जनप्रतिनिधिहरुको भ्रमण खर्च कटाएर अस्पतालको स्तरोन्ती: इलाम नगरपालिका

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाम अस्पतालमा रहेको पोष्टमार्टम घर ब्यवस्थित गर्नका लागि इलाम नगरपालिकाका जनप्रतिनिधिले अध्ययन अवलोकन भ्रमण खर्च कटाएका छन् । नगरपालिकाको बुधबार बसेको बैठकले आर्थिक बर्ष २०७६।०७७ को विनियोजित बजेट अन्तर्गत जनप्रतिनिधिहरुको अध्ययन अवलोकन भ्रमण शीर्षकमा विनियोजन भएको १० लाख रुपियाँ बजेटलाई रकमान्तर गरी इलाम अस्पतालको पोस्टमार्टम (लास) घरमा फ्रिज व्यवस्थापन, शौचालय तथा प्रतीक्षालय निर्माण गर्ने निर्णय गरिएको हो । सिंगै अस्पताल र लास घर समेत ब्यवस्थित नहुँदा समस्या पर्दै आएको थियो ।

त्यसैगरी इलाम नगरपालिका वडा नम्बर ३ मा रहेको पाटेनागी क्षेत्रभित्रका पर्यटकीय, पर्यावरणीय तथा जैविक विविधताको संरक्षण र सम्वद्र्धन गर्ने निर्णय गरिएको छ । उक्त क्षेत्रको संरक्षण र विकास गर्ने उदेश्यले पाटेनागी पर्यटकीय तथा विशेष क्षेत्र संरक्षण तथा प्रबन्ध समिति सञ्चालन निर्देशिका, २०७६, सहित इलाम नगरपालिका घर बहाल कर व्यवस्थापन कार्यविधि २०७६ र व्यवसाय कर सम्बन्धी कार्यविधि, २०७६ समेत स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय भएको छ ।

यसैगरी इलाम नगरपालिका वडा नं। ११ मा सोयाक खानेपानी योजना कार्यान्वयनका लागि दोस्रो पटकसम्म बोलपत्र आव्हान हुँदा समेत ठेक्का बन्दोबस्त हुन नसकेको हुनाले उक्त योजना समयमा नै सम्पन्न गर्नका लागि उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्ने निर्णय गरेको छ । यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत इलामको किवी जोनमा इलाम नगरपालिका वडा नं ५ लाई समेत समावेश गर्न किवी जोनको कार्यालय इलामलाई अनुरोध गर्ने र आगामी बर्षको कार्यक्रमबाट हेवार्ड जातको किवीको विरुवा व्यावसायिक किवी कृषकहरुलाई वितरण गर्नका लागि पहल गराउने निर्णय गरिएको छ ।

कम्तीमा १ रोपनी जग्गामा व्यावसायिक माछापालन गर्न इच्छुक ब्यवसायिक कृषकहरुबाट माग संकलन गर्ने पनि निर्णय गरेको छ । इलाम नगरपालिकाले इलाम नगरपालिकालाई गाई जोनको कार्यक्रममा समावेश गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, गाईजोनको कार्यालय इलाममा अनुरोध गर्ने समेत निर्णय भएको हो ।

त्यस्तै १ नं प्रदेश सरकारको आगामी आर्थिक बर्षको कार्यक्रममा इलाम नगरपालिकाकोे लागि इलाम नगरपालिका वार्ड नं. ७ स्थित कृषिबजार स्तरोन्नति कार्यक्रम र इलाम नगरपालिका वार्ड नं ९ सेल्फीपुलस्थित साइन्स पार्क निर्माण कार्यक्रम योजना कार्यान्वयनमा सहयोग गर्ने गरी कार्यक्रममा समावेश गरिदिन प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, बिराटनगरलाई अनुरोध गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार