विश्वव्यापी रूपमा जटिल बन्दै कोरोना भाइरस

एजेन्सी : विश्वव्यापी रूपमा जटिल बन्दै गएकाे कोरोना भाइरसका कारण इरानमा मात्रै २१० जनाको ज्यान गएको छ । इरानको स्वास्थ्य प्रणालीसँग आबद्ध सूत्रहरूले बीबीसी पर्सीयनलाई जानकारी दिएअनुसार कोरोनाबाट अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम सहरका रहेका छन् ।

यो संख्या स्वास्थ्य मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको ३४ भन्दा छ गुणा बढी हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने सरकारले पारदर्शी रूपमा विवरण बाहिर ल्याएको भन्दै मिथ्या सूचना फैलाइएको बताएका छन् ।

यसअघि कुमबाट निर्वाचित एक सांसदले अधिकारीहरूले वास्तविक अवस्था लुकाएको हुनसक्ने बताएका थिए र अमेरिकाले इरानले सूचना उपलब्ध नगराएको हुनसक्ने टिप्पणी गरेको थियो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इस्लामिक गणतन्त्र इरानलाई सहयोगको प्रस्ताव राखिएको शुक्रबार एउटा संसदीय समितिलाई बताएका थिए । इरानभित्र स्वास्थ्य सेवा प्रभावकारी नरहेको र इरानले देशभित्र के भइरहेको छ भन्ने जानकारी दिन पनि अनिच्छा देखाएको पोम्पेओको भनाइ रहेकाे बिबिसीले लेखेकाे छ ।

इरानी अधिकारीहरूले कोरोना भाइरसको नियन्त्रणका लागि मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सावधानीका उपाय मान्न सुझाव दिइरहेका छन् । कोरोनाकै कारण शनिवारबाट देशभरका विद्यालयहरूमा कम्तीमा तीन दिन बिदा दिने निर्णय गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका आपत्कालीन कार्यक्रमका निर्देशक डा. माइकल रायनले इरानमा देखिएको उच्च मृत्युदरले शुरूमा अनुमान गरिएको भन्दा कोरोनाभाइरसको प्रकोप ठूलो रहेको देखाएको बताएका छन् ।

आइतवार वा सोमवारसम्म मद्दतका लागि डब्लुएचओको एउटा टोली इरान पुग्दैछ । डा. रायनले इरान प्रवेश र हवाई पहुँच जस्ता कारणले टोली पुग्न केही ढिलो भएको बताउँदै संयुक्त अरब एमिरेट्सले सहयोग गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार