अविरल बगिरहेछ निभुखोला । मास्तिर थोकुवाको पटेर जङगल । त्यहि जङ्गल बीच एउटा ढूलो ढुङ्गालाई टाढैबाट देखिन्छ । ढुङ्गामा छ दुई वटा ठूला खोपिल्टो । खोपिल्टोमा टम्म भरिएको पानी । यो बाह्रैमास सुक्दैन । बन्य जीव जन्तुहरूको पानी खाने ठाउँ ।
धेरैवर्ष अघिको कुरा हो । यो ढुङगाको खोपिल्टोमा एउटा घटना घट्यो । शिकार खेल्न गएका माइती फाक्सारा फर्केर नआएपछि आफ्ना माइतीलाई खोज्दै हिडेकी सिमसारा नाम गरेकी एउटी युवती यस ठाउँमा आइ पुगिन । चैत वैशाखतिरको उखर्माउलो गर्मी । तिर्खाले ब्याकुल भएकी सिमसाराले ढुङ्गाको खोपिल्टोको पानी धीत मेटिन्जेल पिइन । दुवै खोपिल्टोको पानी रित्याइन अनि लामो सास तानेर ढुङ्गामाथि सुसेल्दै थकाइ मार्न बसिन ।
सिमसाराले पानी ठानेर पिएकी वास्तबमा त्यो पानी थिएन, एउटा खोपिल्टोमा बाघ अनि अर्को खोपिल्टोमा मान्छेको मूत्र थियो । सिमसारा आइपुग्न अघि एउटा खोपिल्टोको पानी बाघले खाएर त्यैमा पिसाब गरेको थियो । बाघको पिछा गर्दै हिडेका शिकारी मान्छेले अर्को खोपिल्टोको पानी पिएर त्यसैमा पिसाब फेरेर गएको थियो ।
ढुङ्गाको खोपिल्टोहरूमा के तत्व थियो कुन्नि? मूत्रसँग वीर्यक्षरण भएको सुक्राणुहरू जीवित थिए । ती स्क्राणुहरूले सिमसाराको गर्भमा ठाउँ पाए ।
सिमसारा थाकेकी थिइन । ढुङ्गामा शरीर विसाइन । जसरी पानीले प्यास बुझाइन,त्यसरी नै हावाबाट शरीरका थकान मेटाउन चाहिन । हावा सिरिरी चल्न थाल्यो । हावाको गतिसँगै आँखा बन्द गरेकी सिमसारा भुसुक्क निदाइन ।
माफारा डाँडामा छ घाम । त्यो पनि उड्दै गरेको एक टुक्रा वादलभित्र हराउँछ । दिन ढल्छ रात पर्छ । सिमसारालाई निन्द्राले छाडेको छैन । मस्तसँग निदाइकी छे ढुङ्गा माथि ।
आकाशमा मेन्छ्या फुत्लुम ताराहरू देखिए । विस्तारै पृथ्वीमा उज्यालो छरिए । जङ्गलका लुइचे चराहरू खुशी भएर बास्न थाले । ढुङगा माथि सुति रहेकी सिमसाराले आँखा खोलिन । बल्ल थाहा पाइन दिउँसो आएर यहाँ पानी पिएको कुरा । तर पनि सिमसारालाई उठ्न मन लागेन ।
माफारा डाँडामा घाम झुल्कियो । चराहरू यता उता उड्न लागे । तल निभुखोला बगेको मधुरो आवाज कहिलेकाहीँ कानमा गुन्जिनु आइ पुग्थ्यो । सिमसारा उठेर टुक्रुक्क बसिन । अघिल्तिरको खोपिल्टो हेरेर वाक्क वाक्क गर्न थालिन । ढुङ्गाबाट ओर्लिन र औलाले माटो कोट्याएर चाखिन । अमिलो,टर्रो, पिरो खोज्दै उकालो लागिन । सिमसाराको घर माफारा डाँडा पूर्वपट्टीको गाउँमा थियो । आजसम्म गाउँलाई सिमसारा नामले चिनिन्छ । यिनी सानी छदा आमा-बाबू मरेकाले घरमा कोइ थिएन ।
सिमसारा हेलाङ भन्ने ठाउँमा बस्न थालिन । त्यहिँ कन्दमुल पोलेर कहिले उसिनेर खाइन । जङगलभरि लट्टरम फलेका फलहरू टिपेर स्वाद चाखिन । सिस्नुको दाउनले छाक टारिन ।
सिमसाराले गर्भ धारण गरेको नौ महिना पुग्यो । कुनै पुरषसँग शारीरिक सम्पर्क नराखी जुम्ल्याहा सन्तानका आमा बनिन । यिनको कोखबाट बाघपुत्र र मानवपुत्र जन्मिए। सिमसाराले बाघपुत्रलाई केसामी र मानवपुत्रलाई नामसामी भनी बोलाइन । दुवैले एकै आमाको दूध पिएर बढे । तर जति ठूला भए एकले अर्कोलाई मन पराउन छाडे ।
आमा सिमसाराले नामसामी औलतिर गएको समय केसामीलाई लेकतिर शिकारमा पठाउने गर्थिन ।
केसामीका दाँत तिखा थिए, नङ्ग्रा लामा पलाए । जङ्गलमा शिकार मारेर खान सक्ने भए । नामसामीले पनि मलिबासको धनुकाँड बनाइ चलाउन सिके । एकदिन नाम्सामीले आमालाई भन्यो ‘– आमा ! दाजु केसामीले मलाई खानु खोजिरहेको छ। म जुनबाटो जङगल जादैछु त्यही बाटो बताइदिनुहोस है ।‘
सिमसारा अकमक्क परिन । आमाको उत्तर नपर्खि नामसामी औलतर्फ लाग्यो अनि फाक्तेप नजिक निभुखोलाको पाखोमा एउटा ठूलो सिमलको रूखमा चडेर सबैभन्दा माथिल्लो हाँगोमा बस्यो ।
केहीबेरमा केसामी घरमा आइपुग्यो अनि सधैजस्तो नाम्सामीलाई खान्छु भन्दै खोज्न लाग्यो । यसपल्ट भने सिमसाराले केसामीलाई ढाँटिन, नामसामी गएको दिशा हातले देखाइ दिइन । केसामी उफ्रन्दै त्यतैतिर लाग्यो ।
मान्छेको गन्ध सुँध्दै केसामी ठूलो सिमलको रूखको फेदमा पुग्यो । रूखको माथि हाँगोमा नामसामी लुकेर बसेको देख्यो अनि त्यो सिमलको रूखमा चड्न थाल्यो । नामसामीले केसामीलाई काँडले हान्यो । केसामी चलाक थियो, नामसामीले जतिखेप काँड हान्थ्यो त्यो सिमलको हाँगोमा आड लागेर जोगिहाल्थ्यो । काँडलाई छलेर केसामी नामसामीको नजिक पुग्यो । नामसामीसँग एउटा मात्र काँड उब्रेको थियो । नामसामीलाई खान भनी केसामीले मुख खोलेर झम्टियो, त्यही मौकामा नामसामीले केसामीको मुखभित्र काँड हानि पठायो । काँडले केसामीको मुटु छेडयो र त्यो सिमलका हाँगोहरूमा बजारिन्दै तल भुइँमा झरयो । केसामी बजारिन्दा सिमलका हाँगोहरू भाचिए । यसकारण सिमल रूखको एक पट्टीका हाँगो हुदैन भन्ने जन विश्वास गाउँ घरमा अझै छ ।
भुइँमा झरेको केसामी चटपटाएन । केसामीको नाख मुख आँखामा हरियो झिङ्गाहरू भन्किए । नामसामीलाई केसामी मरेको विश्वास भयो । तिनी सिमलको रूखदेखि ओर्लिए र घर गए ।
घरमा आमा सिमसाराले एउटा चिन्डोमा केसामीको नाममा अन्दङ फुङ (बाबारी फूल) र अर्को चिन्डोमा नामसामीको नाममा सेकमारी फुङ (सिल्लरी फूल)-को कलश बनाएकी थिइन । कलशमा अन्दङ फुङ ओइलाएको देखिन । केसामीको मृत्यु भएको थाहा पाइन ।
आमा सिमसाराले नामसामीलाई अराइन-‘ केसामी पनि मेरो कोखबाट जन्मिएको हुनाले तिमीले युमसा (नुन-मासु) खानुको लागि केसामीको छाला भोटमा लगेर नुन साटेर ल्याउनु ।‘
नामसामीले केसामीको छाला काडेर निभुखोलाका ढुङ्गामा सुकाउदा सुकेन । घोचा गाडेर त्यसमा छाला टागेर सुकाउदा पनि छाला नसुकेपछि माथि माफारा डाँडामा लगेर सुकाउदा बल्ल छाला सुक्यो । केसामीको छाला सुकेको माफारा डाँडालाई हिजोआज छालासुकुवा डाँडा भनिन्छ । त्यसपछि नामसामीले छाला भोटतिर लगेर नुन साटेर ल्याइवरी नुन र लुइचेको मासु (युमसा) आमासँग मागेर खाए । हिजो- आज नामसामीको सन्तानहरूले पुरूषको मृत्यु भए चार दिनमा अनि स्त्रीको मृत्यु भए तीन दिनमा तुत्तु तुम्याहाङसँग युमसा(नुनमासु) मागेर खाने गर्दछन ।
अविरल बगिरहेको छ निभुखोला । मास्तिर ठोकुवाको पटेर जङ्गल मासिए, ठूलो ढुङ्गामा दुई वटा खोपिल्टो भने यथावत छ । माफारा डाँडामा केसामीको छाला सुकाउनलाई नामसामीले ढुङ्गामा खुटि गाडेको सात वटा टोड्काहरू छदैछन । तल फाक्तेपको सिमलको रूख चाहीँ वर्षौं अघिको पहिरोले लग्यो । नामसामीको सन्तानहरू पहाड, मधेस चारैतिर फैलिएका छन । तर उनीहरूका पूर्खाको धरोहर लिम्बुवान अन्तर्गत फाल्गुनन्द गाउँपालिकामा वर्षौदेखि अलपत्र छन ।