माङसेबुङमा ९० वर्ष माथिका जेष्ठ नागरिकलाई मासिक १ हजार भत्ता

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले संघीय सरकारले उपलब्ध हुँदै आएको सामाजिक सुरक्षा बाहेक अतिरिक्त सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको छ ।

गाउँपालिकाले ९० वर्ष पूरा भएका न्युन आर्थिक अवस्था भएका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा प्रोत्साहन कार्यक्रम अन्तरगत मासिक १ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने व्यवस्था गरेको हो ।

गाउँपालिकाले गाउँसभाबाट पारित गराई सो कार्यक्रम लागू गरेको हो ।

यस आर्थिक वर्ष ०७७।७८ का लागि सो कार्यक्रममा गाउँपालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

अतिविपन्न तथा जेष्ठ नागरिकको उपचारका लागि १३ लाख

त्यसैगरी अतिविपन्न तथा जेष्ठ नागरिकहरुको स्वास्थ्य उपचारका लागि अतिविपन्न तथा जेष्ठ नागरिक स्वास्थ्य उपचार सहायता कोष स्थापना गरेको छ ।

गाउँपालिकाका अतिविपन्न तथा जेष्ठ नागरिकलाई विरामीहरुलाई उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापित कोषमा यस वर्ष १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अतिविपन्न तथा जेष्ठ नागरिक विरामीले आवश्यक प्रक्रिया पूरा गरी सो कोष अन्तरगत गाउँपालिबाट उपचार सहयता प्राप्त गर्नेछन् ।

सुत्केरी स्याहार तथा पोषणका लागि ५ लाख

गाउँपालिकाले आफ्नो गाउँपालिकाको महिला सुत्केरी हुँदा सुत्केरी स्याहार तथा पोषणका लागि अनुदान दिन ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक वर्ष ०७७।८७ का लागि सुत्केरी स्याहार तथा पोषण कार्यक्रम अन्तरगत सो रकम विनियोजन गरेको हो ।

प्रसुतिको नियमित जाँच गराउन, संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न तथा समयमा नै जन्म दर्ता गर्ने कार्यलाई प्रोत्साहित गर्न सुत्केरी स्याहार तथा पोषण कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

सो कार्यक्रम अन्तरगत प्रति सुत्केरी महिलालाई गाउँपालिकाले आवश्यक प्रक्रिया पूरा गरी एकमुष्ठ ५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यो कार्यक्रम माङेबुङ गाउँपालिकामा अघिल्लो आर्थिक वर्षदेखि नै संचालनमा आएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार