इलाममा चियाको फस्ट फ्लसमा समस्या

  नयाँ बुलन्द
0 Shares

फाइल तस्वीर

इलाम : चियाको राजधानी इलाममा चियाको पहिलो टिपाइ (फस्ट फ्लस) सुरु भए पनि कोरोना संक्रमणको त्रासले टिपाइमा समस्या भएको छ । चिया टिपाइ सुरु गर्ने बेला भए पनि घरबाट बाहिर निस्कन नपाउने भएपछि चियाको टिपाइसँगै जिल्लाका चिया कारखानाले प्रशोधनमा समेत असर परेको छ ।

पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच जमाउनका लागि समेत छिट्टै टिपाइ थालिनु पर्ने हुन्छ तर यसका लागि देश लकडाउनमा रहेको हुँनाले काम गर्नमा समेत असर परेको हो । यस वर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ । छिट्टै पानी परेको र यो वर्ष चैतको पहिलो साताबाटै मुना चिया टिप्ने गरिको भए पनि अहिलेसम्म टिपाइ हुन सकेको छैन । चिया टिपाइ नै नभएपछि प्रशोधनमा समेत असर परेको छ ।

यो वर्ष पनि समयमा नै पानी परेपछि आशावादी इलामका चिया किसान कोरोना भाइरसले विश्व नै आतंकित बनेपछि निरास बनेका छन ।

उत्पादनको पहिलो सिजन (फस्ट फ्लस) को चिया गुणस्तरको हिसाबले राम्रो मानिन्छ । उत्पादन कम भए पनि फस्ट फ्लस चियाको मूल्य उच्च हुन्छ । पहिलो टिपाइ जति छिटो बजारमा पुर्याउन सक्यो त्यत्ति नै किसानलाई फाइदा हुन्छ । कारखानाले थोरै हरियो पत्ति भए पनि प्रशोधन गर्ने गर्छन ।

सिजन सुरु भएसँगै पहिलो बजार जसले गुणस्तरीय चिया पहिला पु¥याउँछ उसको चिया बजारमा राम्रो मानिन्छ । पहिलो पटक बजारमा चिया पुर्याउदा बजार राम्रो हुने भएकाले पनि चियाको पहिलो टिपाइको चिया थोरै भएपनि प्रसोधन गरी बारमा निकाल्ने होडबाजी नै चल्ने गर्छ । तर यसपटक विश्वमा महामारी फैलिएको कारण चिया किसान देखि व्यापारी समेतलाई समस्या भएको छ ।

यो पटक समयमा पानी परेकोले चियाले राम्रो मुना दिएको र छिट्टै चिया टिप्न सुरु भएको इलाम नगरपाकिला ४ बरबोटेकी चिया किसान पवित्रा खत्री बताउँछिन् । उनि भन्छिन सिजनकै राम्रो चिया भनेको पहिलोपटकको मुना हो तर त्यसलाई टिप्न र प्रसोधन गर्न पाइएन भने आम्दानीनै हुँदैन । पहिलो (फस्ट फ्लस)चियाको मूल्य महङ्गो हुने भएपनि टिप्न र प्रसोधन गर्न समेत समस्या भएको छ ।

चियाको पहिलो टिपाइ सुरु भए सँगै गत वर्ष चिया इलामका चिया कारखानले कृषकलाई हरियो चिया पत्तिको मूल्य ६० देखि १०० रुपैयाँ प्रति किलोसम्म र अर्गानक हरियो पत्तिको मूल्य १५० सम्म निर्धारण गरिसकेका थिए तर यस वर्ष प्रसोधन कारखानानै अन्योलमा परेका छन । यो वर्ष पनि समयमा नै पानी परेपछि आशावादी इलामका चिया किसान विश्वनै आतंकित बनेपछि चियामा असर परेपछि निरास बनेका छन ।

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा रहेका एक सय तीन चिया उद्योगले ५२ हजार एक मेट्रिक टन तयारी चिया उत्पादन गर्न सक्छन् । तर, ति उद्योगहरुले बर्षेको १८ हजार नौ सय ५८ मेट्रिक टन तयारी चिया उत्पादन गर्ने गरेका छन् । उद्योगको बार्षिक क्षमताको ३६ प्रतिशत मात्रै उपभोग भइरहेको चिया तथा कफी विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । नेपालमा १२ हजार ६६ हेक्टरमा चिया खेती लगाइएको छ । विभाग र बोर्डले गरेको अध्ययन अनुसार इलाममा पाँच हजार पाँच सय ८२ साना किसान (देशकै ६०.६ प्रतिशत) छन् ।

झापामा ७० प्रतिशत र इलाममा ६४ प्रतिशत चिया किसानको मुख्य आम्दानी नै चियाबाट हुने गरेको छ । तथ्यांकअनुसार झापाको सात हजार एक सय ९५.१५ हेक्टरमा भइरहेको खेतीबाट ८२ हजार पाँच सय १७ मेट्रिक टन हरियोपत्ती वार्षिक रूपमा उत्पादन भइरहेको छ । इलाममा भने तीन हजार तीन सय ९३ हेक्टरमा भइरहेको चियाखेतीबाट वार्षिक १५ हजार नौ सय ७१ मेट्रिक टन हरियो चियापत्ती उत्पादन हुने गरेको तथ्यांक छ ।

झापामा ६ करोड ३५ लाख चियाका बोटबाट हरियोपत्ती उत्पादन हुने गरेको छ भने इलाममा यो संख्या चार करोड ५८ लाख छ । नेपालमा चाहिँ कुल १२ हजार ६७ हेक्टरमा ११ करोड ६७ लाख ५१ हजार चियाका बोटबाट हरियो पत्ती उत्पादन हुने गरेको छ । राजधानी दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार