
काठमाडौं : नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ । अबदेखि विनाकारण सडकमा निस्किए भेटिएकै स्थानमा दुई घन्टा उभ्याइने भएको हो ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले भने, ‘हालसम्म ललितपुरबाट साढे दुई सय, भक्तपुरबाट ४० र काठमाडौंबाट गरी एक हजार ७० जनालाई होल्ड गरिसकिएको छ ।’
यसले नागरिक आफैं सचेत भएर लकडाउन उल्लंघन नगर्ने विश्वास लिइएको उनले जनाए ।
सरकारले कोरोना (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको घोषणा गरेको छ । जसको छैठौं दिनमा उपत्यका प्रहरीले नीति परिवर्तन गरेको हो ।
यसअघि लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइँदै आएको थियो ।



















































