वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन इलाममा सुरक्षित आप्रवासन परियोजना सञ्चालनमा

  नयाँ बुलन्द
7 Shares

इलाम : वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने मुख्य उद्येश्यका साथ इलामका चार स्थानीय तहमा सुरक्षित आप्रावासन परियोजना सञ्चालनमा रहेको छ ।

गत मंसिरबाट सुरु भएको यो परियोजना जिल्लाको इलामनगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका र माङसेबुङ्ग गाउँपालिकामा सञ्चालन भइरहेको छ ।

वैदैशिक रोजगारीमा जान तयारी र रोजगारीपछी स्वदेश फर्केका युवाको आप्रवासन अधिकार सुनिश्चित कसरी गर्न सकिन्छ भनेर परियोजनाले काम गर्दै आएको छ ।

परियोजनाका इलाम जिल्ला संयोजक इश्वरी तामाङले परियोजना अन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि सुरक्षित वैदेशिक रोजगार परामर्श कार्यक्रम, कानुनी सेवा र फर्केका युवाका लागि सामाजिक पुर्नस्थापना कार्यक्रम गर्दै आएको बताए ।

सुरक्षित आप्रवासन सम्बन्धी सूचना दिने र सूचनाको पहुँच अभिवृद्धि गर्न सूचना तथा परामर्श केन्द्र सञ्चालमा छ ।

वैदेशिक रोजगारीबाट पीडित र बिरामी भइ फर्केका कामदारको न्यायको पहुँच बढाउन सहजीकरण गर्दै न्यायिक सहयोगमा पनि काम गदै आइरहेको तामाङको भनाई छ । वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई व्यवसायिक सीप र तालिम दिलाउने काम पनि परियोजनामार्फत भइरहेको बताइएको छ ।

परियोजनाले सुरक्षित आप्रवासनका लागि कानुनी सहायता, तालिम, क्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्शलगायतका क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।

यसै क्रममा इलाम जिल्लामा सञ्चालन भइरहेको परियोजनाको बारेमा आज सदरमुकाममा पत्रकारहरुलाई जानकारी गराइएको छ । कार्यक्रममा परियोजना अन्तर्गत आप्रावासी श्रोत केन्द्रकी कर्मचारी कल्पना थापाले बैदेशिक रोजगारीका क्रममा धेरै मानिसहरु ठगिने समस्याहरु बढ्दो क्रममा रहेको बताईन ।

मेनपावर तथा एजेन्ट मार्फत ठगिएको गुनासो आफूहरु समक्ष आउने गरेको जनाउँदै त्यस्ता कतिपय समस्याहरु प्रियोजना मार्फत समाधान गरेको उनको भनाई छ ।

कार्यक्रममा परियोजना अन्तर्गत इलाम नगरपालिकाकी वित्तीय साक्षरता सहजकर्ता निलिमा भट्टराईले वैदेशिक रोजगारबाट आएको रकमको सदुपयोग भन्दापनि बढि दुरुपयोग हुने गरेको पाइएकाले त्यसलाई मध्यनजर गरेर आम्दानी, खर्च, बचत र लगाानी, बिमा र ऋण सम्बन्धिको बारेमा सचेतना जगाउने गरेको बताइन ।

कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेलले भरसक स्वदेशमै बसेर रोजगार गर्न युवाहरुलाई आग्रह गर्दै उहाँले बैदेशिक रोजगारीमा जानु नै पर्ने भए सबै कुरा बुझेर र सिपमूलक तालिमहरु लिएर मात्र जानु पर्नेमा जोड दिए  ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ इलाम शाखाकी अध्यक्ष कोकिला ढकाल, मनोसामाजिक परामर्शकर्ता कल्पना गजमेर लगायतले पनि आ आफनो धारणा राखेका थिए   ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार