस् ।
 समाजमा विभिन्न व्यक्ति तथा समूह हुन्छन् । एउटै समाजमा विभिन्न जातजाति, भाषाभाषी, धर्म–संस्कृति र पृष्ठभूमि बोकेका भिन्नभिन्न व्यक्तिहरू रहन्छन् । प्रत्येक व्यक्ति तथा समूहका रुचि, स्वभाव, भावना फरक हुन्छन्, जसले गर्दा एक–आपसमा टकराव हुन्छ, आपसमा वैमनस्य, मनमुटाव, विवाद एवम् असहमति हुन्छ, यो सामाजिक द्वन्द्व हो ।
नेपालमा सामाजिक द्वन्द्वका कारणहरू
– एकले अर्कोलाई विश्वास नगर्नु, सम्मान नगर्नु,
– बेरोजगार हुनु, गरिबाी बढ्नु,
– समाजमा आर्थिक असमानता हुनु,
– सामाजिक संस्कारको पालना नहुनु,
– मादक पदार्थको सेवन गर्नु,
– सामाजिक न्यायको अभाव हुनु,
– शिक्षाको कमी, चेतनाको कमी ।
असरहरू
सकारात्मक असर
– आर्थिक एवम् सामाजिक रूपान्तरणमा सहयोग,
– सामाजिक चेतना अभिवृद्धि,
– सामाजिक न्यायको प्रवद्र्धन,
– सामाजिक एकता एवम् सद्भावमा बढोत्तरी ।
नकारात्मक असर
– समाजमा शान्ति सुव्यवस्थामा खलल,
– चोरी, हत्या, अपहरणका घटनामा वृद्धि,
– सामाजिक मूल्य–मान्यतामा ह्रास,
– सामाजिक कुसंस्कारको अवस्था सिर्जना ।

४. नेपालको भौगोलिक अवस्थाले मुलुकको समग्र विकासमा के–कस्तो प्रभाव पारेको छ ? लेख्नुहोस् ।
 हिमाल, पहाड र तराईमा अवस्थित नेपालको भौगोलिक अवस्थाले मुलुकको समग्र विकासमा निम्नानुसार प्रभाव पारेको छ ः
सकारात्मक प्रभाव
– पर्यटन व्यवसायको विकासमा सहयोग, आयआर्जन र रोजगारी वृद्धि हुने,
– अमूल्य जडीबुटीको प्रचुरता, औषधि उत्पादनमा सहयोग,
– हिमाल, पहाड र तराईमा कृषि उत्पादनमा विविधता, औद्योगिक विकासमा सहयोग,
– हिमाल, पहाड, खोला एवम् नदीबाट आन्तरिक र बाह्य सीमाङ्कनमा सहयोग,
– हिमाल प्रमुख नदीहरूको स्रोत स्थल, अथाह जलप्रवाह, विकासको सम्भावना,
– स्वच्छ हावापानी, स्वच्छ वातावरणबाट अनुकूल बसाइमा सहयोग ।
नकारात्मक प्रभाव
– भौगोलिक विकटता, सेवा–सुविधा वितरणमा अवरोध, यातायातमा कठिनाइ,
– हिमाल, पहाडको भौगोलिक अवस्थाले साधन–स्रोतको न्यायिक वितरणमा समस्या,
– हिमालमा ठण्डा हावापानीले कष्टप्रद जीवन,
– हिमाल पहाडमा छरिएर रहेको बस्तीले गर्दा एकीकृत बस्ती विकासमा कठिनाइ,
– जनसङ्ख्या वितरणमा असन्तुलन, हिमालभन्दा पहाडमा, पहाडभन्दा तराईमा जनसङ्ख्याको चाप, बसाइँ–सराइको अवस्था बढ्दो,
– हिमाल, पहाडमा भौतिक पूर्वाधार विकासमा कठिन,
– भौगोलिक विकटताले गर्दा विकास निर्माणमा बढी लागत लाग्ने गरेको अवस्था ।

५. नेपालको सार्वजनिक प्रशासनमा देखिएका समस्याहरू के–के हुन् ? उल्लेख गर्नुहोस् ।
 राजनीतिप्रति तटस्थ र निर्वाचित सरकारका योजना तथा कार्यक्रमप्रति प्रतिबद्ध भई त्यही सरकारले तर्जुमा गरेका नीतिहरू निप्पक्ष र कुशलतापूर्वक कार्यान्वयन गरी देश र जनताको निरन्तर सेवा गर्ने संयन्त्र सार्वजनिक प्रशासन हो । सरकार सामान्यतया पाँच वर्षमा परिवर्तन भइरहने तर सरकार परिवर्तनसँगै यो परिवर्तन नहुने हँुदा यसलाई स्थायी सरकार पनि भनिन्छ । यो कानुनद्वारा स्थापित प्रशासकीय संयन्त्र हो । नेपालमा सार्वजनिक प्रशासनलाई व्यवस्थित गर्न संवैधानिक, कानुनी र संस्थागत व्यवस्था छ । नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय सरकारी सेवाहरूको गठन र सञ्चालनसम्बन्धी व्यवस्था गरेको छ र पनि नेपालको सार्वजनिक प्रशासन अझै व्यवस्थित हुन सकेको छैन । यसमा नीतिगत, कानुनी, संस्थागत, प्रक्रियागत, प्रविधिगत, आचरणगतलगायतका विविध समस्याहरू देखिएका छन्, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
– भविष्यको सार्वजनिक प्रशासन कस्तो हुने ? भन्ने सम्बन्धमा कार्ययोजनासहितको स्पष्ट दीर्घकालीन नीतिको अभाव हुनु,
– सार्वजनिक प्रशासनलाई व्यवस्थित गर्ने कानुनी व्यवस्था समयानुकूल हुन नसक्नु,
– बजारमा भएका नवप्रतिभाहरूलाई सार्वजनिक सेवामा आकर्षित गर्न नसक्नु,
– सङ्घीय संरचना सङ्घ, प्रदेश र स्थानीयतहअनुसारको सङ्गठन संरचना तयार हुन नसक्नु,
– प्रशासनमा काम गर्ने राष्ट्रसेवक कर्मचारीको तलब सुविधा समसामयिक एवम् सान्दर्भिक हुन नसक्नु,
– राष्ट्रसेवक कर्मचारीहरूको वृत्तिविकासका आधारहरू जस्तै ः सरुवा, बढुवा, पदस्थापन, तालिम आदि पारदर्शी र वैज्ञानिक हुन नसक्नु,
– सार्वजनिक प्रशासनले गर्ने प्रत्येक कार्यप्रणाली सरल एवम् आधुनिक हुन नसक्नु,
– प्रशासनमा काम गर्ने कर्मचारीहरूको आचरण व्यवहारमा समयानुकूल सुधार हुन नसक्नु,
– सरकारी सेवाप्रवाह गर्ने संयन्त्रहरूबीच कार्यगत समन्वय हुन नसक्नु,
– पुरस्कार र दण्ड सजाय कार्यसम्पादनमा आधारित हुन नसक्नु,
– स्वतन्त्र रूपमा कार्य गर्ने वातावरण सिर्जना हुन नसक्नु,
– सूचकका आधारमा निरन्तर अनुगमन र मूल्याङ्कन गर्ने कार्य प्रभावकारी हुन नसक्नु ।

प्रस्तुतकर्ता : हेमचन्द्र शर्मा/गोरखापत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार