परदेशीको पीडा

  नयाँ बुलन्द  91 पटक हेरिएको

काठमाडौं : कोरोना महामारी फैलिएपछि विभिन्न देशबाट स्वदेश फर्कन चाहने नेपालीहरुलाई सरकारले उद्धार गर्न थालेको छ । शुक्रबार एकैदिन पहिलो चरणमा म्यानमार र युएईबाट २०० भन्दा बढीलाई सरकारले स्वदेश फर्काएको हो । सरकारले तोकेको प्रावधानअनुसार पहिलो चरणमा नेपाल फर्केकाहरु अधिकांश कोरोनाका कारण रोजगारी गुमाएकाहरु छन् ।

त्यतिमात्र नभइ उनीहरुसँगै विदेशी भूमिमा विगत केही महिना प्राण त्यागेका व्यक्तिको शव पनि सँगै ल्याइएको छ । फर्काइएकाहरुमध्ये अधिकांश ‘आरडीटी’ परीक्षण गरी ल्याइएका हुन् भने केहीको ‘पीसीआर टेस्ट’को ‘रिपोर्ट नेगेटिभ’ आएपछि स्वदेश फर्काइएको हो ।

विदेशमा रोजगारी गुमाएर खानबाटै वञ्चित भएपछि सरकारसँग हारगुहार गरी आएकाहरु खुसी देखिन्नन् । आफ्नै माटोमा फर्किएपनि विदेशिनेक्रममा लागेको ऋण र भविष्यको चिन्ता छ, उनीहरुलाई । नेपाली सेनाले प्रदेशअनुसार छुट्याइको सवारी–साधनमा राख्नेक्रममा व्यवस्थापन र पूर्वसूचना नहुँदा भने विमानस्थलमा केहीबेर अलमल भएको थियो ।

चार महिनाअघिमात्रै युएई पुगेका एक युवा केही उपलब्धि हासिल गर्न नपाएको भन्दै दुःखी छन् । विमानस्थलबाट तीन घन्टाको समयपछि ‘होल्डिङ एरिया’सम्म पुर्‍याउँदा सरकारको प्रतिनिधिकोरुपमा भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्याल सँगै थिइन् ।

होल्डिङ सेन्टरमा पुगेर स्वदेश फर्किइसकेकाले अब नआत्तिन मन्त्री अर्यालले दिएको हौसलाले वैदेशिक रोजगारीमा गएकाहरु केही हदसम्म खुसी नै थिए । तर, परिवारको अपेक्षा पूरा नगरी मानसिक तनाव लिएर फर्किएका युवाहरुले मन्त्रीको आश्वासनलाई नियालिरहेका थिए ।

उता, प्रदेश–५ र वाग्मती प्रदेशमा पनि सामाजिक दूरी कायम गरी चेकजाँच गरी केहीबेर ‘होल्ड’ गरी सम्बन्धित जिल्लामा पठाइएको थियो । यद्यपि, वाग्मती प्रदेशका ३७ जनालाई भने सामान्य चेकजाँचपछि ‘होम क्वारेन्टाइन’मा बस्ने शर्तमा परिवारको जिम्मा लगाइयो । सरकारले ढिलो नै भएपनि स्वदेश फर्काउने व्यवस्था गरेकोमा मन अमिलो पारेर भएपनि स्वदेश फर्किएकाहरु परिवार र आफन्तसँग भेट्न पाउने आशमा खुसी नै भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार