भ्रष्टाचारकाण्डबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्नेमा विपक्षीहरुको एउटै स्वर

news
सांसद मीनेन्द्र रिजाल ।

काठमाडौं : संसदमा विपक्षी दलहरुले पछिल्लो समय सार्वजनिक भएका भ्रष्टाचारकाण्डबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने माग राखेका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, समाजवादी पार्टी र राजपाले एकै स्वरमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, ‘वाइडबडी’ विमान खरिद र बालुवाटार जग्गा प्रकरणलगायतका भ्रष्टाचारकाण्डबारे सदनलाई जानकारी दिन माग गरेका हुन् ।

बैठक सुरु हुनेबित्तिकै सभामुखसँग समय लिएर बोल्दै प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले ‘आफ्नै विश्वासिला पात्रले ७० करोड घुस माग्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाज लाग्दैन ?’ भन्दै प्रश्न गरे ।

सांसद रिजालले ‘प्रधानमन्त्रीको जन्मोत्सवको तामझाम देखेर जन्मघरलाई पनि लाज लागेको हुनुपर्छ’ भन्दै व्यंग्य गरे ।

यस्तै, सभामुखसँग समय मागेर बोल्दै विपक्षी दल राजपाका सांसद प्रमोद साहले प्रधानमन्त्रीमाथि ठूलो प्रश्न उठेको भन्दै संसदमा आएर विश्वस्त पार्न माग गरे ।

समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारलाई भ्रष्टाचारले डुबाएको भन्दै ‘अख्तियारले निवर्तमान मन्त्री गोकुल बाँस्कोटालाई जोगाउन कार्यकक्षमा छापा मारेको हो कि बचाउन ?’ भन्दै प्रश्न गरिन् ।

मंगलबारको बैठकमा विशेष समयमा बोल्दै कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्री ओलीको जन्मोत्सवको तामझामले २०६०–६१ सालको राजाको न्यास्रो मेटिएको टिप्पणी गरे ।

उनले एकपछि अर्को भ्रष्टाचारकाण्डबारे प्रधानमन्त्रीलाई सदनमा आएर जवाफ दिन ‘रुलिङ’का लागि सभामुखसँग माग गर्दै डाँडा–पाखा, पहाडमा घुमेर नभइ सदनमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।

यस्तै, विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद शेरबहादुर तामाङले प्रत्यक्ष राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचनको व्यवस्थाको लागि संविधान संशोधन गर्न माग गरे ।

यस्तै, मंगलबारको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार