विद्यार्थी संगठनमा मेराे चिन्ता

  मानवहादुर गुरुङ
0 Shares

अचेल विद्यार्थीहरुको सोच, विचार, धारणा, स्वभाव र आचरण जुन स्थितिबाट विकसित भएर आयो । त्यसैले अनेक समयताकाको रुपान्तरणका लागि अभिभाराहरु, चाहे त्यो समाजमा होस्, चाहे त्यो राज्य व्यवस्थाको विभिन्न संरचनाहरुमा होस् राम्रो दबाब र जागरणको निरन्तर प्रभावको शृङखला रहँदै आएको पाइन्छ । नेपालमा भएको विभिन्न साना–ठुला क्रान्तिहरुको पृष्ठभुमिलाई फर्किएर हेर्ने हो भने विद्यार्थी जागरण र आन्दोलनको रापताप र जगबाट त्यसको प्रारम्भ भएको पाइन्छ । अन्याय नसहने आम विद्यार्थी प्रवृतिले असत्य, भ्रम र शासकिय बर्वताको विरुद्ध सधै सतिसालझैँ उभिएर डटेर लड्न प्रेरित गरिरहेको हुन्थ्यो ।

इतिहासको कालखण्डहरुलाई स्मरण गर्दा, विद्यार्थी आन्दोलनका औचित्य कति प्रष्ट देखिन्थ्यो । कति सङ्लो थियो । जसले एउटा छुट्टै गौरवको तेजाब पहिरन गरि नै रहेको थियाे र छ । विगतमा त्यस्ता  शसक्त विद्यार्थी मुभमेन्टहरु यदि नभएको भए आजको नेपाल सम्भव थिएन् । हामीमा जोस जाँगर र आफ्नो काम कर्तव्यप्रतिको दृढतापुर्ण लगाव, अथक कार्यशैली, उर्जाशिल जीवन कति सुन्दर हुन्थ्यो ।

माथि उल्लेखित सवै कुराको एउटै कडि थियो काम गर्नेहरु नेतृत्वमा स्थापित हुन्थ्यो । “काम गर्ने कालु मकै खाने पनि कालु” नै हुन्थ्यो । तर बिडम्बना भनौ या दुर्दशा भनौँ वर्तमान विद्यार्थी आन्दोलन दिशाहीन जस्तै भएको छ । गति पुरै बन्द भएको छ । अहिले आएर विद्यार्थी नेताहरु जसलाई हामीले मानिरहेका छौँ । तिनीहरु गोटी त प्रष्टै बनेका छन् । त्यसमा पनि विभिन्न खाले नियुक्तिहरुमा तछाँडमछाँड गरिरहेका छन् । विद्यार्थी नेताहरुको प्रतिष्पर्धा विभिन्न खाले ठेक्का पट्टादेखि लिएर अनेक रुपको दलालीहरुमा देखिन्छ । यी दृष्टान्तहरुलाई हेर्दा लज्जाबोध त हुन्छ नै  । अझ बढि त घृणा र आत्मग्लानीका साथ विद्यार्थी आन्दोलनमाथि गम्भिर प्रश्न चिन्ह खडा भइरहेको छ । हाम्रो आन्दोलनहरु कतातर्फ विमुख भइरहेका छन् ।

शैक्षिक जगतको विकृति बिसंगती तिनिहरु सुधार गर्ने संकल्प किन बिर्सिरहेका छौ ? अहिले त सरकार नै शैक्षिक क्षेत्रको साख गिराउन हर्कतहरु गरिरहेका छन् । यता शैक्षिक संस्थाको विभिन्न नियुक्तिहरुमा खुलेआम राजनितिक हस्तक्षेप कायम नै छ । तर हामी विद्यार्थी नेताहरु यस्ता विकृति, बेथितिबिरुद्ध हेरेर बस्न मात्र सक्याैँ । उल्टै यस्ता विकृत कुराको पक्ष विपक्षमा क्रियाकलाप हुँदै गइरहेको छ । यसले विद्यार्थी नेताहरुको पद त पुरै घटाएको नै छ । अझ विद्यार्थी आन्दोलनको विचलन र बर्हिगमन गरिरहेको छ । हामीले विगतमा धेरै राम्रा एजेन्डा र मुद्धाहरुमा लडेर ती लडाईहरुबाट हासिल गरेका उपलब्धीहरुलाई समेत संस्थागत गर्न सकेनौँ । उदाहरणका लागि शैक्षिक लोन, विभिन्न किसिमका विद्यार्थी छुटहरु आदि ।

यसबाट के पुष्टि हुन्छ भने हाम्रो नयाँ एजेन्डा मुद्धाहरुमा त खास ढंगले लगेनौ न ठुलो संर्घष बलिदानी र कुर्वानीबाट प्राप्त भएको उपलब्धी दुःखलाई समेत अदाई गर्न सकिरहेका छैनौँ । अहिले त हामी एउटा अन्योलग्रस्त यात्री जस्तै भएका छौ । तर हामीले हाम्रा मुलभुत जगहरुलाई बिर्सिएर एक कदम पनि अघि बढ्न सक्दैनौ । कुनै पनि सर्तमा पार्टीहरुबिचको एकता मर्म र भावनालाई तोडमोड गर्न सकिन्न् । जसका निम्ति एउटै प्रमुख कुरा भनेको सिष्टम हो । विधि विधान र पद्धती भन्दा कोही पनि माथि हुन सक्दैनौ । यो विशाल पार्टीलाई विधि पद्धतीले नै व्यवस्थित गर्ने हो । सबै विद्यार्थी नेता कार्यकर्ताहरुले पनि जस अनुरुपको जीवन प्रणाली भित्र रहनुपर्छ । यसो हुन सकेमा मात्र पार्टी संगठन होस या विद्यार्थी संगठन होस जीवन्त रहन सक्छ ।

अहिलेको समस्याहरुको जर्जरताबाट संगठनलाई उकास्नका निम्ति अब संगठनलाई अझ बढि शसक्त ढंगले चलायनमान बनाइनुपर्छ । संगठनलाई पुनःजिवन दिनुपर्छ । संगठनलाई गफकाजीको समुह, जत्था,झुण्ड, प्रालि हैन् । कामकाजीहरुको विधि पद्धतीमा आधारित संगठन नै बनाइनुपर्छ । विद्यार्थी राजनिति अवसर नै हो तर त्यो भनेको दुनिया खोले नियुक्ती हत्याउने, ठेक्का पट्टा कब्जा गर्ने, दलानी गर्ने अवसर हैन् । यो त केबल शैक्षिक क्रान्ति मार्फत आम जनतामा समृद्धि हासिल गराउने अवसर हो । विद्यार्थी राजनिति एउटा महान अभियान हो ।

शैक्षिक क्षेत्रमा व्याप्त विकृति विरुद्धको सडकवाद हो । विभिन्न खाले परिर्वतनहरुको सम्वाहक हो । जनतामा चेतना संचार गर्ने चेतनाको गति प्रवाह हो । देश निर्माणको सवक सिकाउने आम जनताको आश र भरोसाको केन्द्रबिन्दु हो । हाम्रो विद्यार्थी आन्दोलनको मुल प्रवाहको माध्यमबाट देश दुनिया रुपान्तरण गर्ने विद्यार्थी संगठन अहिले आएर अनेकौ बहानामा आफनो काम कर्तव्य भन्दा पनि कसरी नेता बन्ने, कसलाई नेता मान्ने, कसको समुह बलियो, कसलाई कुन कमिटिमा भर्ति गर्दा आफु नेता भइन्छ भन्ने विकृत खेल दौडमा सिमित हुँदा संगठनको जिवन अस्तव्यस्त भएको पाइन्छ ।

जुन ढंगले नेपाली राजनिति अहिले मुद्धा मिल्ने बिच शक्ति एकिकरणको अभ्यास र मान्यतामा अघि बढिरहेको छ । यसरी बिचार भावना, मुद्धा, एजेन्डाहरुका आधारमा पार्टी संगठनहरु एकिकरण भए पनि यसबिचमा विभिन्न खाले प्रवृतिहरु देखा परिरहेका छन् । तर मुलत जुन उद्धेश्यका साथ एकिकृत भएका हुन सो उद्धेश्यको उपहास हुनुहुँदैन् । संगै एकताको मर्म र भावना विपरितका गतिविधिहरु ज्यादै मौलाएको पाइन्छ । गम्भिरतापुर्वक यस्ता हर्कत र प्रवृतिहरुको विरुद्ध फेरी एक पटक सचेततापुर्वक ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता खड्किएको छ । समयमै यसको समाधान खोजिएन भने यसले पार्टी संगठनकै जीवनमा ऐतिहासिक क्षति र दुष्परिणाम निम्त्याउने निश्चित छ ।
अन्त्यमा हामी लामो इतिहासको खातखातबाट निर्माण भएर अहिले सम्मको मात्राले एउटा सुनौलो मोड र परिस्थिति सम्म आइपुगेका छौ ।

अझै गन्तव्यका लागि यात्रा गरिरहेका छौ । दौडेर कोही छिटो र हिडेर कोही ढिलो हुनेवाला छैन् । वस यति हो यो महान यात्राबाट कोहि पनि नछुटिउन अविचलित ढंगबाट यात्रा अघि बढिरहोस भन्ने कामना सबैको छ । छुटिनुको पिडा र गल्ती इतिहासले हामीलाई राम्रोसंग सिकाएकै छ । त्यस कारण मतभेदलाई प्रक्रियाबाट गल्ती कमजोरीहरुलाई समिक्षा आत्म समिक्षाबाट सुधार गर्दै आन्दोलनको मुल प्रवाहको रुपमा संगठनलाई फेरी पनि अघि बढाइनुपर्छ । यता तर्फ सिङ्गो संगठन लाग्नुपर्ने आवश्यकता छ ।

अहिले व्यक्तिगत प्रतिष्ठा मानमर्यादा भन्दा पनि संगठनको भविष्य र विगतको गौरवपुर्ण विरासतलाई जोगाइ राख्नु अहिलेको मुख्य कार्यभार र चुनौती हो । हामी वर्तमान समयमा नयाँ जीवन नयाँ सोच विचार जागरण र नयाँ जीवनशैलीमा पुरानै हाम्रो सांगठनिक पद्धती लेनिनबादी संगठनात्मक पद्धती सैद्धान्तिक आधार मुल्य र मान्यतामा अघि बढ्नु पर्ने हुन्छ । जसले संगठनहरुको एकिकृत बललाई उजागर गर्न सकोस्, एकताको औचित्य थप पुष्टि हुन सकोस् ।

लेखक,  मानवहादुर गुरुङ अनेरास्वियु महेन्द्ररत्न बहुमुखी क्याम्पस कमिटी इलामका निवर्तमान अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार