लालमोहर दिवशमा १८३१ साउन २२ को लालमोहरको स्मरण

पाँचथर : आज (२२ साउन २०७७) लालमोहर दिवस । वि.सं. १८३१ साउन २२ गते तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बूवान बीच भएको लालमोहर सन्धिको सम्झनामा यो दिवश मनाइन्छ ।

हरेक वर्ष बनाउदै  आइएकाे लालमाेहर दिवश यसपल्ट विश्व्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण औपचारिक कार्यक्रमबिनै लालमोहर दिवश मनाइएको छ । दिवशको अवशरमा लिम्बुवानजन्य संघ–संस्था र लिम्बुवानको इतिहासका अध्येता र विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जाल मार्फत् लालमोहर सन्धिको स्मरण गरेका छन् ।

याक्थुङ प्रज्ञा प्रतिष्ठानका कूलपति राजेन्द्र कुमार जबेगूका अनुसार लिम्बूवान सहराज्यको रुपमा गोरखा राज्यमा एकिकरण भएको तर स्वायत्त शासन सञ्चालनको अधिकार लिम्बूवानलाई नै दिने गरी उक्त सन्धि भएको थियो । पछिबाट शाह राजाहरुको कुटिल चालबाट उक्त स्वायत्त अधिकार खोसाउदै लगेर अन्त्यमा शून्य बनाइएको उनको भनाई छ । जबेगुले लालमोहर सन्धिमा गोरखा राज्यको तर्फबाट राजा पृथ्वीनारायण शाह र लिम्बूवान राज्यको तर्फबाट त्यतिबेलाका राजाहरु सुन राय, कुम राय र जंग रायले हस्ताक्षर गरेको बताए ।

लिम्बुवान इतिहासका अध्येता कमल तिगेलाका अनुसार तत्कालिन गोरखा राज्य र लिम्बुवान राज्यबीच एकिकरण गरिएको उक्त सन्धिमा त्यतिबेलाको भाषामा जगर, बगर, भीरमौरी, तीतेमाछा जस्ता शब्द उल्लेख छ ।
त्यसलाई अहिलेको अवस्थामा सन्धिअनुसार जल, जंगल र जमिनमाथिको स्वायत्तता लिम्बुवानलाई प्रदान गरिएको थियो भनेर बुझ्न सकिने तिगेलाको भनाई छ । पृथ्वीनारायण शाहले दिएको उक्त अधिकारलाई राजा त्रिभुवनले वि.सं. २००८ सालमा लालमोहर जारी गर्दा पनि थमौति गरेको तिगेलाले उल्लेख गरेका छन् ।

अहिलेको सात प्रदेशको राज्य पुनर्संरचनाले लिम्बुवानको भूगोल र इतिहासलाई समेट्न नसकेको र अरुण–संखुवाखोला, सप्तकोशी नदी पूर्वका नौ जिल्लालाई आत्मनिर्णयको अधिकार सहितको छुट्टै लिम्बूवान स्वायत्त राज्य बनाइनुपर्ने माग लिम्बुवानजन्य संघ–संगठनहरुले गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार