इलाम : इलाम किसानले उत्पादन गरेको नग्देबालीमध्ये सबैभन्दा धेरै पैसा आउने भनेकै अलैंची हो । त्यसैले पहिले पहिले गाउँघरमा खोल्सीको सुन भन्ने गरिन्थ्यो । खोल्सीको सुन उपनामले चिनिन्ने नगदे बाली अलैंचीको भाउमा निरन्तर ह्रास आउन थालेकोले यो वर्ष अलैंची नै बिक्दैन कि भन्ने चिन्ता अलैंची किसानमा परेको छ ।
त्यसै पनि विश्व बजारमा निरन्तर सुनको भाउ बढीरहेको समयमा अलैंचीको भाउमा भने निरन्तर गिरावट आईरहेको छ । प्राय सुनको भाउ आउँदा अलैंचीको भाउ पनि आउने गर्दछ । सधैंका वर्षमा अलैंची र सुनको भाउमा खास त्यति धेरै फरक पर्दैनथ्यो ।
तर यो वर्ष आकाश जमिन फरक आएकोले अलैंची कतै नबिक्ने हुन् कि भन्ने चिन्ता अलैंची किसानमा हुनु स्भाविक नै हो । बिगत वर्षहरुमा प्रतिमन १ लाख १५ हजारसम्म पुगेको अलैंचीको भाउ एक्कासी गिरावट आएर स्थानिय बजारहरुमा १८ देखि २३ हजारमात्र प्रतिमन रहेको नयाँ बजारका अलैंची व्यापारी तारा भट्टराई बताउँछन् । बिगत वर्षको तुलनामा ३० प्रतिशत गिरावट आएको उनको भनाई छ ।
बजारमा खासै अलैंची नै आउन नसकेको उनी बताउँछन् । किसानहरु साउन लागेर नयाँ सिजन शसरु हुँदा पनि अलैंचीको भाउको चहलपहल नभएकोले किसानहरू अलैंची नबिक्ने हुन् कि भन्ने चिन्ताले पिरोलिएका छन् । साउनदेखि कात्तिक अन्तिमसम्म अलैंची टिप्ने सिजन हो । हिउँदमा तुसारोसँग जोगाउन सकिएको खण्डमा पहाडको माथिल्लो भेगसम्म यसको खेती गरिदैं आएको छ ।
अन्य खेतीको तुलनामा धेरै सजिलो र कम मिहेनतमा हुने खेती भएकोले अन्य खेती मासेर अलैंची खेती लगाएका छन् । एकातिर अलैंचीको भाउ कहिले स्थिर नबस्ने भएकोले पनि किसानहरुलाई धेरै चिन्तित बनाउने गर्छ । पहिले खोल्सा खोल्सीमा सजाउने उपयुक्त वातावरण रहेको मानिन्थ्यो । तर हालको अलैंचीहरु खुल्ला र मलिलो माटोमा मात्र हुने गरेको प्याङका कृषक भिम थेबे बताउँछन् । हाल किसानहरुले भर्लाङ जातको अलैंची धेरैले रोप्ने गरेपनि ३/४ वर्ष मात्र बाँच्ने गरेको किसानहरू बताउँछन् । प्रति सरा १० देखि १५ रुपैयाँले किनेर रोपेको ३/४ वर्षमै मर्न थालेपछि थप चिन्ता थपिएको छ ।
विश्व महामारी कोरोना भाइरस यसरी लामो समयसम्म रहेको कारण यो वर्ष भाउ धेरै गिरावट आउने अनुमान छ । वर्ष दिनको घर खर्च सजिलै अलैंची खेतीबाटै किसानहरुले धान्ने गरेका छ्न् । त्यसैले भएको खेतवारी सबै मासेर अलैंची लगाएका छन् । यसरी निरन्तर अलैंचीको भाउमा गिरावट आए धेरै अलैंची किसानहरु यो खेतीबाट निरास हुनेछन् ।