गजुरमुखी धाममा फोहोरको डँगुर !

  बालकृष्ण बस्‍नेत
0 Shares

माङसेबुङ : जिल्लाको प्रसिद्ध धार्मिक स्थल गजुरमुखी धाममा फोहोरको डँगुर हुन थालेको छ ।

माङसेबुङ गाउँपालिका वडा नम्बर १ मा पर्ने गजुरमुखी धामको नियमिति सरसफाईको अभावमा थुप्रिएको फोहोरका कारण दुर्गन्धित बन्दै गएको छ ।

धामको नियमिति संरक्षण, संम्बर्द्धन र सरसफाईमा स्थानीयले चासो नदिएपछि दिनानुदिन थुप्रिएको फोहोरले दुर्गन्धित बन्दै गएको हो । फोहोरको थुप्रोका कारण धामको सौन्दर्य समेत कुरुप बन्न थालेको छ ।

रुद्राक्ष, सुपारी र आँपका बोट तथा लहरापहराले धाम परिसर ढाकिएका छन् । धामको छेउमा खसेको पहिरोको ढिस्को नहटाउँदा धामको शीरमा पुग्‍ने बाटो बन्द भएको छ ।

धामपरिसरमा लाखौं खर्च गरेर निर्माण गरिएका सिँढीहरु चर्किएका, फुटेका तथा भत्किएका छन् । कतिपय  ठाउँमा झारजंगलले सिँढीको निसाना समेत मेटिएको छ । धामको प्राङ्गणमा रहेको फुलबारी झारपातले छोप्दा धामको सुन्दरता नै बिग्रेको देखिन्छ ।

तर यस विषयमा स्थानीय बासिन्दा बेखबर छन् । गजुरमुखी पर्यटन विकास समिति, गजुरमुखी बजार व्यवस्थापन समिति तथा स्थानीय सरकार कसैको ध्यान जान सकेको छैन ।

सरकारी निकायबाट योजनाका लागि बजेट आउँदा मात्र जागरुक हुने त्यहाँका स्थानीय यतिबेला नदेखेंझै गरिरहेका भक्तजनहरुको गुनासो छ । आम्दानीको मुख्य श्रोतका रुपमा भक्तजनहरुलाई लिने त्यहाँका बासिन्दाले नै धामको सरसफाईमा विशेष ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ ।

प्रत्येक वर्ष कार्तिक पूर्णिामा लाग्ने वृहत धार्मिक मेलाबाट गजुमुखीबासीले लाखौं आम्दानी गर्ने गरेका छन् । तर धामको विकास र सम्बर्द्धनमा स्थानीयकै चासो कम रहेको भन्दै आलोना हुने गरेको छ ।

धार्मिक आथाको केन्द्र गजुरमुखी धाम

गजुरमुखी धाम इलाम सदरमुकामदेखि करिब ४० किलोमिटर पश्चिममा पर्दछ । जिल्लाकै प्रसिद्ध धार्मिकस्थल गजरमुखीको दर्शन गरेमा बोलि नआएकाहरूको बोलि आउने र सन्तान नभएकाहरूको सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ । यही जनविश्वासका कारण वर्सेनि हज्जारौंको संख्यामा भक्तजनहरू पाठपूजा गर्न तथा भाकल गर्न गजुरमुखी धाम आउने गरेका छन् । दैनिक सयौंको संख्यामा भक्तजनहरूको उपस्थिती रहने गर्दछ ।

जगुरमुखी धाममा इलामसँगै पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटाका तथा भारतको सिक्किम, दार्जिलिङ, खर्साङ, कालेङबुङ लगायतका ठाउँहरूबाट समेत भक्तजनहरू आउने गरेका छन् ।

मेची लोकमार्गअन्र्तगत इलामको नेपालटार–मंगलबारे–धुसेनी हुँदै मंगलबारेसम्म पक्की र मंगलबारेबाट कच्ची सडकमार्फत गजुरमुखी धाममा पुग्न सकिन्छ । जिल्लाका विभिन्न पर्यटकीय स्थलहरूमध्ये गजुरमुखी पनि एक हो । धार्मिक आस्थाको लागि आउने गरेका पर्यटकहरू इलाम आएका बेला प्राय गजुरमेखी जान छुटाउँदैनन् ।

वर्षाको समयमा कच्ची सडक पर्यटकहरूका लागि केही असजिलो हुने गरेको भएपनि हिउँद याममा गाडीहरू चल्ने गरेकाले गजुरमुखी पुग्नका लागि उति असजिलो छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार