इलाम : इलाममा आर्थिक वर्ष ०७६।७७ मा १५ प्रतिशत अर्थात करिब डेढ अर्ब बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय इलामका अनुसार संघीय र प्रदेश सरकारबाट आएका १ अर्ब ४० करोड ८६ लाख ४५ हजार ६ सय ३२ रुपैयाँ फ्रिज भएको हो ।
जिल्लामा संघ र प्रदेश सरकारबाट ९ अर्ब ४४ करोड, २९ लाख ७६ हजार २ सय १३ रुपैयाँ आएको थियो । जसमध्ये ८ अर्ब ३ करोड ४३ लाख ३० हजार ५ सय ८१ रुपैयाँ मात्र खर्च भएको कोष नियन्त्रक कार्यालय इलामले जनाएको छ ।
चालुतर्फ ९५ प्रतिशत अर्थात ६ अर्ब १५ करोड १४ लाख २२ हजार रुपैयाँ रकम खर्च भएको छ भने पुँजिगततर्फ ६२ प्रतिशत अर्थात १ अर्ब ८८ करोड २९ लाख ८ हजार ५ सय ७७ रुपैयाँ खर्च भएको छ ।
संघीय सरकारबाट प्राप्त बजेटको ८६ प्रतिशत रकम मात्रै खर्च भएको छ । चालुतर्फ ९७ प्रतिशत अर्थात ५ अर्ब ४३ करोड ७१ लाख ९८ हजार १ सय ४३ रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ ५५ प्रतिशत अर्थात १ अर्ब ९ करोड ११ लाख ७७ हजार ३ सय ८० रुपैयाँ मात्रै खर्च भएको छ ।
प्रदेश सरकारबाट प्राप्त बजेटको ७८ प्रतिशत रकम खर्च भएको छ । प्रदेश सरकारले १ अर्ब ९२ करोड ७९ लाख १४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये १ अर्ब ५० करोड ५९ लाख ५५ हजार ५५ रुपैयाँ खर्च भएको छ । त्यसमा चालुतर्फ ८२ प्रतिशत अर्थात ७१ करोड ४२ लाख २३ हजार ८ सय ५७ रुपैयाँ र पुँजीगततर्फ ७४ प्रतिशत अर्थात ७९ करोड १७ लाख ३१ हजार १ सय ९७ रुपैयाँ खर्च भएको छ ।
अघिल्लो वर्ष संघीय सरकारको १४ प्रतिशत र प्रदेश सरकारको २२ प्रतिशत बजेट फिर्ता भएको थियो ।
६१ करोड राजस्व संकलन
कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रारम्भिक प्रतिवेदनअनुसार इलाममा आर्थिक वर्ष ०७६।७७ मा ६१ करोड ८ हजार १ सय ९२ रुपैयाँ राजस्व संकलन भएको छ ।
जसमध्ये संघतर्फ ५६ करोड ६८ लाख ७२ हजार ४ सय ३ रुपैयाँ र प्रदेशतर्फ ४ करोड ३१ लाख ३५ हजार ७ सय ८८ रुपैयाँ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ ।
अघिल्लो आर्थिक वर्ष २०७५।०७६ मा ४९ करोड ८४ लाख ३७ हजार १९ रुपैयाँ राजश्व संकलन भएको थियो । त्यसमा संघतर्फ ४४ करोड ७० लाख ९३ हजार नौसय ६५ रुपैयाँ रकम र प्रदेशतर्फ ५ करोड १३ लाख ४३ हजार ५४ रुपैयाँ राजश्व संकलन भएको थियो ।
कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण आर्थिक क्रियाकलाप प्राय ठप्प हुँदासमेत जिल्लाको राजश्व संकलनमा वृद्धि भएको छ ।
संघतर्फ करदाता सेवा कार्यालयले सवैभन्दा बढि ३९ करोड ६७ लाख ७७ हजार ४ सय ८१ रुपैयाँ छ । जिल्ला प्रशासन कार्यालयले १ करोड ५९ लाख ८९ हजार ४ सय ३० रुपैयाँ, कोष तथा लेखा नियन्त्रण कार्यालयमा १० करोड ६१ लाख ५५ हजार ३ सय त्रियानब्बे र भन्सार कार्यालमा १ करोड ४४ लाख नौ हजार नौसय एक रुपैयाँ राजश्व संकलन भएको छ ।
यस्तै प्रदेशतर्फ यातायात व्यवस्था सेवा कार्यालय इलाममा ३ करोड २८ लाख २९ हजार ५३ रुपैयाँ, घरेलु तथा साना उद्योग विकास समितिमा ३९ लाख ४० हजार ५ सय रुपैयाँ, डिभिजन वन कार्यालयमा ४४ लाख २० हजार १ सय ९७ रुपैयाँ राजस्व संकलन छ ।
संघीय सरकार र प्रदेश सरकारका लागि इलामबाट ५० करोड ३० लाख २५ हजार ८ सय ८ रुपैयाँ राजश्व संकलन भएको छ । संघतर्फ ४५ करोड १६ लाख ८२ हजार ७ सय ६३ रुपैयाँ र प्रदेश सरकारका लागि ५ करोड १३ लाख ४३ हजार ४५ रुपैयाँ राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।