माङसेबुङका विपन्‍नलाई अनुदानमा बंगुर र बाख्रा वितरण

  नयाँ बुलन्द  249 पटक हेरिएको

माङसेबुङ विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाका गरिब तथा विपन्नलाई अनुदानमा बंगुर र बाख्रा वितरण गरिएको छ ।

गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तरर्गत माङसेबुङ गाउँपालिकाको वडा नम्बर २ मा गठित गरिब तथा विपन्न परिवारको समूहलाई २५ वटा बंगुर र १५ बाख्राको पाठी वितरण गरिएको हो ।

वडा नम्बर २ को डोलटार र चारसुरेमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी बंगुर र बाख्रा वितरण गरिएको थियो । यसका लागि गाउँपालिकाले २ लाख ३५ बढी खर्च गरेको छ ।

वडा नम्बर २ का वडाअध्यक्ष पुष्पराज कार्की, वडा सदस्य राममाया लिम्बू (राई), वडा सदस्य बलवीर इदिङ्गोलगायतको उपस्थितीमा विपन्न परिवारको समूहलाई बंगुर र बाख्रा वितरण गरिएको सामाजिक परिचालक सरिता लिङदमले जानकारी दिइन् ।

अनुदानमा दिइएको बंगुर र बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै वडा अध्यक्ष पुष्पराज कार्कीले बंगुर र बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गरे ।

गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तरर्गत सो वडामा गरिब तथा विपन्नहरुको १५ वटा समूह गठन भएका छन् । १० देखि १५ जनासम्म गरिब तथा विपन्न सम्मिलित समूह १० वटा र २० जनासम्म गरिब तथा विपन्न सम्मिलित समूह ५ वटा गठन भएका छन् ।

कार्यक्रम अन्तरगत १० देखि १५ जनासम्म गरिब तथा विपन्न सम्मिलित १० वटा समूहलाई प्रतिसमूह एउटा बंगुर र एउटा बाख्राका दरले १० वटा बंगुर र १० वटा बाख्रा वितरण गरिएको छ । त्यस्तै १६ देखि २० जनासम्म गरिब तथा विपन्न सम्मिलित ५ वटा समूहलाई प्रतिसमूह २ वटा बंगुर र एउटा बाख्राका दरले १० वटा बंगुर र ५ वटा बाख्रा वितरण गरिएको छ । त्यसैगरी तीनै समूहमा सम्मिलित अपांगता भएका ५ जनालाई व्यक्तिगत रुपमा ५ वटा बंगुर वितरण गरिएको छ ।

समूहको मागका आधारमा बंगुर र बाख्राको संख्या निर्धारण गरि वितरण गरिएको सामाजिक परिचालक लिङदमले जानकारी दिइन् ।

बंगुर र बाख्राको पाठी पाउँदा किसानहरु खुशी भएका छन् । उनीहरुले व्यावसायिक ढंगले बंगुर र बाख्रापालन गरी आम्दानी बढाई जीवनस्तर माथि उकास्न लागिपर्ने प्रतिक्रिया दिएका छन् ।

माङसेबुङ गाउँपालिकामा चालू आर्थिक वर्षदेखि गरिबसँग विश्वेश्वर कार्यक्रम संचालन भइरहेको छ । कार्यक्रम अन्तरर्गत गरिब तथा विपन्न परिवारलाई आयआर्जनको लागि विभिन्न आयमुलक कार्यक्रम संचालन गरिदैं आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार