वातावरण सन्तुलन बिगारेको भन्दै विद्युत आयोजनाको विरोध

इङ्ला र समाहा खोलाको पानी ल्याउन नदिने चेतावनी

तस्वीर : गुगल

इलाम : विद्युत आयोजनाले समन्वय नगरि निर्माण कार्य अघि बढाएको भन्दै इलाममा निर्माणाधिन एक विद्युत आयोजनालाई स्थानीयले विरोध जनाएका छन् ।  विगत २ वर्ष देखि माइखोलामा निर्माणाधिन सुपरमाई ए सगरमाथा हाइड्रो प्रालिले समन्वय विना नै माइजोगमाई र सन्दकपुर गाउँपालिका बीचका इङला र समाहा खोलाको पानी प्रयोग गर्न लागेको भन्दै विरोध बढेको हो । इलाम नगरपालिका २ सुम्वेक, सन्दकपुर गाउँपालिका ३ सुलुबुङ, सन्दकपुर ५ जमुना र माइजोगमाई ६ प्याङको क्षेत्रमा निर्माणाधिन आयोजनाका कारण वातावरण, धार्मिक, सांस्कृतिकलगायत विविध क्षेत्रमा असर परेको भन्दै स्थानीयले संघर्ष समिति गठन गरेर नै विरोध सुरु गरेका हुन् ।

‘माइखोलाको पानी प्रयोग गरेर अयोजना निर्माण भए पनि नजिकैका २ वटा खोलाको पानी मिसाउन कुनै पनि हालतमा दिने छैनौ,’ समितिका संयोजक गोपाल थेवेले भने । ९ दशमलव ६ मेगावाटको यो आयोजना व्यवसायिक उत्पादनको अन्तिम चरणमा पुगेको छ ।

प्रभावित क्षेत्रका बासिन्दा समेटिएको समितिले आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको रकम पनि पारदर्शी नभएको आरोप लगाएको छ । विद्युत अयोजना सञ्चालित स्थानीय तहले त्यसको वास्तविकता बाहिर ल्याउनु पर्ने समितिको माग छ । समितिले आयोजना विरुद्ध अदालतमा मुद्धा दायर गर्ने जनाएको छ । सदरमुकाममा सोमवार आयोजित पत्रकार भेटघाट मार्फत संघर्ष समितिले आयोजनाको कामकारवाही प्रति पश्न उठाएको हो । ‘हामीले इङ्ला र माइखोलाको पानीलाई मिसाउन बनाइदै गरेको संरचनाको कार्य तत्काल रोक्नसमेत आग्रह गरेका छौं,’ समितिका सचिव मानवहादुर गुरुङले भने ।

जिल्लामा करिव १ सय मेगावाट क्षमताका आयोजना निर्माण भएका छन् । केहि निर्माणाधिन अवस्थामा छन् । तर ती अयोजनाले स्थानीयको अधिकारलाई ख्याल नगरेको आरोप लाग्दै आएको छ । विद्युत अयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरेको रकम अपारदर्शी हुने, वातावरणीयसँगै धार्मिक, संस्कृतिक, जैविकलगायतका पक्षलाई उपेक्षा गर्ने गरिएको समेत देखिएको भन्दै विरोध हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार