संस्कृत पढाउने निर्णय फिर्ता लिन चुम्लुङको माग

काठमाडौं : किरात याक्थुङ चुम्लुङले कक्षा १ देखि संस्कृत भाषा पठन-पाठन गराउने निर्णयको विरोध गरेको छ । चुम्लुङले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै यसै शैक्षिक सत्रदेखि पठनपाठन आरम्भ गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चुम्लुङका अध्यक्ष योगराज लिम्बू वनेमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान, २०७२ (धारा ३१.५)ले प्रत्याभूत गरेको र राष्ट्रिय शिक्षा नीति, २०७६ (नीति १०.८) ले व्यवस्था गरे अनुसार मातृभाषाहरुमा पठनपाठनको सुव्यवस्थाका लागि पाठ्यपुस्तक र शिक्षकको प्रबन्ध गर्नुको बदलामा तिनलाई विस्थापन गर्दै मातृभाषी विद्यार्थीहरुले खस नेपाली सिक्नकै लागि झेलिरहेको समस्यामाथि जटिल सिकाइ समस्या थप्न र उनीहरुलाई पढाइबाट नै विमुख गर्न शास्त्रीय संस्कृत भाषा कक्षा १ देखि नै पढाउने सरकारको योजनाप्रति किरात याक्थुङ चुम्लुङ घोर आपत्ति प्रकट गर्दछ ।’

चुम्लुङले अहिले हाम्रो देशमा संस्कृत मातृभाषा भएको जनसङ्ख्या नभएकाले संस्कृत भाषालाई कक्षा १ देखि जबरजस्त पठनपाठन गराउनाले सामाजिक न्याय र सामाजिक सद्भाव समेतमा खलल पुग्ने सम्भावना भएकाले यसलाई फिर्ता लिन सम्बन्धित निकायसँग माग गरेको छ ।

चुम्लुङले वित्तप्तीमार्फत नेपालको संविधान, २०७२, राष्ट्रिय शिक्षा नीति, २०७६, शिक्षा ऐन २०२८ (संशोधन २०७५), अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि नं. १६९, आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र, २००७ को भावना बमोजिम नेपालमा बोलिने नेपाल उद्भवका लिम्बूभाषा लगायतका सबै मातृभाषाहरुको पाठ्यक्रम, पाठ्यपुस्तक तयार गर्नु गराउनुका साथै शिक्षक कोटाको व्यवस्था गरी मातृभाषामा पठनपाठनको व्यवस्था गर्नका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहको सरकारसँग विशेष आग्रह समेत गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोलरेलको अध्यक्षमा गत माघ २ गते बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले कक्षा १ देखि ऐच्छिक विषयको रुपमा संस्कृति भाषालाई समेट्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार