इभाङमा खानेपानी आयोजना मर्मतको काम तीब्र

  नयाँ बुलन्द
0 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका २ इभाङमा संचालित युनिसेफ खानेपानी योजनाको मर्मत कार्य तीब्र पारिएको छ ।

माङसेबुङ गाउँपालिका २ र ३ को सिमानामा रहेको तामाखोला मुहानबाट माङसेबुङ २ को साविक इभाङ १, २ र ३ मा संचालित योजना मर्मतको काम तीब्र पारिएको हो ।

योजना अन्तरगत माङसेबुङ गाउँपालिका २ नम्बर वडा कार्यालय नजिकै एउटा ४० हजार लिटर क्षमताको रिजर्भ ट्याङ्की निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सो ट्याङ्कीको स्ल्याब ढलानो काम सकिएको र फिनिसङ गर्न मात्र बाँकी रहेको उपभोक्ता समितिका अध्यक्ष तिलकबहादुर कार्कीले जानकारी दिए । त्यस्तै अर्को साविक इभाङ २ र ३ को सीमानमा २५ हजार लिटर क्षमताको ट्याङ्की निर्माणाधीन छ । सो ट्याङ्कीको भुँइ ढलानको काम भइरहेको छ । योजना अन्तरगत २ किलोमिटर पाइपलाइन मर्मत समेत गरिने उपभोक्ता समितिका अध्यक्ष कार्कीले नयाँ बुलन्दलाई जानकारी दिए ।

निरन्तरको वर्षातको कारण काममा अवरोध भएपनि सम्झौता मिति भन्दा अगाडि नै काम सम्पन्न गरिने अध्यक्ष कार्कीले बताए ।

सो योजना मर्मतका लागि माङसेबुङ गाउँपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति, कार्यक्रम तथा बजेटबाट गाउँपालिकाले १४ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेको थियो ।

पुरानो योजना जीर्ण भएर खानेपानीमा समस्या भएपछि गाउँपालिकासँग योजना माग गरी योजना मर्मत सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष तिलकबहादुर कार्कीले जानकारी दिए ।

सो योजना मर्मतपछि त्यहाँका करिब २ सय बढी घरधुरी लाभान्वित हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार