अनलाइन कक्षा र आठ जिम्मेवारी

अरुण नेपाल

नेपालकै जेठो विश्वविद्यालय त्रिविले कोरोना संकटले निम्त्याएको अबरूद्ध पठनपाठनलाई सुचारू गर्ने विकल्पका रूपमा अघि सारेको अनलाइन कक्षाले प्राध्यापक र विद्यार्थीवीच एउटा वहस सिर्जना गरिदिएको छ । प्राध्यापक र विद्यार्थीका मन मस्तिष्कमा अनेक तरंग पैदा गरिदिएको छ । झंकार उत्पन्न गरिदिएको छ । टाढिएका मनलाई नजिक ल्याइदिएको छ । निहित स्वार्थका लागि हुने व्यक्तिगत र गुटगत खुरापाती अनलाइन कक्षा जस्तो जल्दोबल्दो मुद्दामा केन्द्रित हुन सक्ने आशाको त्यान्द्रो पलाएको छ ।

विश्वविद्यालय भनेको केवल जागिर पकाउने स्थानमात्र नभएर ज्ञान निर्माण गर्ने एक उच्च थलो हो भन्ने चेत जनजनका मनमा पलाउन थालेको छ । अर्थपूर्ण वहस नै ज्ञान निर्माण गर्ने उत्तम उपाय र प्रकृया हो भन्ने सत्य महशुस हुन थालेको छ । वास्तवमा अर्थपूर्ण वहसले नै समस्याको चुरो पक्रिएर तार्किक निश्कर्षमा पुर्याउन सक्दोरहेछ भन्ने अर्को सत्य उजागर भएको छ ।

तार्किक निश्कर्षमा पुग्न सत्यको गहिराइमा डुवुल्की मार्नुपर्ने आवश्यकता अनुभुति भएको छ । सत्य पुष्टि गर्न तथ्यमा टेक्नुपर्ने वैज्ञानिक विचार व्यवहारमै प्रयोग हुन खोजेजस्तो लागेको छ । यसरी अनलाइन कक्षा सम्बन्धि वहसले सिर्जना गरेका तरंग, झंकार र विषयसँग सम्बन्धित तथ्यका आधारमा सत्यको गहिराइ चुम्ने हो भने अनलाइन कक्षासँग जोडिएका विभिन्न पाटा र पक्षका सम्बन्धमा निम्नानुसार छलफल गर्न सकिन्छ ।

प्राध्यापकका आँखाबाट

क : अबरूद्ध कक्षालाई सुचारू गर्ने युग सुहाँउदो एउटा उत्तम विकल्पका रूपमा विश्वविद्यालयले अघि सारेको अनलाइन कक्षा सम्बन्धि कुराको कार्यान्वयनमा खरो उत्रनु नै प्राध्यपकवर्गको प्रमुख जिम्मेवारी र दायित्व हो ।
ख : अनलाइन कक्षा सञ्चालन गर्न आवश्यक ज्ञानसीप अनलाइनमार्फत नै आर्जन गर्न सकिन्छ र यस्ता तालिम तत्काल शुरू गर्नुपर्छ ।
ग : प्राध्यापकवर्ग कक्षा सञ्चालन गर्न तयार छन् । तर विद्यार्थीसँगको पहुँच र धेरै विद्यार्थी भएका कक्षा प्रमुख चुनौति हुन् ।

विद्यार्थीका आँखाबाट

क : २१ अौ शताब्दीको माग र आवश्यकता बन्दै गएको अनलाइन कक्षा आफैंमा स्वागतयोग्य भएपनि यसले फेरि हुनेखाने र हुँदाखाने वर्गका विद्यार्थीमाझ चर्को विभेद सिर्जना गर्न सक्ने खत्तरा ।
ख : अनलाइन कक्षामा सामेल हुन चाहने धेरै विद्यार्थीसँग स्मार्ट फोन वा ल्यापटप वा कम्प्युटर नभएकाले यस्ता कक्षाबाट धेरै विद्यार्थी बञ्चित हुन सक्ने खत्तरा ।
ग : स्मार्ट फोन वा ल्यापटप वा कम्प्युटर आदि भएका विद्यार्थी पनि कम गुणस्तरीय इनटरनेट सेवाका कारण अनलाइन कक्षासँग जोडिन नसक्ने प्रवल सम्भावना ।
घ : दुखसुख अनलाइन कक्षासँग जोडिन खोज्दा पनि संकटको समयमा त कतिपय ग्रामिण क्षेत्रमा रिचार्ज कार्ड नै किन्न नपाइएकाले पनि अनलाइन कक्षा लिन नसकिने अवस्था ।
ङ : सबै कुरा जुटाएर अनलाइन कक्षामा सामेल हुन खोज्दा पनि विजुली आपूर्ति अवरूद्ध भइदिदा मोवाइल वा ल्यापटप चार्ज गर्न नसकिने भएकाले चाहेर पनि अनलाइन कक्षामा सामेल हुन नसकिने अवस्था ।
च : माथिका सबै समस्या समाधान हुँदा पनि कतिपय विद्यार्थी चाहिँ अनलाइन कक्षामा सामेल हुन आवश्यक ज्ञान सीपको अभावका कारण पनि ती कक्षामा सहभागी हुन नसक्ने अवस्था ।

दुवैका आँखाबाट हेर्दा

अनलाइन कक्षा सम्बन्धि हालसम्म वहसको केन्द्रमा रहेका उक्त बुँदा केलाउँदा प्राध्यापक भन्दा विद्यार्थीको कोणबाट उठाइएका मुद्दा बढि गम्भीर र सम्बेदनशील देखिन्छन् । वास्तवमा प्राध्यापकको आँखाबाट हेर्दा विद्यार्थीसँग सम्पर्क कायम गर्नु नै चुनौतिपूर्ण हुने बुँदा नै विद्यार्थीका सबैजसो मुद्दासँग एक अर्कामा अन्तर्सम्बन्धित रहेको देखिन्छ ।

विद्यार्थीका समस्याको अन्तर्यमा डुवुल्की मार्दा विद्यार्थीका चुनौति सामना गर्न विश्वविद्यालय भन्दा पनि बढि सरकारहरू, इन्टरनेट सेवा उपलब्ध गराउने सबै संस्थाहरू, विद्दुत प्राधिकरणका कार्यालयहरू र अभिभावकवर्ग बढि जिम्मेवार हुनुपर्ने निश्कर्ष निस्कदोरहेछ । यति हो कि यी सबै निकाय र वर्गप्रति आवश्यक समन्वय र तारतम्य मिलाउन विश्वविद्यालयका विभिन्न तहका नेतृत्ववर्ग तयार हुनुपर्ने देखिन्छ ।

यसरी अनलाइन कक्षाका सम्बन्धमा वहसमा आएका तर्क र तथ्यलाई केलाउँदा तत्काललाई आठवटा जिम्मेवारी पूरा गर्ने हो भने अनलाइन कक्षा निकै प्रभावकारी हुने देखिन्छ ।

आठ जिम्मेवारी

१ : प्राध्यापकवर्ग आधुनिक प्रविधिको उच्चतम उपयोग गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न मन, वचन र कर्मले प्रतिबद्ध हुनैपर्ने ।

२ : विद्यार्थीवर्गले अनलाइन शिक्षासँग जोडिएका सबैपक्षलाई बिना आग्रह पूर्वाग्रह अनलाइन कक्षालाई बढि प्रभावकारी बनाउने एकमात्र पवित्र उद्देश्यकासाथ एकिकृत ढंगले सबैलाई रचनात्मक ढंगले आवश्यक दवाव सिर्जना गर्नुपर्ने ।

३ : कर्मचारीवर्गले सबै विद्यार्थीको अभिलेख चुस्तदुरूस्त राखी प्रत्येक संकाय र संस्थानका विद्यार्थीको नाम, ठेगाना, विषय, मोवाइन नम्बर र इमेल ठेगाना आदि हरेक विभाग र प्राध्यापकवर्गलाई सहज र सरल तरिकाले उपलब्ध गराउनुपर्ने ।

४ : तिनै तहका सरकारले विद्यार्थीवर्गलाई आवश्यक सेवा, सुविधा, सहुलियत र राहत प्रदान गर्नका लागि आवश्यक नीति, योजना, कार्यक्रम र प्याकेज बनाई तत्काल कार्यान्वयन गर्नुपर्ने ।

५ : नेपालमा इन्टरनेट सेवा उपलब्ध गराइरहेका सबै संस्थाले अनलाइन कक्षालाई केन्द्रित गरेर निशुल्क वा विशेष सहुलियत दरमा सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन तत्काल प्रभावकारी कदम चाल्नुपर्ने ।

६ : देशका विभिन्न स्थानमा रहेका सबै विद्दुत प्राधिकरणका कार्यालयहरूले विजुली आपूर्तिलाई थप सहज, विश्वसनीय र भरपर्दो बनाउन कुनै कसर बाँकी राख्नु नहुने ।

७ : कोरोना संकटकै कारण मुलुक नै लकडाउनमा रहेको वर्तमान घडीमा रिचार्ज कार्डसम्म किन्न नपाएर अनलाइन कक्षामा सामेल हुन नसक्ने विद्यार्थीको पहिचान गरी ती विद्यार्थीलाई सहज ढंगले आवश्यक सहुलियत समेत प्रदान गरेर रिचार्ज कार्ड उपलब्ध गराउन प्रत्येक स्थानीय सरकार तत्काल जुट्नुपर्ने ।

८ : स्मार्ट फोन वा ल्यापटप वा कम्प्युटर आदिको अभावकै कारण अनलाइन कक्षा लिन नसक्ने विद्यार्थीका अभिभावकवर्गले कम्तीमा ती मध्ये कुनै एक सामग्री उपलब्ध गराएर आ आफ्ना छोराछोरी वा नानीहरूलाई अनलाइन कक्षामा सामेल हुन सक्ने वातावरण बनाई त्यसतर्फ उत्प्रेरित गर्नुपर्ने ।

निश्कर्ष

नेपालकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले कोरोना संकटका कारण अबरूद्ध पठनपाठनलाई सुचारू गर्ने विकल्पका रूपमा अघि सारेको अनलाइन कक्षालाई सकारात्मक सोच र दृष्टिकोणकासाथ ग्रहण गर्दै त्यस्ता कक्षा सफल बनाएरै छाड्ने दृढ संकल्प गर्ने हो भने अनलाइन कक्षासँग जोडिएका प्राध्यापक, विद्यार्थी, कर्मचारी, तिनै तहका सरकारहरू, इन्टरनेट सेवा उपलब्ध गराउँदै आएका सबै संस्थाहरू, विद्दुत प्राधिकरणका सबै कार्यालयहरू र अभिभावकवर्गले कम्तिमा यी आठवटा जिम्मेवारी पूरा गरिदिने हो भने नेपालको वर्तमान सन्दर्भमा अनलाइन शिक्षा निकै प्रभावकारी ढंगले अघि बढ्न सक्ने देखिन्छ ।

तत्काल वहसमा रहेका यी आठ जिम्मेवारी पूरा गर्न सम्बन्धित पक्ष, निकाय र अभिभावकवर्ग तयार हुने हो भने अनलाइन कक्षा बढि प्रभावकारी हुने मात्र होइन आधुनिक र प्रविधिमैत्री शिक्षाले नेपालमा एउटा अकल्पनीय फड्को मार्न सक्छ । सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण होस् ।

 अरूण नेपाल
सह प्राध्यापक
म.र.ब क्याम्पस, इलाम 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार