सरकारको ‘सहयात्री’

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : सरकारको ‘सहयात्री’को आरोप खेपिरहेको नेपाली कांग्रेसको भूमिका संकटको समयमा समेत उस्तै देखिएको जनगुनासो छ ।

सरकारी अनुदारवादी शैली र अपारदर्शी व्यवहारमा समेत जनता स्वतः सडकमा उत्रिँदासमेत कांग्रेसले आन्दोलनको स्वामित्व लिएर सरकारी स्वेच्छाचारीताविरुद्धको खबरदारीलाई प्रभावकारी बनाउन सकेन ।

जनताले संसद र सडकमा सत्तालाई खबरदारी गर्ने अधिकार कांग्रेसलाई दिएका हुन् ।

तर, कोरोना महामारीका कारण उत्पन्न स्वास्थ्य संकटका बेला सरकार भ्रष्ट बनेको भन्दै जनता स्वतःस्फूर्त ‘इनफ इज इनफ’को नारका साथ सडकमा ओर्लंदा प्रतिपक्षीको रचनात्मक भूमिका खेल्नुपर्ने कांग्रेसको खोजी हुन थालेको छ ।

लाचार सत्तासहयात्रीको भूमिकामात्र रहेको विश्लेषण भइरहँदा कांग्रेस भने पार्टी कार्यालय सानेपामा बैठक बस्ने र केहीथान विज्ञप्ति निकाल्नमै सीमित भयो ।

अझ एकाध सांसदहरुले सरकारविरुद्ध आक्रामक भाषण गर्नुबाहेक संसदमा कांग्रेसले प्रतिपक्षी भूमिका निर्वाह गर्न सकेको छैन ।

सडकमा निस्किएका जनताको चर्को विरोधले बालुवाटार हल्लिएपनि प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएको दाबी गर्ने कांग्रेसका गतिविधिले सरकारलाई खासै प्रभाव नपारेको राजनीतिक विश्लेषक लोकराज बरालको बुझाइ छ ।

कांग्रेसले निकालेको विज्ञप्ति र देश तथा विदेशका १०० भन्दा बढी ठाउँबाट आएको ज्ञापनपत्रले सरकार अलिकति पनि टसमस भएको छैन । न त संसदमा प्रस्तुत हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीको भाषणमा ती विज्ञप्तिको असर नै देखिन्छ ।

तर, सहमहामन्त्री र पार्टी प्रवक्ता भने को अगाडि बोल्ने होडबाजीमा छन् । कांग्रेसका शुभेच्छुकहरुले भनेजस्तै शीर्ष नेतृत्वको मौनताले नै कांग्रेसको भूमिका कमजोर भएको छ । तर, कांग्रेसका जिम्मेवार पदाधीकारीहरु भने सरकारको अकर्मण्यता बढिरहे चाँडै सडकमा निस्किन पछि नपर्ने दाबी गर्छन् । हो, युवाहरुलाई सडकमा उतारेर कांग्रेसले आफ्नो उपस्थिति देखाउन खोजेजस्तो देखिएपनि त्यो पर्याप्त छैन ।

संकटमा मौलाएको भ्रष्टाचार, ‘क्वारेन्टिन’ व्यवस्थापन र स्वास्थ्य सामग्रीको सहज पहुँचलगायत जनस्वास्थ्यको विषयमा कांग्रेसको बोली सरकारले सुनेको छैन ।

सत्तासाझेदारको रुपमा कांग्रेसले भूमिका खेल्नाले यस्तो परिस्थितिको सिर्जना भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार