
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ र ५ का विभिन्न घरपरिवारलाई हरियो सागसब्जी वितरण गरिएको छ ।
माङसेबुङ गाउँपालिका ६ र स्थानीय मिरमिरे साँस्कृतिक प्रतिष्ठानले खानीटार, भालुटार, लिलाम्बुङ, चेनेला, सेसेली, प्रहरी चौकी लामीटरलगायतका क्षेत्रमा सागसब्जी वितरण गरेको हो ।
माङसेबुङ गाउँपालिका ६ का वडाअध्यक्ष प्रदिप राई र मिरमिरे साँस्कृतिक प्रतिष्ठानका सचिव हेमन्त राईको अगुवाईमा ९ सय ६५ मुठा अर्गानिक रायो साग, २ सय ७५ मुठा जरिङ्गो, १ सय ७० मुठा धनिया, ३ सय मुठा जिम्बू र १ सय केजी काउली, सिस्नोलगायत वितरण गरेको हो ।
कार्यक्रममा माङसेबुङ गाउँपालिकाकी उपाध्यक्ष सुनिता सुब्बा, माङसेबुङ ३ का वडाअध्यक्ष मैतराज राई, माङसेबुङ ५ का वडाअध्यक्ष नरेन्द्र राई, किरात चोत्लुङ अङसी माङगेन्ना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङलगायतको उपस्थिति थियो ।
कोरोना भाइरस (कोभिड १९) बाट बच्न सरकारले गरेको लकडाउनका कारण हरियो सागसब्जीको अभाव भएका क्षेत्रमा वितरण गरिएको जनाइएको छ ।























































