सुनसान बन्दै जौबारी

  नयाँ बुलन्द
21 Shares

इलाम : दुई दशक अगाडिसम्म सयौं घोडाहरु आलु, अलैंची, मटरको कोसा, घिउ, छुर्पी आदि बोकेर लस्करै जौबारी जाने गर्दथे । त्यस्तै पाँचथरको विभिन्न थुमबाट पनि खच्चर, घोडा र मान्छेले ढाकर बोकेर आउने र नेपाली किसानले उत्पादन गरेको सामान लिन आउने भारतबाट सानो गाडी लेन्ड्लोभरले भरिन्थ्यो जौबारी । इलामकै उच्च पहाडी भेगको प्रमुख व्यापारी केन्द्र बनेको थियो जौबारी ।

इलाममै सबैभन्दा फस्टाएको बजार र भारतीय सिमासँग जोडिएको कारण किसानले उब्जाएको सबै बेच्न सकिन्ने र किसानको दैनिक उपभोग समान पाइने एक मात्र व्यापारी केन्द्र बनेको थियो । भारतीय व्यापारीहरुको बाक्लो बसोबास भएकोले नेपाली गाउँ घरमा उत्पादित कृषि बालीहरु सजिलै भारतीय बजारसम्म जाने गर्थे । सन्दकपुर गाउँपालिको जमुनाको उच्च ठाउँसँगै भारतीय सिमा जोडिएकोले विभिन्न प्राकृतिक सुन्दरता भएकोले जौबारी आफैमा पनि पर्यटनको धेरै सम्भावना बोकेको राम्रो ठाउँ हो । हिउँदमा प्राय हिउँ परिरहने हुँदा भारतलगायत अन्य देश्का बिदेशी पर्यटकहरु दार्जिलिङ हुदै जौबारी नघुमी फर्कदैनथिए ।
इलाम सदरमुकामको बिब्लयाँट्टे बजार र माईजोगमाई गाउँपालिकाको नयाँबजारमा किसानले उत्पादित कृषि बालिहरु लिने सुरसार नै थिएन । त्यसैले पनि सबै जौबारी जानै पर्ने बाध्यता थियो । त्यसो त हिउँदको समयमा गाउँघर गाडी पुग्ने ठाउँसम्म आफैं किसानले मागेको उपभोग्य सामानहरु लिएर व्यापारी आउने र किसानले उत्पादन गरेको सरसमानहरु लिएर जाने गर्दथे । इलामको सन्दकपुर गाउँपालिका र माईजोगमाईको प्रमुख बजार नै जौबारी थियो ।

माईजोगमाई ६ का भुपाल थेबेले ३ दशक जौबारी घोडा खेपे । उनले देखेको हरियो चियापत्ति बाहेक किसानले उत्पादन गरेको सबै बिक्री हुने गरेको ईतिहास सुनाउँदै अगाडि भन्छन् ‘चिसो हावापानी हिउँदको हिउँ खेल्दै घोडा खेपेको आनन्दको दिन फेरि कहिले आउला र ! अहिले त सुनसान छ भन्छ नगएको पनि ११ वर्ष बितेछ ।’ व्यापार फस्टाएकोले नेपालको छोटि भन्सार पनि त्यो समयमा राखिएको थियो । यसरी जौबारी व्यापारी केन्द्रको रुपमा राम्ररी फस्टाउँदै गएको समयमा नेपालको १० वर्षे शसत्र द्वन्द्वले जौवारीलाई पनि अछुतो राख्न सकेन । भएको प्रहरी चौकी पनि सुरक्षाको कारण देखाउँदै सदरमुकाम तानिएपछि भारतीय व्यापारीहरुले दिनगन्ती गन्दै जौबारी छोड्न थाले । बाँकी व्यापारी पनि कृषकले आफूले उत्पादित सरसमान अन्तै लान थालेकोले भएको व्यापार चल्न छोडेकोले व्यापारीहरु आ-आफ्नै ठाउँ लागेकोले हाल जौबारी प्राय सुनसान देखिन्छ ।

आठ हजार रोपनी पुरानो आलु विकासको जमिन भने हाल पुन: आलु विकासको लागि प्रयोगमा आएको छ । २५ वर्षसम्म जौबारी बसेर व्यापार गरेको जिटि लामा द्वन्द्वले उठिबास लगाएकोले सपरिवारले जौबारी छोड्न बाध्य भए । उनी हाल सिक्किमको राजधानी गान्टोकमा होटेल चलाएर बसेका छन् ।

यसरी जौबारीलाई बिर्सन थालेसँगै यहाँको व्यापार चौपट हुन थाल्यो । यसरी दिनप्रतिदिन बजार सुनसान हुन थालेसँगै किसानहरूले आफुले भने जस्तो आफ्नो समानको मूल्य पाउन छोडेको बताउँछन् । माइजोगमाई ६ का केशव लुङेली डेरी चलाउँछन् । उनले पनि जौबारी सुनसन हन थालेकोले घिउ, छुर्पीले भने जस्तो बजार पाउन छोडेको बताउँछन् । यसरी जौबारीको चहलपहल घटेसँगै बिदेशी पर्यटकहरु समेत आउन छोडेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार