अनलाईन मिडिया समूहद्वारा सांसद कार्कीको निन्दा

विराटनगर : कोरोना भाइरहको महामारीको कारण संकटमा रहेका सञ्चार माध्यमलाई प्रदेश सरकारले दिएको कोरोना सचेतना सन्देशको बारेमा गलत प्रचार गरी भ्रम सिर्जना गर्न खोजेको भन्दै अनलाईन मिडिया समूह मोरङले नेपाली काँग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीको निन्दा गरेको छ ।

स्वरोजगारमूलक सञ्चार माध्यमलाई प्रदेश सरकारले कोरोना महामारीबाट उत्पन्न संकटको अवस्थामा सन्देशमुलक सूचना दिई सहयोग गरेको विषयलाई लिएर संसदबाटै मिडियाप्रति भ्रम फैलाएको जनाउँदै समूहका अध्यक्ष तेजेन्द्र भण्डारी र सचिब पुष्पराज थपलियाले कार्कीको निन्दा गरेका हुन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले संकटको बेलामा अग्रपंक्तिमा खटिएर सूचना प्रबाह गरिरहेका नेपाली सञ्चार माध्यमप्रति नेपाली काँग्रेसको संस्थागत धारणा सार्वजनिक गर्नसमेत माग गरेका छन् ।  विज्ञप्तिमा प्रदेश सरकारले कोरोना सचेतना सन्देश फैलाएवापत दिएको रकम जायज भएको दावीसहित थप प्रदेश सरकारलाई अभाारसमेत व्यक्त गरेका छन् । समूहका अध्यक्ष भण्डारीले कार्कीको यस्तै रबैया रहे उनलाई सम्पूर्ण मिडियाले बहिष्कार गर्ने अवस्था आउनसक्ने चेतावनी दिएका छन् ।

यसैबीच नेपाल पत्रकार महासंघ १ नं। प्रदेश समितिले पनि एक विज्ञप्ति जारी गर्दै स्वरोजगारमुलक मिडियाको संरक्षण र सम्बद्र्धन गर्न माग गरेको छ । सरकारले महासंघमार्फत दिएको कोरोना सचेतना सन्देशको विषयमा गलत प्रचारबाजी गर्दै सञ्चारकर्मी र सञ्चार माध्यमलाई अपमान गर्ने प्रयास भएको भन्दै महासंघले प्रदेश सरकारको कोरोना जनसुरक्षा कोषको कार्यबिधि अनुसार प्राप्त भएको रकम तोकिएको मापदण्ड अनुसार पारदर्शी रुपमा वितरण गरिएको जनाएको छ ।

कोरोना भाइरसबाट जोगिने उपायबारेको सन्देश प्रकाशन र प्रशारण गर्नेगरी १ नं। प्रदेश सरकारले नेपाल पत्रकार महासंघ १ नं। प्रदेश समितिमार्फत रकम उपलब्ध गराएको छ । उक्त रकम प्रदेशका ११६ सञ्चार माध्यमलाई वितरण गरिसकिएको र अन्यलाई वितरण गर्ने प्रक्रियामा पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुईटेलले जानकारी दिए ।

जोखिमको अवस्थामा सरकारले उद्योगी व्यापारीदेखि नागरिकसम्मलाई सरकारले राहतको प्याकेज दिएको बेला प्रदेशका पत्रकार आफैंले दुःखकष्ट गरी सञ्चालन गरेका सञ्चारमाध्यमले राहतकै रुपमा विज्ञापन पाउँदा त्यसको गलत प्रचारबाजी नगर्न महासंघले आग्रहसमेत गरेको छ ।

महासंघले सरकारसँग पत्रकार र सञ्चार माध्यमका लागि राहत प्याकेज, सञ्चार साधन खरिद र विद्युत महशुलमा छुट, समानुपातिक विज्ञापन वितरण, स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यममा वितरण, श्रमजीवी पत्रकारको पेशागत र भौतिक सुरक्षा एवं वृत्ति विकाससहित पत्रकार महासंघको संस्थागत सबलिकरणमा सहयोग गर्न सरकारलाई आग्रह गर्दै प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा त्यसलाई समेट्न माग गरेको छ ।

यसै बिच प्रेस संगठन १ नंबर प्रदेश समितिले पनि विज्ञप्ति प्रकाशित गर्दै स्वरोजगारमुलक मिडियालाई दिइएको सहयोग प्रति नेपाली कांग्रेस प्रदेश १ का सचेतक केदार कार्कीको भनाई प्रती आपत्ती जनाएको छ ।

समितिले स्वरोजगारमुलक मिडियालाई प्रवर्दन गरेको विषयमा अर्नगल प्रचार नगर्न चेतावनी समेत दिएको छ । संयोजक राजन केडी र सहसंयोजक गणेश पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गरेको सो विज्ञप्तिमा यो विषयमा अनावस्यक रुपमा प्रचार नगर्न पनि आग्रह गरिएको छ ।

साथै सरकारलाई श्रमजिवि पत्रकार र स्वरोजगारमुलक मिडियाको प्रवर्दन विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार