
माङसेबुङ : विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण दिनानुदिन बढ्दो छ ।
पछिल्लो तथ्याङ्कअनुसार विश्वमा ६ लाख ३८ हजारमा कोरोनाको संक्रमण भएको छ भने २९ हजार ८ सय ८१ जनाले ज्यान गुमाइसकेका छन् ।
नेपालमा समेत ५ जनामा कोरोनाको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ । कोरोनाको प्रभाव फैलन नदिन नेपाल सरकारले यतिबेला लकडाउन गरेको छ । पाँचौं दिन शनिबार पनि देशैभर लकडाउन प्रभावकारी बन्यो ।
यसैबीच किरात धर्मावलम्बीहरुको प्रमुख धार्मिक केन्द्र इलामको माङसेबुङमा समेत लकडाउनको प्रभाव परेको छ । जिल्ला तथा गाउँपालिकाले आवतजावतमा रोक लगाएसँगै धार्मिक केन्द्र माङसेबुङ सुनसान जस्तै बनेको छ ।
स्थानीयको अग्रसरतामा विभिन्न श्रेत्रमा ढाट राखी मानिसलाई आवतजावतमा रोक लगाएका छन् । माङसेुबङ ३ स्थित मानपुरमा स्थानीय ढाट राखी माङसेबुङमा प्रवेश दिएका छैनन् ।
किरात धर्मगुरु दर्शन गर्न आएका भक्तजनहरुलाई समेत सम्झाइ बुझाइ फर्काउने गरेका छन् । गुरुको नाम लिएर माङसेबुङ प्रवेश गर्नेको संख्या वृद्धि भएपनि स्थानीयले रोक लगाएका छन् ।
गाउँपालिकाको गजुरमुखी, इभाङ, पंचमी, चतुरे, माङसेबुङलगायतका क्षेत्रमा प्रहरी परचालन गरी आवतजावतमा रोक लगाइएको छ । त्यस्तै माङसेबुङ ४ स्थित सिमलटार हेल्प डेक्समा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
माङसेबुङ गाउँपालिकाले कोरोना भाइसरक विरुद्ध सचेतना तीब्र बनाएको छ । गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको संयोजकत्वमा अनुगमन समिति गठन गरी अनुगमन तथा कोरोना सम्बन्धी सचेतना कार्यक्रम विभभिन्न वडा तथा टोलटोलमा संचालन भइरहेको छ । गाउँपालिकाले सर्वसाधारणलाई मास्क तथा सचेतनामूलक पोष्टर समेत वितरण गरेको छ ।
गाउँपालिकाले माङसेबुङ ४ सिमलटारमा १० शैयाको क्वारेनटाइन निर्माण निर्माण गरेको छ ।



















































