वडा कार्यालयको लापरवाहीले माङसेबुङमा सामाजिक सुरक्षा भत्ता लिनबाट वञ्‍चित !

  बालकृष्ण बस्‍नेत
28 Shares

माङसेबुङ : जिल्लाको माङसेबुङ गाउँपालिका वडा नम्बर २ ले सुरु गरेको बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता प्रभावकारी नभएको पाइएको छ । वडा कार्यालय गरेको लापारवाहीका कारण सेवाग्राही मारमा परेका छन् ।

सामाजिक सुरुक्षा भत्ता पाउने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रमा भएको नाम थर र वडा कार्यालयले वितरण गरेको परिचयपत्रमा नाम थर नमिल्दा सेवाग्राहीहरु सामाजिक सुरक्षा भत्ता लिनबाट वंचित भएका छन् ।

विगतमा सोझै नगद वितरण गर्दा सामान्य नाम थर नमिलेकालाई पनि जनप्रतिनिधिले भुक्तान दिने गरेकोमा यस पटकदेखि बैंकले नाम थरमा सामान्य त्रृटी भएमा सामाजिक सुरक्षा भत्ता भुक्तान गेको छैन ।

यसबाट सेवाग्राही मारमा परेका छन् । बैंकले सेवाग्राहीको बैंक खाता खोल्दा नेपाली नागरिकतामा भएको नाम थर उल्लेख गरेको छ । तर वडा कार्यालयले प्रदान गरेको सेवाग्राहीको परिचयपत्रमा नेपाली नागरिकताको भन्दा फरक समेत नाम थर उल्लेख गरेर लापारवाही गरेको पाइएको छ । यसबाट सेवाग्राही मारमा परेका हुन् । बैंकले भने बैंक खातामा भएको नाम थरलाई मात्र आधिकारिक मान्दछ र भुक्तानी दिने गर्दछ । यसरी वडा कार्यालयले गरेको लापारवाहीबाट आफूहरुले पाउँदै आएको सामाजिक सुरक्षा नपाएको भन्दै सेवाग्राहीहरु आक्रोशित बनेका छन् ।

बिर बहादुर दर्जी /तस्वीर : बालकृष्ण बस्‍नेत

लामो समयदेखि सामाजिक सुरक्षा भत्ता पाउँदै आएका माङसेबुङ गाउँपालिका २ इभाङका बीर बहादुर दर्जी (आंशिक अपाङ्गता भएको व्यक्ति) ले यस पटक सामाजिक सुरक्षा भत्ता पाएनन् । बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा वितरण सुरु गरेपनि उनको बैंक खातामा रकम नआएको गुनासो गरेका छन् । दर्जीले नेपाली नागरिताको नाम थर र परिचयपत्रको नाम थर नमिलेकै कारण आफू सामाजिक सुरक्षा भत्ता पाउनबाट आफू वञ्चित हुनुपरेको गुनासो गरे । ‘कसले र कहाँ कमजोरी गर्‍यो हामीलाई केही थाहा छैन । तर नाम थर नमिलेकाले पैसा नपाएको भन्ने जानकारी भयो’ दर्जीले भने, ‘यसरी सधैं पाउँदै आएको भत्ता नपाउँदा दुख लागेको छ ।’

उनको नेपाली नागरिकताको प्रमाणपत्रमा ‘बीर बहादुर दर्जी’ र वडा कार्यालयले वितरण गरेको परिचय पत्रमा ‘विर बहादुर शिवा दर्जी’ उल्लेख छ । नाम थर नमिलेकै कारण उनले सामाजिक सुरक्षा भत्ता लिनबाट वंचित भएका हुन् ।

रवीत दर्जी /तस्वीर : बालकृष्ण बस्‍नेत

यस्तै बीर बहादुरको आमा रवीत दर्जी (जेष्ठ नागरिक अन्य) ले समेत नाम थर नमिलेकै कारण सामाजिक सुरक्षा भत्ता लिनबाट वञ्चित भएकी छन् । आमाको पनि नेपाली नागरिकतामा ‘रवीत दर्जी’ र परिचय पत्रमा ‘रीता शिवा’ उल्लेख छ ।

यस्तै माङसेबुङ २ इभाङकै आसमाया लिम्बू (विधवा) ले पनि थर नमिलेकै कारण सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएकी छन् । उनको नेपाली नगरिताको प्रमाणपत्रमा ‘आसमाया लिम्बु’ उल्लेख भएको भएपनि अघिल्लो पटकसम्म ‘आसमाया राई’ को नामबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी थिइन् । यसपटक थर फरक भएकै कारण भत्ता लिनबाट वञ्चित भइन् । यसरी किन र कसरी नाम थरमा त्रुटी भयो भन्ने कुरा किटान नभएपनि जनप्रतनिधि र कर्मचारीको लापारवाहीकै कारण आफूहले दु:ख पाएको सेवाग्राहीहरुको गुनासो छ ।

यता यस विषयमा वडा कार्यालयसँग बुझ्दा विगतमा वितरण गरिदैं आएको अभिलेखकै आधारमा तथ्याङ्क पेश गर्ने गरिएको र सोही आभारमा परिचयपत्र प्रदान गरिएको जनाएको छ । ‘गाविस हुँदा देखिनै तत्कालिन सचिवले जुन नाम थरमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको थियो । सोही अभिलेखकै आधारमा हामीले विवरण पठाउने गरेका छौं’ वडा अध्यक्ष पुष्पराज कार्कीले भने, ‘सोही अभिलेखका आधारमा परिचय पत्र समेत उपलब्ध गराएका होऔं ।’

यसअघि नगद वितरण गर्ने प्रणालीमा वडामा २ सय ८० जनाले विभिन्न दर्जाको सामाजिक सुरक्षा भत्ता लिदैं आएका थिए । यसपटक २ सय १८ जनाको मात्र खातामा रकम भएको स्थानीय सिटिजन्स बैङ्क माङसेबुङ शाखाका प्रमुख हरि खत्रीले जानकारी दिए ।

करिब ४० जना भन्दा बढि सेवाग्राहीले बैंकमा खाता नखोलेको र बाँकीको नाम थर नमिलेकाले यसपटक भत्ता पाउनेको संख्या घटेको वडा सचिव सुलभ दाहाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार