माङसेबुङको इभाङमा अन्तरराष्ट्रिय फूटबल खेलमैदान निर्माण सुरु

  बालकृष्ण बस्‍नेत  568 पटक हेरिएको

माङसेबुङ : ईलामको माङसेबुङ गाउँपालिका २ स्थित ईभाङमा अन्तर्राष्ट्रिय मापदण्डको फूटबल खेलमैदान निर्माण सुरु भएको छ ।

स्थानीय रेडस्टार क्लबको आयोजनामा बरबोटे टोलमा करिब १६ रोपनी क्षेत्रफलमा ‘रेडस्टार खैलमैदान’ निर्माण सुरु भएको हो ।

हालसम्म मापदण्डको कुनै खेलमैदान नरहेको त्यस क्षेत्रमा खेलमैदान निर्माण सुरु हुनु सिङ्गो गाउँपालिकाको गर्वको कुरा भएको वडाअध्यक्ष पुष्पराज कार्की बताउँछन् ।

माङसेबुङ गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६।०७७ को ५ लाख रुपैयाँको लगानीमा खेलमैदान निर्माण सुरु गरिएको हो । रेडस्टार क्लबको अगुवाईमा जग्गाको व्यवस्थापन गरी खेलमैदान निर्माणको काम सुरु गरिएको क्लबका अध्यक्ष मदन राईले जानकारी दिए ।

यस वर्ष खेलमैदान निर्माण प्रारम्भ गरिएपनि सम्बन्धित निकायसँग बजेटा माग गरेर तथा समाजसेवीहरुबाट समेत रकम संकलन गरेर चाँडै पूर्णता दिने अध्यक्ष राईले बताए ।

खेल मैदान निर्माणका लागि सहयोग गर्न स्वदेशका विभिन्न संघसंस्था तथा विदेशमा रहेका संघसंस्थाहरुलाई समेत अपिल गरिएको क्लबका सचिव हरि राईले बताए ।

आगामी वर्षको बजेटबाट थप रकम विनियोजन गरी अन्तरराष्ट्रिय मापदण्डको खेलमैदानमा विशेष पहल रहने गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले यसअघि नै प्रतिवद्धता जनाइसकेका छन् ।

खेलमैदान निर्माणपश्चात अन्तरास्ट्रिय स्तरको विभिन्न प्रतियोगिता आयोजना गर्ने लक्ष्य रेडस्टार क्लबको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार