लकडाउनमा लाेकसेवा तयारी : नेपालमा प्रचलित प्रथाहरूका बारेमा सम्पूर्ण जानकारी

  नयाँ बुलन्द
7 Shares

काठमाडाैँ : धेरै समय अघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन, चालचलन आदिलाई प्रथा तथा परम्पराहरू भनिन्छ । भने सामाजिक मूल्य मान्यता भन्नाले कुनै पनि समाजमा त्यहाँको सामाजिक जीवनलाई गुणस्तरीय बनाउन सहयोग गर्ने आदर्श, विश्वास, वानी व्यवहारहरू हुन् जुन त्यस समाजको जीवनचर्यामा महत्वपूर्ण मानिन्छन् । सामाजिक मूल्य मान्यताहरूलाई त्यस समाजमा चलिआएका प्रथा परम्पराहरूले निर्देशन गरेका हुन्छन् । सामाजिक मूल्य मान्यतालाई सामाजिक मापकको रूपमा पनि हेरिन्छ । यो राम्रो नराम्रो दुवै प्रकृतिका हुन्छन् । सामाजिक मूल्य र मान्यता एक पुस्ताबाट अर्को पुस्ताले सिक्ने व्यवहार पनि हो ।

अरु बेला अफिसको काम वा अन्य झमेलाहरुका कारण पढ्न नपाइएको पनि धेरैको गुनासो होला यही हो मौका पढौ एकछिन् भए पनि लोकसेवा परीक्षामा सबैखाले परीक्षाको लागि उपयोगी हुने बस्तुगत तथा विषयत प्रश्नहरुको संगालो हामीले लामो समयदेखि पोष्ट गर्दै आएका छौँ तपाई हाम्रा पूराना कन्टेन्ट यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ ।

तपाई हामीलाई सामाजिक सञ्जाल फेसबुकयुट्युव र ट्वीटरमा पनि फलो गर्न सक्नुहुन्छ ।

नेपालमा प्रचलित केही प्रथाहरू
दास प्रथा
मालिकको किनबेचका आधारमा आजीवन पराश्रयी भएर काममा जोतिने नोकर वा कमारोलाई दास भनिन्छ । यसरी हुनेखाने वर्गले नहुने वर्ग उपर उनीहरूको विवशता (मजवुरी) को फाइदा उठाएर शोषण गर्ने गरिन्छ । यो प्रथा परापूर्व काल देखि चलिआएको हो । यसको उन्मुलन गर्ने धेरै प्रयास भएपनि चन्द्र शमशेरले वि.स. १९८१ मा दास प्रथाको अन्त्य गर्ने घोषणा गरेका थिए । उक्त घोषणा वि.स. १९८१ देखि कार्यान्वयन भई वि.सं. १९८२ वैशाख १ मा दास प्रथाको अन्त्य भएको घोषणा गरिएको थियो । दास दासीको व्यवस्थापन गर्न तत्कालीन समयमा रू ३६ लाख ७० हजार पशुपतिको गुठीबाट लिइएको थियो । त्यसवेला दास दासीका मालिकलाई राज्यले रकम भुक्तानी गरी मालिकले उदारतापूर्वक मुक्त गरेको, भागेको र आफै मुक्त भएको समेत करिब ५७,८९० जना दासत्व बाट मुक्त भएका थिए ।

सती प्रथा
आफ्नो पतिको मृत्यु पश्चात पत्नीले पतिकै शवसँग जलेर मृत्युवरण गर्ने प्रथालाई सती प्रथा भनिन्छ । पतिको मृत्यु पश्चात पत्नीलाई विभिन्न लाञ्छना लाग्ने डरले पत्नीहरू यस्तो कुरीति अंगाल्ने गर्दथे । यस्तो कारूणिक प्रथा पनि धेरै समय देखि चलनमा रह्यो । यस्तो प्रथा अन्त्य गर्ने विभिन्न समयमा विभिन्न प्रधानमन्त्रीहरूले प्रयास गरेका थिए । २८ जुन १९२०(वि.स. १९७७) मा चन्द्रशमशेरले यस प्रथाको अन्त्य गरेका थिए ।

देउकी प्रथा
धार्मिक अन्धविश्वासका कारण देवी देवताको सेवा गर्न मन्दिरमा कन्याहरू चढाउने प्रथालाई देउकी प्रथा भनिन्छ । यो प्रथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती र महाकाली अञ्चलका सबैजसो पहाडी जिल्लाहरूमा पाउन सकिन्छ । छोरा नभएमा, महारोग लागेमा, मुद्दा जित्ने भाकल गर्न, आफ्नो मनोकाङ्क्षा र पुख्र्यौली भाकल पूरा गर्न आफ्नै छोरी वा सम्पन्न व्यक्तिले गरिब परिवारको छोरी किनेर पनि चढाउने प्रचलन पाइन्छ । यो प्रथाको केन्द्र बैतडी जिल्लाको मेलाली देवीको मन्दिर हो ।

कमैया प्रथा
आफ्नो आवश्यकता पूरा गर्न आफ्नो जग्गा जमिन, धन सम्पति साहुकहाँ बन्धक राखी ऋण लिने र उक्त ऋण चुक्ता नगर्दासम्म साहु कै घरमा बस्ने प्रथालाई कमैया प्रथा भनिन्छ । यो प्रथा कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लामा पाउन सकिन्छ । यो प्रथा २०५७/०४/०२ गते तत्कालीन प्र.म. शेरबहादुर देउवाको सरकारले अन्त्य गरेको हो । तथापि कमैयाको स्थिति सुधार नहुनाले अझै यो प्रथा चलन चल्तीमा छ ।

झुमा प्रथा/ढावा प्रथा
बौद्ध धर्मावलम्बीहरूको समुदायमा तीन छोरा अथवा छोरी भएमा माहिलो छोरा वा माइली छोरीलाई क्रमशः ढावा/लामा र बौद्धकन्या (झुमा) को रूपमा गुम्बाको हेरचाह अथवा रेखदेख गर्न राख्ने प्रथालाई झुमा प्रथा/ढावा प्रथा भनिन्छ । यो प्रथा विशेषत : मुस्ताङ जिल्लाको पाँच गाउँ, बाह्र गाउँ र थाक खोला क्षेत्रमा प्रचलित छ । यसरी झुमा बाध्यतापूर्वक वा स्वेच्छापूर्वक हुने गरेको पाइन्छ । उनीहरूलाई ३ वर्ष ३ महिना ३ दिन गुप्तवास राखी बाजागाजाका साथ गुम्बा वा मन्दिरमा चढाइन्छ ।

छाउपडी प्रथा
महिनावारी भएका महिलाहरूले घरको आँगन टेक्न नहुने, दुध दही खान नहुने, पढ्न लेख्न नहुने, अरूसँग छुइन नहुने, घरभित्र बस्न नहुने जस्ता प्रचलनलाई छाउपडी प्रथा भनिन्छ । यो प्रथा सुदुर पश्चिममाञ्चलको अछाम जिल्लामा प्रचलित छ । यो प्रथा अनुसार छाउपडीहरू गोठमा बस्नुपर्ने हुन्छ ।

डोलाजी प्रथा
यो प्रथा मध्यकालमा प्रचलित विवाहका प्रथामध्ये एक हो । यस प्रथा अनुसार दुलाहा नै दुलहीको घरमा गई बस्ने दुलहीको गोत्रमा दुलाहाको गोत्र बदलिने र पारिवारिक सदस्य बनी अंशियार समेत हुने चलन हुन्छ । तिर्जा प्रथा तिर्जा भन्नाले कुनै ठाउँको बाली यति उठाई खानु भन्ने अधिकार पत्र हो । सिपाही तथा हाकीमहरूलाई तलबको रूपमा हरेक वर्ष तिर्जा दिने राणाकालीन प्रथालाई तिर्जा प्रथा भनिन्छ ।

डंगुवा प्रथा
पूर्वी नेपालका राजवंशी जातिमा प्रचलित लोग्ने बितेकी विधवा नारीले नाता नपर्ने परपुरुषलाई लोग्ने जस्तै बनाएर राख्ने प्रथानै डंगुवा प्रथा हो । यस्तो डगुवा बस्नेहरू आफ्नो श्रीमती मरेर राणो भएका र कमजोर आर्थिक स्थिति भएका पुरुषहरू हुने गर्दछन् ।

दाईजो प्रथा
छोरीको विवाह गर्दा चेलीलाई दिइने चलअचल सम्पतिलाई दाईजो भनिन्छ । नेपालको सन्दर्भमा विशेषगरी हिन्दु सामाजिक व्यवस्था भएका समाजमा यो प्रथा चलन चल्तीमा छ । अन्य क्षेत्रभन्दा तराई–मधेस क्षेत्रहरूमा दाइजो प्रथाको व्यापक प्रयोग अझ बढी हुने गरेको छ ।

घोडाभेडा प्रथा
लेनदेन, जारी, कुटपीट, अंशवण्डा आदि सम्बन्धमा झगडा वा विवादमा स्थानीय भद्रभलादमीहरूले दुवै पक्षलाई जुटाई झगडा मिलाउने र झगडा मिलेपछि मध्यस्थकर्तालाई भेडा काटेर खुबाउनु पर्ने र फर्किदा घोडामा चढाएर पठाउनु पर्ने प्रथालाई घोडाभेडा प्रथा भनिन्छ ।

बेठी प्रथा
पूर्वी पहाडमा रोपाइको क्रममा बाजागाजा बजाउँदै रमाइलो गर्ने प्रथालाई बेठी प्रथा भनिन्छ ।

बालीघरे/ खलो प्रथा
ग्रामीण क्षेत्रका काम गरेवापत् दलित समुदायले ज्यालाका रूपमा नगद नदिई वार्षिक रूपमा एकमुष्ट ज्यालाका रूपमा अनाज दिने प्रथालाई बालीघरे प्रथा भनिन्छ ।

कटुवाल प्रथा
गाउँघरमा विकास निर्माणका काम गर्दा, वनको घाँस, दाउरा फडानी गर्दा, भोजभतेर गर्दा, विवाह ब्रतबन्ध आदि कार्य गर्दा सबैले सुन्ने अग्लो स्थानमा गएर चिच्चाएर सबैलाई थाहा दिने कटुवालको पुख्र्यौली पेशालाई नै कटुवाल प्रथा भनिन्छ । कटुवाल प्रथा परम्परागत सूचनाको माध्यम थियो । सूचना दिएवापत प्रत्येक घरबाट एकदुई पाथी अन्न उठाएर कटुवालहरूले जीविका चलाउने गर्दथे । हाल सञ्चारका आधुनिक माध्यमहरुका कारण कटुवाल प्रथाको औचित्य सकिएको छ ।

-साभार फेयर नेपाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार