युवा विचारका सम्बन्धमा

  नरहरि आचार्य
0 Shares

१. सामथ्र्यशाली र अलग पहिचानको नेपाल निर्माणको मुख्य आधार लोकतन्त्रलाई बनाउन चाहाने युवा विचारक धर्मेन्द्र नेम्बाङको पुस्तिका पढ्दा मेरो मनमा सकारात्मक सम्भावनाको उदय भएको छ ।

करिव सात दशकदेखिको अपेक्षा र पुग नपुग एक दशकदेखिको निरन्तरको प्रयत्नपछि नेपाली जनताले आफ्नै अग्रसरता र प्रत्यक्ष सहभागितामा नेपालको संविधान बनाए । संविधान हामीले विगतमा पनि बनाउने गरेका थियौ तर संविधान सभाबाट बनाउन सकेका थिएनांै । त्यसैले नाम जे राखे पनि यस अघिका संविधानहरु यथार्थमा सबै नै अन्तरिम संविधान नै थिए ।

२. संविधान बनाउँदा हामीले नेपाली समाजमा विद्यमान बहुलता र विविधतालाई साज्यभित्रै स्पष्टै देखिनेगरि समेटने प्रयत्न गरेका छौ । यसलाई हामीले ‘नयाँ प्रयोग’ भनेका छौ । त्यसो त यस पुस्तिकाका लेखक वा यसका प्रकट विचारका खेलक धर्मेन्द्रका शब्दमा नै भन्ने हो भने ‘युवा प्रयोग’ भन्दा पनि हुन्छ ।

३. मुलुक कुनै तोकिएको वा एउटै समुदाय सम्प्रदायको निजी व्यवस्थापन हैन । आधुनिक राज्य भनेकै प्राय विविधतामा एकता बनाउने र त्यस भुगोलमा बस्नेहरुमा न्याय र भरोसाको भरोसा जगाउने प्रयत्नहरुको परिणाम हो । त्यही विविधताको संयोजन गर्ने प्रयत्नलाई पुस्तिकामा प्रस्तोता वा उनकै शब्दमा खेलकले बहुरङ्गीवाद भन्न चाहेका छन । यो संज्ञा ठिकै होला तर मलाई पनि आकर्षक लाग्यो ।

४. शब्द जे भएपनि सार चाहिँ के हो भने अब राज्य बनाउँदा वा पुनर्संरचना गर्दा सबैको पहिचान समेटेर मात्रै पुग्दैन, सबैको सामथ्र्य पनि राज्य निर्माणमा प्रयोग हुनु पर्छ । यसका लागि सबै छेउ अवसर पुग्ने र त्यो पनि न्यायपुर्ण तरिकाले पुग्ने प्रणालि बनाउँनु पर्छ । यस्तो प्रणालीलाई बोक्न सक्ने भनेको लोकतान्त्रिक व्यवस्थाले मात्रै हो ।

५. लोकतन्त्र भनेको पुर्ण व्यवस्था हैन, यसलाई निरन्तर हेरविचा या स्याहार–सुसार गर्नु पर्ने हुन्छ । राज्यले संरचना बनाइदिएर मात्र पनि यो काम राम्रोसँग हुँदैन, पुग्दैन । व्यक्ति वा नागरिकले आफ्नो विचार, व्यवहार र सम्पूर्ण जीवन शैली, सबै लगाउनु पर्छ । त्यसैले लोकतन्त्र सजिलो व्यवस्था हैन, यो अप्ठ्यारो र असजिलो व्यवस्था नै हो । खालि संसारले आजसम्म यो भन्दा सजिलो र राम्रो व्यवस्था फेला पार्न नसकेको मात्रै हो । त्यसैले पनि हाम्रा वा सबैका लागि राम्रो व्यवस्थाका लागि लोकतन्त्रको निरन्तरको परिमार्जन नै अनिवार्य भएको छ ।

६. पुस्तिका सानो भए पनि यसका प्रस्तोता धर्मेन्द्रले धेरै कुरा भनेका छन् । इतिहास र वर्तमानका कुरा मात्रै होइन, भविष्यका योजना पनि संकेत गरेका छन् । राज्यका लागि मात्रै होइन, आफु क्रियाशील संस्था नेपाली कांग्रेस पार्टीका लागि पनि आवश्यक हुने धेरै कुरा यसमा परेका छन् । राज्य बनाउने भनेकै आफु संलग्न साना ठुला सबै संस्थाहरुलाई आफुले देखेको वा रोजेको बाटो अनुसार हिँडाउन सक्ता मात्रै हुन्छ ।

७. नेपाली कांग्रेस कुनै पनि समयमा अघिल्लो पुस्ताले गरेको प्रयत्नले मात्रै चलेको छैन । आउने पुस्ताले गर्ने प्रयासले पनि यसको निरन्तरता र सान्दर्भिकता स्थापित छ । एउटा पुस्ताले मात्रै सपना देखेर पुग्दैन । हरेक पुस्ताले सपना देख्नु पर्छ । त्यसलाई आआफ्ना प्रयत्नले विपना बनाउँने काम चालु राख्नु पर्छ । लोकतान्त्रिक ढाँचामा काम गर्छु भन्नेका लागि यो बाटो हिँड्नु अपरिहार्य छ ।

८. धर्मेन्द्र नेम्बाङले कठिन बाटो हिँड्न प्रारम्भ गर्नु भएको छ । विचारहरु आएका छन । यसलाई नीति र कार्यक्रममा रुपान्तरित गर्दै अगाडि बढाउनु पर्छ । यस निम्ति नेम्बाङलाई मेरो पुरा साथ रहने छ ।

दह्रो शुभकामना ।
कोजाग्रत पूर्णिमा
९ कार्तिक २०७२ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार