बामदेव गौतमकाे खुलासा: प्रधानमन्त्री र नयाँ पार्टीकाे अध्यक्ष बन्न प्रधानमन्त्रीद्वारा प्रस्ताव

बामदेवले खोले नयाँ रहस्य

  नयाँ बुलन्द
0 Shares

नेकपा उपाध्यक्ष बामदेव गाैतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको समयमा एकले अर्को पक्षका नेताहरुलाई आफूतर्फ तान्ने प्रयास गरेका छन् । बिहीबारदेखि विवाद थप उत्कर्षमा पुगेपछि एकले अर्को पक्षका नेताहरु तान्ने प्रयास गरिरहेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीसमेत रहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वार्ता र संवादलाई निरन्तरता दिएका छन् ।

पछिल्ला संवाद र घटनाक्रम हेर्दा नेकपामा एकले अर्कोलाई गलाउनेगरी छलफल चलिरहेका छन् । तर, शुक्रबारको वार्तामा शनिबार बिहान बैठकअघि संवाद गर्ने सहमति गरेका ओली र प्रचण्डबीचको वार्ता अनिश्चित बनेको छ । शनिबार बिहान फोन गरेर प्रधानमन्त्री ओलीले सोमबारसम्मका लागि समय मागे । त्यसपछि बैठक स्थगित भयो भने प्रचण्डसँगको भेटवार्ताको समय दिउँसो ४ बजेका लागि सर्यो ।

दिउँसो चार बजे पनि ओली र प्रचण्डबीच वार्ता हुन सकेन । प्रधानमन्त्रीले आफू व्यवस्त रहेकाले भोलि अर्थात आइतबार बिहान १० बजे छलफलका लागि प्रस्ताव गरे । ओलीले शनिबार बिहानैदेखि विभिन्न पक्षसँग पार्टीको आन्तरिक विवाद र निकासका विषयमा छलफल गरेका छन् । त्यस्तै अर्का अध्यक्ष प्रचण्डले पनि वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग निवासमै छलफल गरे ।

बामदेवले खोले नयाँ रहस्य

प्रचण्डसहितको छलफलमा उपाध्यक्ष गौतमले बिहीबारपछि भएका भेटवार्ता र प्रधानमन्त्रीले गरेका प्रस्तावका बारेमा नेताहरुलाई जानकारी गराए । आफूले बालुवाटारमा ओलीसँग भेटेको र ओलीले गरेको प्रस्ताव छलफलका क्रममा गौतमले सुनाएका थिए ।

एक सचिवालय सदस्यका अनुसार गौतमले भने, ‘मलाई विभिन्न प्रस्ताव आए । योबीचमा मलाई नयाँ दलको अध्यक्ष बन्ने, अब चुनाव जितेपछि संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने प्रस्ताव पनि आयो । मेरा मान्छेलाई मन्त्री बनाउने भन्ने कुरा पनि मलाई ओलीजीले राख्नु भयो । मैले प्रधानमन्त्रीका विभिन्न प्रस्ताव सुनेँ । उहाँले मलाईमात्र होइन, पार्टी फोर्नका लागि सांसदहरुलाई पनि बोलाएर छलफल गरिरहनु भएको छ ।’

आफूले पार्टी एकताका लागि पद भन्दा पनि त्याग गरिरहेको सुनाएको जानकारी गौतमले गराएका छन् । उनले भने, ‘मैले उहाँलाई गलत कदममा साथ दिन्न भनेँ । गलत बाटोमा जान पनि मिल्दैन । पार्टी निर्णय अनुसार चल्नुपर्छ भनेर भनेँ । मैले तपाईँ अध्यक्ष भएरै पार्टी एकतामा लाग्नू पर्नेमा विभाजनमा जान लाग्नु भयो । अहिलेसम्म साथ दिएँ । अब म साथ दिन्न भनेर उठेँ ।’

प्रचण्ड नेपाल समूहले आइतबारसम्म ओलीले चाल्ने कदम र आइतबार बिहान १० बजे प्रचण्डसँग हुने वार्ताका आधारमा नयाँ रणनीति बनाउने तयारी गरेको छ । आजको मन्त्रीहरुसँगको छलफलका आधारमा कसरी अगाडि बढ्ने भन्ने निर्णयमा पुग्ने एक सचिवालय सदस्यले बताएका छन् ।

-नागरिकखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार