सडकको सकस : गाडीमा भन्दा पैदल छिटो !

इलाम : इलामको फाकफोकथुम गाउँपालिकाबाट सदरमुकामसम्मको बीस किलोमिटर सडक पार गर्न घन्टौां लाग्ने गरेको छ । हिउँदमा चार घण्टामा आइपुगिने बाटो बर्षायाममा दिन बित्छ ।

सदरमुकामबाट पाँचथरको राँकेसम्मको कच्ची सडक छिचोल्न अढाइ घण्टा लाग्ने गरेपनि अहिले त्यति नै सडकमै सवारी कुद्न लामो समय लाग्छ । सडक समस्या हुनुको कारण भने हिलाम्मे सडक र सडक स्तरोन्नतिका नाममा सोलिङ भत्काएपछि हुन थालेका हुन् ।

लामो समय लकडाउनका कारण यातायात सञ्चालन नभएर आवतजावतमा समस्या भोगिरहेका फाकफोकथुमका सर्वसाधारण लकडाउन खुलेसँगै यातायात सञ्चालन हुनेमा आशाबादी थिए । लकडाउनका कारण घरमै रहेका फाकफोकथुमबासी अहिले लकडाउन खुल्दा त्रास पूर्ण यात्रा गर्न बाध्य छन् । उनीहरू सडककै कारण जोखिम मोलेर अहिले यात्रा गर्न बाध्य बनेका छन् ।

इलामको फाकफोकथुम गाउँपालिकाबाट सदरमुकामसम्मको बीस किलोमिटर सडक पार गर्न घन्टौां लाग्ने गरेको छ । हिउँदमा चार घण्टामा आइपुगिने बाटो बर्षायाममा दिन बित्छ ।

सडक हिलाम्मे भएकोले सवारी साधन घन्टौं फस्नाले सवारी साधनमा भन्दा पैदल यात्रा छिटो र सहज हुने गरेको छ । पहिरोले साँघुरा बनेका सडक हिलाम्मे हुँदा सडकमा गाडी चिप्लिएर दुर्घटनामा पर्ने र हिलोमा गाडी फस्ने समस्या छ ।

इलामबाट आमचोकसम्म दैनिक गुड्ने सवारीका चालक गौरव लामिछाने निकै दुःखले मात्र गाडि कुदाउँन सकिने बताउँछन् । उनी भन्छन् ‘अप्ठ्यारो ठाउँमा यात्रुलाई गाडीबाट उतार्नु पर्छ । गाडी गुडाउने भन्दा पनि कसरी पुग्ने भन्ने हुन्छ । १० जनाको ज्यान आफ्नो हातमा लिएर हिड्नु पर्छ मनमा डरभएपनि दुख गर्ने परो के गर्नु र ।’

कच्ची सडक भत्किएपछि सर्वसाधारणलाई आवतजावत गर्न कठिन हुँदै गएको हो । गाडी चालकहरूले निकै दुःखले यात्रा गराउने गरेका छन् । धेरै जसो ठाउँमा बाटो खनेर र यात्रुहरू उतारेर मात्र गाडी गुडाउने गर्दछन् ।

फाकफोकथुम गाउँपालिका–३ का लक्षुमन दहाल दैनिक रूपमा गाडीमा समस्या आउने गरेको दुखेसो पोख्छन् । बाटो अप्ठ्यरो भएकाले दैनिक जसो गाडीका सामान बिग्रने गर्छन् । एकातिर लकडाउनले सवारी नचल्दा गाडीको किस्ता तिर्न समस्या परेको छ भने अर्कातिर गाडीको आम्दानीले गाडी बनाएर चलाउन गाह्रो हुने गरेको दहाल बताउँछन् ।

लकडाउनमा ठप्प भएका सवारी लकडाउन खुल्दा समेत सडक समस्याले नचल्दा बैङ्कमा किस्ता तिर्नु पर्ने व्यवसायीलाई भने ठूलै समस्या भोग्नु परेको छ । सवारीबाटै कमाएर किस्ता तिर्नु पर्नेमा लकडाउनले ठप्प हुनु एकातिर समस्या छ भने अर्कातिर सडक खराब भएकाले दोब्बर खर्च आउनाले झन् समस्या भोग्नु परेको फाकफोकथुमकै गोपाल लामिछाने बताउँछन् ।

लामिछानेले उनका साथिसँग मिलेर एक वर्ष अघि सेयरमा मा गाडी किनेका थिए । तर, अहिले त्यो किस्ता धान्ने मुस्किल बनेको छ । चैत्र देखिको लकडाउनले घरमै गाडी थन्क्याएका गोपालले अहिले गाडि कुदाउँने बाटै नहुँदा पैसाको पिरलोले गाजेको गोपाल सुनाउँछन् । उनी भन्छन्,‘सडक राम्रो हुँदा सदरमुकामबाट चार घण्टामै आमचोक पुगिन्छ तर अहिले इलाम सदरमुकामबाट काठमाडांै चाँडो पुगिएला तर आमचोक पुग्न त्यो भन्दा धेरै समय लाग्छ ।’

यता फाकफोकथुम गाउँपालिकाका अध्यक्ष राम श्रेष्ठले राँके भेडेटार सडकको काम भइरहेको यात्रा समस्या रहेको बताउँछन् । पहिरो र हिलोले सडक बिग्रिरहेको बेला गोलिया र गिटी ढुङ्गा बोकेर ठूला सवारी गुड्नाले विग्रिएको अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘पहिले नै सडक राम्रो थियो अहिले तपाईंहरु (जनप्रतिनिधि) आएपछि झन् बिग्रियो भन्ने आरोप छ तर विकास गर्नका लागि विनास अलिअलि हुन्छ नि ।’

अहिले सडक कटिङ भएका ठाउँमा पहिरो गएपनि मौसममा सुधार आएपछि मर्मत गर्ने योजनामा रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

-राजधानीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार