नेपाल भ्रमण वर्ष २०२० स्थगित

news

काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिकरुपमा स्थगित गरेको छ ।

मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले  जानकारी दिए ।

उनले भने–‘नेपाल भ्रमण वर्षको कार्यक्रम औपचारिकरुपमा स्थगित भएको छ । अन्य कार्यक्रम अहिलेलाई तय भएको छैन । आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा कस्तो अभियान चलाउने भन्ने छलफल हुनेछ ।’

यसअघि, अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगन गर्ने निर्णय भएको थियो ।

भ्रमण वर्ष स्थगन भएसँगै केशरमहलस्थित भ्रमण वर्ष सचिवालय पनि वि.सं. २०७७ वैशाख १ गतेबाट विघटन गरिने सचिव अधिकारीले बताए ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष अभियानकारुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो ।

भ्रमण वर्षको सन् २०२० जनवरी १ मा एक भव्य समारोहकाबीच दशरथ रंगशालामा राष्ट्रति विद्यादेवी भण्डारीले शुभारम्भ गरेकी थिइन् ।

‘कोभिड–१९’ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि त्यसको प्रभाव पर्ने भएकाले भ्रमण वर्ष प्रवद्र्धनात्मक कार्यक्रम स्थगित गरिएको हो ।

हाल नेपालमा कोभिड–१९ को पाँचजनामा संक्रमण पुष्टि भएकोमा एकजना उपचारपछि घर फर्किसकेका छन् ।

सरकारले कोभिडको संक्रमण फैलन नदिन चैत ११ गतेदेखि दुई साताका लागि देशभर ‘लकडाउन’ गरेको छ ।

वैशाखको पहिलो सातासम्म मुलुकमा हुने सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ ।

कोभिडको विश्व अर्थतन्त्रमा प्रभाव परेको छ । नेपालको पर्यटनलगायत अन्य आर्थिक क्षेत्रमा नराम्ररी असर पुगेको व्यवसायीले बताएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांकमा सन् २०१९ मा ११ लाख ९७ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक आएका थिए ।

त्यस्तै, सन् २०१७ मा नौ लाख ४० हजार २१८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार