कुरा माइभ्यालीको

  अन्वेश राई थुलुङ्ग  821 पटक हेरिएको

अन्वेश थुलुङ राई

सन् २००२ को विश्वकप, एक देश जसलाई कसैले चिनेको पनि थिएन त्यस देशले फ्रान्सलाई समुह चरणको खेलमै हरायो । १९९८ को विश्वविजेता टिमलाई हरायो र फुटबलको दुनियामा परिचित भयो । त्यो देश थियो, सेनेगल । त्यो देश जो नेपालको तुलनामा थोरै मात्र ठूलो छ, त्यो देशले फ्रान्सलाई स्तब्ध बनाएर क्वाटरफाइनलसम्मको यात्रा ग¥यो । त्यो वर्षभन्दा अगाडीका समयसम्म त्यहि देशको आम मानिसहरुका लागि यी कुरा सपना जस्ता लाग्थे । जस्तो त्यसबेला दश वर्षे लिभरपुलका मिडफिल्डर ‘स्याडियो माने’का आमा । ७ वर्षको उमेरमा अस्पतालको अभावमा बुबा गुमाएका मानेले, स्कुलबाट फर्केपछि बारीको काम गर्नुपथ्र्यो । चरम गरिबीको मारमा परे पनि उसको फुटबल खेल्ने रहर उसले कहिले प्लाष्टिकको गोल त कहिले मोजाको गोलहरुसँग पुरा गर्थे । उनको संघर्षले अहिले रङ्ग ल्याएको छ । उनी अहिले लिभरपुलबाट खेल्छन् । र वर्तमान समयका सवोत्कृष्ट खेलाडी हुन् । तर मात्र यति कुराले माने पुरा हुँदैनन् । उनले आफ्नो गाउँ बम्बालीमा स्कुल, मस्जिद र हस्पिटलको लागि २ लाख पचास हजार डलर अनुदान दिएका छन् । र यसको कारण थियो उसको बुबाको हस्पिटल अभावको कारणले गर्दा भएको असामहिक मृत्यु ।

‘माने’को जीवनी सुन्दा नेपाली परिवेशको कथा भन्दा फरक लाग्दैन । अहिले इलाममा माइभ्याली गोल्डकप चलिरहेको छ । छैटौँ संस्करणसम्म आइपुग्दा इलामको भुमिमा आफ्नो किसिमको फुटबल र इलामको सम्भावना सम्बन्धि बहस उठ्न थालिसक्यो होला । हाललाई इलाममा नरहे पनि इलाममा हुने गरेका हरेक घटनाहरुप्रति चासो भने जहिँ बसे पनि रहिरहन्छ । इलामे हुनुको सम्बन्ध यसको प्रमुख कारण हो ।

इलाम चौतारीको एक बसाईँमा धिरेन चेम्जोङ्ग भन्नुभएको थियो, ‘‘इलामको सबैभन्दा ठूलो पहिचान भनेकै दर्शक हो । देशमा कहिँ पनि यतिको दर्शक हुन्नन् । खेलाडीहरु यहि क्रेज हेर्न आउँछन् ।’’ त्यसबेला धेरै समयपछि माइभ्याली गोल्डकप पुनः अयोजना हुन लागेको थियो । र वहाँको कुरा सहि सावित पनि भयो । यहि प्रसंगमा वहाँले थपमा भन्नुभएको थियो, ‘‘केटाकेटीहरु दुव्र्यसनीमा फँस्नु भन्दा त खेलकुद स्वस्थ्यकर हो नी ।’’ र यहि कुरा मेरो मानसपटलमा आजसम्म सम्मानपुर्ण र समर्थनयोग्य छ ।

टुडिखेलमा जुन बेला दुइ तीन सय मानिसहरु प्राय हुने गर्थे त्यो बेला इलामे फुटबल उच्च स्थितिमा थियो । अन्डर फोर्टिन, महिला फुटबलहरुमा इलामको प्रदर्शन नेपालमै उत्कृष्ट लयमा थियो । तर टुडिखेल पुर्ननिर्माण र विस्तारसँगै केहि समय खेल्न कम हुन थाल्यो । भर्खर सम्याएको माटोमा दुबो उमार्नकै लागि धेरै संघर्ष गर्नुप¥यो टुडिखेलले । यसले साप्तहिक रुपबाट हुने वानडे, अन्य सानातिना टुर्नामेन्ट, स्कुलस्तरीय प्रतियोगिता लगायतका खेलहरु प्रभावित हुन पुग्यो । समाजको लागि एउटा ठूलो खेलमैदान कति आवश्यक रहेछ भन्ने कुरा सायद सिङ्गो इलामले त्यसताका अन्तरमनमा खेलमैदानको शुन्यताभित्र महशुष गरेको हुनपर्छ । मैदानमा व्यस्त हुनपर्ने युवाहरुको निम्ति इलाममा मनोरञ्जनका लागि न सिनेमा हल थियो, न कुनै फनपार्क, न कुनै गतिलो प्लाटफर्म । त्यसो त युवाको निम्ति नेपालको सामाजिक मान्यता नै अनुदार छ ।

नेपाली समाज भनिरहन्छ, ‘‘आलाकाँचा युवाहरु ।’’ जबकी समाजको लागि सबैभन्दा बलियो मानवस्रोत नै युवा हो । मेरै आफ्नो विश्लेषणमा कुनै समाजमा युवाहरुमाझ दुव्र्यसनी बढ्नुको कारणहरु यी मान्यताहरुको पनि हुन्, जसले युवाका धेरै क्रियाशील कामलाई बेढङ्गको मानिदिन्छ । राज्यका धेरै योजनाहरु अझै पनि युवा मैत्री छैनन् । यद्यपी इलामका अग्रजहरुको यो प्रयासलाई सम्मान गर्नैपर्छ । इलाम बुटिकका सुमन दाइले भन्नुभएको कुरा सम्झन्छु, ‘‘इलाममा हुने कार्यक्रमहरु भनेको इलामको गौरव हो नी भाइ, समर्थन गर्नुपर्छ । महंगो भनेर भनिएला तर कमसेकम जिल्लाकै इज्जत पनि बढाइरहेछ यो पनि त सोच्नुप¥यो ।’’

माइभ्याली गोल्डकपको छैटौँ संस्करणसम्म आइपुग्दा राष्ट्रिय स्तरको खेलहरुलाई इलामेहरुले प्रत्यक्ष हेर्न पाइरहेका छन् । सञ्चालनको हिसाबले पनि एकदमै ठूलो प्रतियोगिता बनेको यो इलामेली फुटबलको संस्करणले इलामे फुटबललाई फेरी ब्युँताएको आभाष हुन्छ । खेलमैदानमा किरण चेम्जोङ्गले डाइभ गरेर बल समातेको होस् वा बिमल घर्तीले गोल हानेको । वा इलामकै विवेक बस्नेत वा नवयुग श्रेष्ठ मैदानमा हुँदा मात्रको पल । धेरै फुटबल खेल्ने युवाहरुलाई कता कता महशुष हुन थालिसकेको हुनपर्छ, ‘‘यतिको त म पनि खेल्न सक्छु ।’’ वा ‘‘पहिले हामीसँगै खेल्ने नवयुग, विवेकहरु सक्छन् भने हामी किन नसक्ने ?’’ वा कुनै अधवैँशेलाई विश्वास भएको हुनुपर्छ, ‘‘हाम्रा केटाहरुले पनि मौका पाए भने त यतिको खेल्न सक्लान् ।’’ यो कुनै माजक हैन वा कम राष्ट्रिय स्तरका खेलाडीहरुलाई कम आँकेर भनेको कुरा हैन । जोड्न खोजेको कुरा के हो भने, स्थानीय स्तरमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुँदै गर्दा हिजोको समय गुमेको इलामे फुटबलको विश्वास फेरी ताजा हुन थालेको छ । युवाहरुमा फुटबललाई लिएर सपना सुरु हुन थालेको छ । विश्वासको पुनरजागरण हुनु भनेको चानचुने कुरा हैन । विश्वासको जग नै सपनाको आधारशीला हो । हाल आएर इलामले निकालेको नतिजा यहि विश्वासको नतिजा पनि हुनसक्छ । यद्यपी कमजोरी आफ्नो ठाउँमा होलान् ।

थोरै, एसियाली फुटबलको कुरा गर्ने हो भने । एसियाली कुनै टिमले विश्वकप जित्न सकेको छैन । यद्यपी जापानले सन् २०५० सम्म विश्वकप जित्ने तयारी गरिरहेको छ । २०२२ को विश्वकप आयोजना गरिरहेको कतारले समेत २०१९ एसियाली कपलाई आफ्नो हातमा पार्दै आफ्नो बलियो उपस्थिति देखाइसकेको छ । यसको लागि उसको तयारी धेरै अगाडीबाट थियो । चीनले समेत आफ्नो देशको फुटबलको विकासका लागि महंगा खेलाडीहरु निर्यात गरिरहेको छ । भारतले समेत विश्वबाट खेलाडीहरु ल्याएर आइलिग सञ्चालन गरेर आफ्ना देशका खेलाडीहरुको मनोबल बढाइरहेको छ । उनीहरुको चाहना फेरी पनि एसियाकप हुँदै विश्वकपसम्मको यात्रा गर्ने हो । कारण, विश्वको खेलकुदको अर्थतन्त्रमा फुटबल चानचुने कुरा हैन । सन् २०१६÷१७ को पुरानो आँकडालाई मात्र हेर्ने हो भने बिबिसीका अनुसार युरोपियन फुटबल बजारको लगभग २५.५ बिलियन युरो बराबरको रहेको जनाएको छ । युएनको भन्दा बढि सदस्य राष्ट्र रहेको फिफाको लोकप्रियतालाई मात्र आधार मान्ने हो भने फुटबल कति लोकप्रिय छ भनिरहनुपर्दैन । र यसको लागि उनीहरुको आन्तरिक तयारीहरु भनेको घरेलु स्तरमा हुने महत्वपुर्ण प्रतियोगिताहरु पनि हुन् ।

‘‘सपनाभित्रको सपना’’ । हरि खड्कालाई एकपटक पत्रकार ऋषि धमलाले विश्वकप कहिले जित्छ नेपालले भनेर प्रश्न गर्दाताका दिएको उत्तर हो यो । भलै माथि उल्लिखित प्रसंग र लक्ष्यहरु आफैँमा कठिन कुरा हुन् तर नेपालले प्राप्तै नगर्न सक्ने कुरा हुन् जस्तो लाग्दैन । यदि नेपालको खेलकुद व्यवस्थापनमा सुधारमा ग्रासरुटबाटै ल्याउने हो भने पक्कै सम्भव छ जस्तो लाग्छ । खैर, विश्वकप सम्मको कुरामा पछि जाऔँला अहिले इलामकै कुरा गरौँ । झापा ११ को इतिहासलाई पल्टाउने हो भने २०१४ मा स्थापना भएको यो टिमले नेपाली फुटबलमाझ तरंग ल्याइदियो । स्थापना भएकै वर्ष एन्फा कपमा आफ्नो दाबेदारी देखाउँदै एक बलियो टिमको रुपबाट स्थापित हुनपुग्यो । इलामे भुमिमा पनि आफ्नो उत्कृष्ट प्रदर्शनले सबैको मन जित्न सफल भएको यो क्लब कर्ण लिम्बू, प्रवेश कटुवाल जस्ता खेलाडीहरु उत्पादन गरेका झापा ११ को टिम नै राष्ट्रिय स्तरमा आफ्नो उत्कृष्ट खेलका लागि चिनिन्छन् । इलामको सवालमा भने दर्शन गुरुङ्ग, विजय गुरुङ्ग, सुवास राई, लोकबन्धु गुरुङ्ग, नवयुग श्रेष्ठ, विवेक बस्नेत, अदि जस्ता राष्ट्रिय स्तरका खेलाडीहरु दिएपनि आफ्नै खेलाडीहरु सहितको बलियो घरेलु टिम बनाउन सकेको छैन । ‘‘छैटौँ संस्करण सम्म आइपुग्दा समेत घरेलु टिम खेलाडी कै अभावमा रहेको देखिन्छ ।’’ इलामका एक युवा फुटबल खेलाडी भन्छन् । यद्यपी यो लेख लेख्दै गर्दासम्म इलामले यसपटक फाइनलसम्मको यात्रा गरिसकेको छ । यो सुखद् कुरा हो । तर फेरी सवाल यो रहन्छ, इलाममा रहेका खेलाडीहरु र उनीहरुको सम्भावनालाई हामीले सहि तवरले व्यवस्थापन गर्न सकेका छौँ या छैनौँ ? र के यो पर्याप्त छ ? के कुनै इलामको कुनै व्यवसायिक क्लब राष्ट्रिय स्तरको ए डिभिजन लिगसम्मको यात्रा गर्ला ? र के यसको लागि इलाम तयार छ ? या हुँदै छ ? यी फेरी पनि बहसका लागि अबका विषयहरु हुन सक्छन् । र यसमा मुख्य प्रश्न रहन्छ, के इलाममा टिम बनाउन गाह«ो छ त ? राम्रो योजना हुन सके यो असम्भव पक्कै होइन । इलामभित्रै सानातिना टुर्नामेन्ट भइरहन्छन् । जिल्लाभित्रका खेलाडीहरु छनौट गरेर उपयुक्त तालिम दिन सके इलाममा बलियो व्यवसायिक टिम बन्न सक्ने सम्भावना सदैव छ । पक्का पनि यो गोल्डकपको आयोजना सिर्फ फुटबलको इभेन्ट अर्गनाइज गर्नुसँग मात्र सम्बन्ध राख्दैन । धेरै फुटबलका अग्रज चिन्तकहरुका अनुसार यसको उद्देश्य फेरी पनि इलामको फुटबललाई ब्युताउनु नै हो भन्ने कुरासँग सहमत छन् । युवाहरुको निम्ति मोफसलमा यतिको स्तरिय फुटबल आयोजना गर्नु चानचुने कुरा हैन । छैटौँ संस्करणसम्मको सफल आयोजना नै यसको प्रमाण हो । भावनात्मक रुपले हरेक चोटी विदेशमा रहेका इलामेहरुको सहयोग राशीसँगै जोडिएको भावना प्रतियोगिताभर माइकमा बजिरहँदा । वा हरेक संगठनका युवाहरु भोलेन्टियर बनेर सहयोग गरिरहँदा । वा हरेक पसल, कार्यालय गाउँपालिका, नगरपालिकाहरुले सहयोग गरेका टिकटहरु देख्दा लाग्छ, यो इलामका युवाहरुको फुटबलको भविष्यको लागि देखाएको समर्थन हो । अयोजनाकै हिसाबले फुटबलप्रति इलामको जस्तो विश्वास र एकता सायदै अन्य स्थानहरुमा पाइएला । र यी प्रमाणहरुको आधारमा इलामको फुटबलसँगको सम्बन्ध स्पष्ट हुन्छ ।

हाललाई फाइनलको लागि इलामे टिमलाई बधाई र शुभकामना । र विश्वास छ भावि दिनमा इलामले राष्ट्रिय लिगसम्मको यात्रा गर्नेछ । उपत्यकाभित्रका क्लबहरु हाबी भइरहेको लिगमा इलामे टिमको उपस्थितिले इलामका धेरै खेलाडीहरुको लागि ठूलो स्थान हुनेछ । व्यवसायिक साथै भावनात्मक रुपबाट पनि । र सायद यी सानातिना सपनाहरुले नै एसिया कप र विश्वकपसम्मको नेपालको यात्राको लागि सोपानको काम गर्नेछन् । र के थाहा नेपाल पनि सेनेगल जस्तै अप्रत्यासित नतिजा निकाल्ने देश हुनेछ ! र त्यहाँ कोहि साडियो माने जस्तै इलामकै कोहि खेलाडी हुनेछ ! हाललाई यो सपना देख्न र विश्वास गर्न कसैले कसैलाई बन्देज लाउन सक्दैन ।

Anwesh Rai Thulung 2076

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार