अन्धकार सुरूङगको शैक्षिक यात्रा

कोभिड १९ र शैक्षिक विकल्प

कोभिड १९ का कारण २०७६ साल चैत्र ७ गतेदेखि त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसका कक्षाकोठामा हुने पठनपाठन ठप्प छ । सायद यहि परिस्थिति आउला भनेर त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षाको विकल्प अगाडि सार्यो । अनलाइन कक्षालाई थप व्यवस्थित गर्न विश्वविद्यालयले विभिन्न निर्देशिका जारी गर्यो । प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई इमेल आइ.डि. वितरण गर्यो । अनलाइन कक्षा सम्बन्धि विभिन्न तहमा तालीम सञ्चालन गर्यो । उक्त सबैजसो प्रकृयामा सहभागी हुने अवसर पनि मिल्यो । अब राज्यले इन्टरनेटको सहज पहुँचका लागि आवश्यक व्यवस्थापन गर्यो र विद्यार्थीका लागि सहुलियत दरमा इन्टरनेट सुविधा उपलब्ध गरायो भने अनलाइन कक्षा लिन सकिन्छ भन्ने आशामा अनलाइन कक्षाका लागि तयारी हालतमा बसियो । केहि हप्ता अनलाइन कक्षा सञ्चालनका प्रयास पनि गरियो । केहि विद्यार्थी निकै उत्साहका साथ अनलाइन कक्षामा सहभागी पनि भए । विद्यार्थीहरू अनलाइन कक्षामा जोडिने क्रम क्रमशः बढ्दै पनि थियो । प्राध्यापक, विद्यार्थी र राज्य सबै गम्भीर बन्ने हो भने अनलाइन कक्षा सम्भव हुनेरहेछ भन्ने आशा पनि जाग्दै थियो । तर उक्त आशा निराशामा परिणत हुन पुग्यो । अनलाइन कक्षा यसै अलपत्र अवस्थामा पुगे ।

अलपत्र अनलाइन कक्षा

जब अनलाइन कक्षाले केहि गति लिन थाल्यो, तब अनलाइन कक्षामा सबै विद्यार्थी जोडिन नसके त्यो विद्यार्थीका लागि मान्य नहुने भन्ने व्यहोराको विद्यार्थी नेताका अभिव्यक्ति सामाजिक सञ्जालमा छाउन थाले । विद्यार्थी मात्र नभएर प्रत्यक्ष वा अप्रत्यपक्ष रूपमा विभिन्न कोण र क्षेत्रबाट अनलाइन कक्षाका सम्बन्धमा नकारात्मक टीकाटिप्पणी हुन थाले । फलस्वरूप निकै जोश, जाँगर र उत्साहका साथ शुरू भएका अनलाइन कक्षाले निरन्तरता पाउने प्राज्ञिक वातावरण बनेन । एकातिर अनलाइन कक्षा चलाउँदा विद्दुत र इन्टरनेटको कम गुणस्तरीय सेवाका कारण तनाव उत्पन्न भयो भने अर्कातिर त्यस्ता चुनौतिलाई सामना गर्दै सञ्चालन गर्न खोजिएका अनलाइन कक्षा सञ्चालन गरेवापत प्रोत्साहनको वातावरण बन्नुको सट्टा उल्टो थप तनाव हुने परिस्थिति पैदा भएपछि अनलाइन कक्षा सञ्चालन गर्ने प्रयास यसै अलपत्र हुन पुग्यो । यतिकैमा असार लाग्यो । नेपाल एक कृषिप्रधान देश भएको नाताले पनि क्याम्पसमा पढ्ने अधिकांश विद्यार्थी पनि किसानकै छोराछोरी हुने कुरा अत्यन्तै स्वाभाविक भइहाल्यो । कोभिड १९ का कारण घरघरमा पुगेका विद्यार्थी असारका काममा व्यस्त हुनु झन् स्वाभाविक कुरा भैहाल्यो । फेरि असारको समयमा हुने भारी वर्षाका कारण ठाउँठाउँमा गएका बाढी र पहिरोले गर्दा कतिपय स्थानमा विद्दुत सेवा नै अवरूद्ध हुन पुग्यो । विद्दुत अवरूद्ध भएपछि इन्टरनेट सेवा पनि प्रभावित भयो । असारको धमाधम सकिएसँगै विद्दुत आपुर्ति र इन्टरनेट सेवा पनि केहि सहज हुँदै गए । लकडाउनको अन्त्यसँगै अलपत्र अनलाइन कक्षाले गति लिन सक्ने सम्भावना बढेजस्तो लाग्यो ।

लकडाउनको अन्त्य र आशा

लकडाउन अन्त्य भएसँगै प्राध्यापकहरू पनि क्याम्पसमा हाजिर हुनुपर्ने भयो । अब चाहिँ कोभिड १९ बाट बच्न र बचाउन सरकारले जारी गरेका मापदण्डभित्र रहेर क्याम्पसका विभिन्न विभागका वैठक बस्लान् भन्ने लागेको थियो । अवरूद्द पठनपाठनलाई कसरी सुचारू गर्ने भन्ने सम्बन्धमा जमेरै वहस होला भन्ने लागेको थियो । क्याम्पसलाई प्रविधिमैत्री बनाउन थप गम्भीर प्रयास होलान् भन्ने लागेको थियो । इन्टरनेट सेवालाई थप व्यवस्थित गरिएला भन्ने आश जागेको थियो । क्याम्पसमा नै स्टुडियोको समेत व्यवस्था होला कि भन्ने झिनो आशा समेत पलाएको थियो । अब कोभिड १९ का कारण उत्पन्न यो चुनौतिलाई सुनौलो अवसरमा बदल्दै प्रविधिमैत्री शिक्षामा रमाउन पाइएला भन्ने निकै ठूलो आशा जागेको थियो । तर यस्ता आशाले आजका दिनसम्म मुर्त रूप लिन सक्ने सम्भावना देखिएको छैन । उल्टो क्याम्पसमा जारी पूरानै विवादका कारण क्याम्पसमा दुर्भाग्यपूर्ण परिस्थिति पैदा भयो ।

दुर्भाग्यपूर्ण परिस्थिति

दुर्भाग्य नै भन्नु पर्ला, क्याम्पसमा हाजिर हुन थालेको दुई हप्ता भन्दा बढि भयो, तर आजका मितिसम्म पठनपाठनलाई कसरी सुचारू गर्ने भन्ने सम्बन्धमा सामान्य छलफल र वहस गर्ने अनुकुल वातावरणसम्म बनेको छैन । अौपचारिक छलफल र वहसका त कुरै छाडौं, अनौपचारिक रूपमा समेत पठनपाठन लगायत अन्य प्राज्ञिक गफ गर्न सकिने अनुकुल वातावरण क्याम्पस परिसरभित्र छँदैछैन भने पनि हुन्छ । झन् अनलाइन कक्षाको त “अ”सम्म उच्चारण गर्ने वातावरण छैन । क्याम्पसमा धेरैजसो प्राध्यापकको उपस्थिति पनि छ । प्राध्यापक निकै सक्रिय भएजस्तो पनि लाग्छ । सहज अवस्थामा समेत विरलै मात्र आयोजना हुने प्राध्यापक संघका बैठक पनि कोभिड १९ को जोखिमलाई मोलेरै भएपनि लगातार दुइ दिनसम्म सञ्चालन भएको पनि पाइयो । बैठकमा निकै जमेरै वहस पनि भए । केहि निर्णय पनि गरिए । त्यस्ता निर्णय सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छाएको पनि देखियो । कतिपय कार्यक्रमका त भिडियो समेत पूरै भाइरल भए । इलाम चौतारीमा पनि क्याम्पसको शाख उकास्ने सम्बन्धमा गम्भीर वहस भएका भिडियो पनि उत्तिकै भाइरल छन् । तर ती कुनै पनि वैठक र वहसका क्रममा अनलाइन कक्षा वा पठनपाठनका सम्बन्धमा अर्थपूर्ण छलफल भएको पाइएन । ती बैठक भनेका क्याम्पसमा पछिल्लो एक बर्षदेखि जारी विवादका कारण बढ्दै र पलाउँदै गएका हाँगाविगा र पातका सम्बन्धसँग मात्र सम्बन्धित थिए भन्दा पनि अतिशयोक्ति नहोला । दुःखका साथ भन्नुपर्छ, ती वैठकमा विवादका जरा कारणका सम्बन्धमा समेत विवादमा मुछिएका दुवै पक्षको उपस्थितिमा अर्थपूर्ण वहस हुन सकेन । विवादमा मुछिएका एक पक्षको मात्र उपस्थिति रहेको उक्त वैठकमा अर्को पक्ष अनुपस्थित देखियो । वैठकमा केवल विवादका हाँगा र पातका बारेमा मात्र छलफल भयो । बजारमा सुनिएका विवादका मुल मुद्दाको गहिराइ चुम्ने प्रयास नै भएन । जुन कुरा केहि अनलाइन पत्रिका र सामाजिक सञ्जालमा यत्रतत्र छाएकै छन् । चार महिनापछि बल्लबल्ल खुलेको क्याम्पसमा उपस्थित अधिकांस प्राध्यापकको दुई हप्ताको समय यसरी विगतदेखि जारी विवादकै भुमरीमा नराम्ररी रूमल्लिएको देखिन्छ भने अवरूद्द पठनपाठनका सम्बन्धमा सामान्य चर्चा समेत हुन सकेको छैन । पठनपाठनलाई सुचारू गर्न लकडाउनका समयमा भएका केहि अर्थपूर्ण प्रयासहरूले निरन्तरता पाउने आशा निराशामा रिणत हुँदै गएको छ ।

केहि अर्थपूर्ण प्रयासहरू

बरू क्याम्पसमा प्राध्यापक उपस्थित नभएको लकडाउनको त्यहि चार महिनाका अवधिमा अनलाइनकै माध्यमबाट अनलाइन कक्षा सम्बन्धि केहि छलफल, वहस गर्ने निकै अर्थपूर्ण प्रयास भएका थिए । ती मध्ये केहि प्रयास क्याम्पसमा उपस्थित हुन नसक्नुभएका तर आआफ्नै घरमा रहनुभएका केहि प्राध्यापकहरूले अझै जारी राख्नुभएको बुझिएको छ । विशेष गरेर वाग्वानी विभागका कतिपय कक्षा र परीक्षा समेत अनलाइन माध्यमबाट सञ्चालन भएका कुरा सुनिएका छन् । अंग्रेजी शिक्षा लगायतका कतिपय विषयका प्राध्यापकले त्रिविले जारी गरेका निर्देशिकामा टेकेर सबैजसो विषयका टिम निर्माण गरी सम्भव भएसम्मका कक्षा सञ्चालन गर्ने वा विद्यार्थीसँग सम्पर्क गर्ने प्रयास जारी रहेको कुरा पनि बताउँदै आउनुभएको छ । अन्य कतिपय विषयका पनि टिम निर्माण भएर त्यस्तै प्रयास भैरहेको सुनिएकै हो । इलाम चौतारीमा पनि अनलाइन कक्षालाई कसरी थप व्यवस्थित गर्न सकिएला भनेर एकपटक वहस भएको थियो । त्यो वहसमा केहि विद्यार्थीका नेता र प्राध्यापक समेत सहभागी भएर आआफ्ना विचार व्यक्त गरेको पनि पाइएको थियो । क्याम्पसका कतिपय प्राध्यापकले पनि अनलाइन कक्षासम्बन्धि केहि अनौपचारिक अभ्यास गरेकै हो । क्याम्पस भन्दा बाहेक केन्द्र, अन्य क्याम्पस वा विभागले आयोजना गरेका अनलाइन कक्षा सम्बन्धि केहि कार्यक्रममा इलाम क्याम्पसका कतिपय प्राध्यापकले समेत भाग लिएर अनलाइन कक्षाका सम्बन्धमा चिन्ता र चासो व्यक्त गरेको पनि देखियो । सैद्दान्तिक रूपमा भन्नुपर्दा अनलाइन कक्षाका बारेमा अधिकांस प्राध्यापक तथा विद्यार्थी कसैले पनि त्यस्तो चर्को विरोध गरेजस्तो पनि लाग्दैन । क्याम्पस प्रमुखले त अनलाइन कक्षा सञ्चालन गर्ने भनेर त्रिविले जारी गरेको निर्देशिका बमोजिम केही महत्वपूर्ण कामहरू सम्पन्न भएका कुरा पनि बताउदै आउनुभएको छ । त्रिविका पदाधिकारीहरूको उपस्थितिमा क्याम्पसले आयोजना गरेका त्यस्ता कतिपय कार्यक्रममा त सहभागी बन्ने अवसर पनि जुरेको थियो । यी सबै प्रयासहरू क्याम्पस खुल्नासाथ थप घनिभुत ढंगले अगाडि बढ्लान् भन्ने लागेको थियो । प्रविधिमैत्री र अनलाइन कक्षाका कारण क्याम्पसको वातावरणमा ठूलै सकारात्मक परिवर्तन अनुभुति गर्न पाइएला भन्ने लागेको थियो । तर क्याम्पस त उहि एक बर्ष पूरानो विवादमा झन् जाकिदै गइरहेको छ । भविष्यका कर्णधार विद्यार्थीको भाग्य र भविष्य मात्र नभएर गुणस्तरीय शिक्षाको बलियो आधार क्याम्पसको भरपर्दो जग निर्माण गर्नुपर्ने प्राध्यापकको अवस्था नै यति दयनीय भएपछि विद्यार्थीवर्ग  कुन अवस्थाबाट गुज्रिरहेका होलान् भन्ने कुरा जोकोहीले सहजै अनुमान लगाउन सक्ने कुरा भैहाल्यो ।

विद्यार्थीको अवस्था

नवीन जोश, जाँगर र उत्साहका साथ उच्च शिक्षा हासिल गरेर आफ्नो मात्र नभएर समग्र समाज र मुलुककै मुहार फेरौंला भन्ने उत्कट चाहना बोकेर क्याम्पसमा भरना भएका सबै विद्यार्थी आज आआफ्नै घरघरमा छन् । अब त सायद असारमा लागेको थकाइ पनि मरिसक्यो होला । अनलाइन कक्षामा जोडिन आतुर केहि विद्यार्थीले अनलाइन कक्षा सुचारू गर्न निकै अनुनय, विनय र विन्ति पनि गरेकै हुन् । तर केहि विद्यार्थी नेताले माग गरेजस्तो सबै विद्यार्थी अनलाइन कक्षामा जोडिन सक्ने सम्भावना नभएपछि अनलाइन कक्षा लिन इच्छुक विद्यार्थी पनि आज मौनप्रायः छन् । सायद अब वैकल्पिक उपायबाट पठनपाठन सम्भव नहुने रहेछ भनेरै होला उनीहरू बेलामौकामा परीक्षाका बारेमा चाहिँ चिन्ता र चासो व्यक्त गर्दै घरैमा बसिरहेका छन् । पाठ्यक्रममा तोकिएका उद्देश्य बमोजिम के कति ज्ञान सीप हासिल भयो भन्ने कुराको मापन गर्ने परीक्षाको तयारीका लागि नियमित पठनपाठन पहिलो प्राथमिकतामा पर्नुपर्ने कुरा विश्वव्यापी रूपमा स्थापित मान्यता नै हो । आवश्यक ज्ञान सीप हासिल भयो वा भएन भनेर मापन गर्न लिइने परीक्षा दोस्रो प्राथमिकताको विषय हो । तर बिडम्बना नै भन्नुपर्छ, पहिलो प्राथमिकतामा पर्नुपर्ने विषयमा आज क्याम्पसभित्र सामान्य चर्चा समेत हुन सक्ने अवस्था छैन । पठनपाठन प्रकृयामा सकृय बन्नुपर्ने प्राध्यापक र विद्यार्थी पठनपाठन कार्यमा गम्भीर रूपमा जुट्ने त के पठनपाठनका लागि आवश्यक न्युनतम प्राज्ञिक वातावरण सिर्जना गर्न समेत असफलप्रायः देखिन्छन् । स्वच्छ, स्वस्थ, उत्साहपूर्ण र तनावमुक्त प्राज्ञिक वातावरणको कुरा त दिनप्रतिदिन आकासको फल आखातरि मर जस्तो हुँदै गएको छ । जुन कुराको प्रत्यक्ष मारमा विद्यार्थीवर्ग परेको अवस्था छ ।

निश्कर्ष

नेपालको जेठो विश्वविद्यालय त्रिविको स्थापना भएको एक वर्ष पुग्दा नपुग्दै पूर्वी नेपालको इलाममा स्थापना भएको महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामको हालत नै यति दयनीय छ भने अन्य निकै नयाँ र कम पूर्वाधार भएका शिक्षण संस्थाको हालत के होला भनेर सहजै अनुमान लगाउन सकिन्छ । भनिन्छ भविष्यको जग वर्तमानले निर्धारण गर्छ । आज मरव क्याम्पस, इलामका प्राध्यापक र विद्यार्थीको अध्ययन, अध्यापन, अनुसन्धान, अनलाइन कक्षा र नियमित पठनपाठनप्रति देखिएको यो उदासिनताले कस्तो शैक्षिक भविष्य निर्धारण गर्दैहोला ? त्यो भन्दा पनि अझै दुःखद कुरा त कुनै पनि शैक्षिक संस्थामा खासै प्राथमिकतामा पर्नै नहुने दलीय वा गुटगत खिचातानीकै कारण क्याम्पसको अस्तित्व नै धरापमा पर्ने वातावरण निर्माण गरेर हामी होनाहार युवापुस्तालाई कस्तो संस्कार सिकाउँदै छौं ? एउटा घरका अभिभावकवर्गले जस्तो संस्कार सिकाउँछन्, त्यस घरका बालबालिकाले त्यस्तै संस्कार सिक्छन् भन्ने कुरालाई सत्य मान्ने हो भने क्याम्पसमा अभिभावकीय भुमिकामा रहेका हामी प्राध्यापक हाम्रा विद्यार्थीलाई कस्तो संस्कार सिकाउँदैछौं ? विश्वविद्यालय स्तरका यस्ता दयनीय गतिविधिले नेपालको शैक्षिक भविष्यको कस्तो जग निर्माण हुँदैछ ? शिक्षा क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरोकारवाला यस्ता प्रश्नप्रति संवेदनशील हुने कि नहुने ? शिक्षण संस्थामै शैक्षिक मुद्दा कहिल्यै पनि पहिलो प्राथमिकतामा पर्नै नसक्ने अत्यन्तै दुर्भाग्यपूर्ण अवस्थाबाट नेपालका सरकारी शिक्षण संस्थालाई अझै मुक्त गर्ने कि नगर्ने ? विगत र वर्तमान समयमा हुँदै आएका यस्ता गम्भीर गल्तिका कारण वर्तमान समयमा नै अकल्पनीय शैक्षिक क्षति हुँदै आएको छ भने यहि गलत प्रवृत्ति अझै मौलाउँदै जाने हो भने नेपालको शैक्षिक भविष्य कति अन्धकार होला ? कुनै पनि मुलुकको सम्बृद्दिमा केन्द्रिय भुमिका निर्वाह गर्ने शिक्षा जस्तो पवित्र क्षेत्रमा देखिएको यति कहालिलाग्दो दृश्यलाई अन्देखा गर्ने मात्र नभई जानेर वा नजानेर शैक्षिक भविष्यलाई नै अन्धकार सुरूङगतिर धकेलेर हामी कस्तो सम्बृद्दिको सपना सजाउँदैछौं ? अब यस्ता प्रश्नको चित्तबुझ्दो जवाफ कस्ले दिने ? सरकारले ? नीति निर्माताले ? शिक्षाविद्ले ? प्राध्यापकले ? शिक्षकले ? विद्यार्थीले ? अभिभावकले ? नागरिक समाजले ? अरू कसैले ? वा सबैले ? कि कसैले पनि जवाफ नै नदिई कहालिलाग्दो शैक्षिक भविष्यको निकै कमजोड जग निर्माण गर्दै सम्बृद्दिका फोस्रा गीत गाएरै समय वर्वाद गर्ने ? होइन, साँच्चै चाहिँ हाम्रो मुलुक र मुलुकको शैक्षिक भविष्य कतातिर मोडिदैछ ? के नेपालको शैक्षिक यात्रा साँच्चै अन्धकार सुरूङगतिरै सोझिएकै हो त ?

(लेखक मरब क्याम्पस इलामका सहप्राध्यापक हुन्)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार