नगरको सडक हिलाम्य, नागरिकलाई सास्ती (भिडियो सहित)

  नयाँ बुलन्द  332 पटक हेरिएको

इलाम : इलाम सदरमुकामबाट बिब्लयाँटे-जस्बिरे हुँदै जिल्लाको धार्मिक पर्यटकीय स्थल माईपोखरी र सन्दकपुर गाउँपालिका जाने सडक हिलाम्य हुँदा नागरिकलाई आवतजावतमा सास्ती हुने गरेको छ ।

संघीय, प्रदेश र स्थानीयका जनप्रतिनिधिबाट सधैं उपेक्षामा पर्ने गरेकाले उक्त सडक वर्षा सुरु हुनसाथ हिलाम्य हुँदा नागरिकले सास्ती खेप्नु परेको हो । इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकामा पर्ने सो सडकको इलाम नगरपालिका खण्डको जस्बिरेसम्म दर्दनाक बनेको छ ।

सन्दकपुर गाउँपालिकाबाट इलाम सदरमुकाम आउने र सदरमुकामबाट माईपोखरी र सन्दकपुर जानका लागि यही सडक भएर जाने क्रममा यात्रुहरु शरीरभरि हिलाम्य भएर जाने गर्दछन् ।

सो सडक कालोपत्रेका लागि कटिङ र ग्रेडिङ गरेर छाडिएकाले सडक हिलाम्य भएको छ । कटिङ गरेर ग्राबेल नगरी त्यसै छाडिएकाले झनै समस्या आएको हो ।

हिलाम्ये सडकले सवारी आजवत जावतमा सास्ती भएको जनस्तरबाट समेत गुनासो आइरहेको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले बताए । ‘अहिले बाटो बिग्रिएको राम्रो बन्नकै लागि हो । यसलाई चाँडो सहज बनाउने गरी काम गर्न निर्माण व्यवसायीलाई अनुरोध गरिरहेका छौं’ अध्यक्ष राईले भने, ‘कम्तीमा ग्राबेलको काम गर्‍यो भने पनि सहज हुन्छ ।’

स्थानीय सरकार आएको ३ वर्षमा पनि धेरै ठाउँमा नयाँ सडक निर्माण भएका छन् भने, धेरै ठाउँका अधुरा अपुरा सडकको स्तरोन्नति भएको छ । तर नगरक्षेत्रबाट माईपोखरी जाने सो सडकको अवस्था दर्दनाक छ । सरोकारवालाको ध्यान भने सडकमा पुग्न नसकेको कतिपयको गुनासो छ ।

विकास समृद्धिमा ठूलो उपलब्धि हासिल गर्ने सपना बाँडेका जनप्रतिनिधिले ३ वर्ष पुग्दासमेत सडकको अवस्था नफेरिएकोप्रति स्थानीयले दुःखेसो समेत पोखेका छन् ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार