माइजोगमाई गाउँपालिकाले दियो ३०९ घरपरिवारलाई खाद्यान्‍न

  नरेन इलामेली
7 Shares

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले विपन्न ३ सय ९ घर परिवारलाई खाद्यान्न वितरण गरेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कारोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गरिरहेका परिवारलाई खद्यान्न वितरण गरेको हो ।

हाल सम्म गाउँपालिकाले गाउँपालिकाको वडा नं १ नयाँबजारमा ४३, वडा नं २ जोगमाईमा ८०, वडा नं ३ नामसालिङ्गमा ५३, वडा नं ४ नामसालिङ्गमा ३७, वडा नं ५ सोयाङ्गमा ६७ र वडा नं ६ प्याङमा २९ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले बताए । गाउँपालिकाले माइजोगमाई भित्र रहेका अतिविपन्न, दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गरिरहेका तथा भूमीहिन परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको हो ।

वडाबाट सिफारिस भएका परिवारलाई गाउँपालिकाले २ जना सम्मको परिवारलाई १५ किलोग्राम, ४ जना सम्मको परिवालाई ३० किलोग्राम र ४ जना भन्दा बढि सदस्य भएको परिवारलाई ३० किलोग्राम र थप सोको ३० प्रतिशत हुने गरी चामल वितरण गरेको गाउँपालिकाका अध्यक्ष राईले जानकारी दिए ।

गाउँपालिकाले कोरोना भाइरस ( कोभिड १९) बाट जोगिन उच्च सतर्कता अपनाएको छ । गाउापालिकाले भारतसँग सीमा जोडिएको जौबारी तुम्लिङ्ग क्षेत्रमा १० जना सुरक्षकर्मी र २ जना स्वास्थयकर्मीको व्यवस्था गरी हेल्थ डेक्स स्थापना गरेको छ । जहाँबाट जो कोहीलाई पनि परिक्षण गरेर मात्रै प्रवेश गर्ने व्यवस्था मिलाएको राईको भनाई छ । गाउँपालिकाले स्वास्थयकर्मी र सुरक्षाकर्मीका लागि आवश्यक पिपिई र ज्वरो नाप्ने उपकरण समेत खरिद गरिएको उनले बताए । गाउँपालिकाले यस अघि नै हरेक वडामा ५सय थानका दरले माक्स समेत वितरण गरेको छ ।

माइजोगमाई गाउँपालिकाका पाँच स्थानमा कवारेन्टाइन निर्माण गरिएको छ । १ नं वडाका लागि अमरकल्याण माद्यमिक विद्यालय नयाँबजार र शारदा आधारभूत विद्यालय लप्सीबोटे, २ नं वडाको ज्ञानोदय माद्यमिक विद्यालय जोगमाई, वडा नं ३ र ४ का लागि नेपालज्योति आधारभूत विद्यालय नामसालिङ्ग र वडा नं ६ को प्याङ माद्यमिक विद्यालयमा क्वारेनटाइन निर्माण गरिएको छ । गाउँपालिका भित्रका १२ जना होम क्वारेन्टाइनमा रहेको भए पनि हाल गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा भने कोही पनि नरहेको गाउँपालिका अध्यक्ष राईको भनाई छ । गाउँपालिकाले अत्यावश्यक कामबाहेका सबै सेवा ठप्प रहेका छन् ।

यस विषम परिस्थितीमा सरकारले देशभर लकडाउन गरेको अवस्थामा आम माइजोगमाईबासीलाई लकडाउनको पूर्ण पालना गर्न गाउँपालिका अध्यक्ष जितबहादुर राईले अनुरोध गरेका छन् । हाल विश्वभर फैलिरहेको कोरोना भाइरसको औषधी बनिनसकेको अवस्थामा यस भाइरसबाट बँच्न, नियमित रुपमा साबुन पानीले हात धुने, भीडभाडमा नजाने, भेला समारेहरु नगर्न साथै विदेशबाट आएका तथा कोही अपरिचित व्यक्ति बाहिरबाट आएको भए सम्झाएर क्वारेन्टाइनमा लैजाने व्यवस्था मिलाउन र विदेशबाट आएका कसैलाई पनि अभद्र व्यवहार नगर्न सबैमा आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार