‘जनताको मुद्धा समाजवादी पार्टीसँग मात्र छ’ : महासचिव कन्दङवा

इलाम : समाजवादी पार्टीका महासचिव रणध्वज कन्दङवाले नेपालका उत्पीडित र विपन्न जनताको मुद्धा समाजवादी पार्टीसँग मात्र भएको दावी गरेका छन् । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) र नेपाली पटकपटक जनतालाई धोका दिएको आरोप लागाउँदै कन्दङवाले आफ्नो पार्टीले मात्र जनताको वास्तविक समस्या र मुद्धालाई पार्टीको मुद्धा बनाएर अघि बढेको दावी गरे ।

समाजवादी पार्टीले संचालन गरेको संगठन विस्तार तथा सुदृढीकरण (विसु) अभियानका अन्तरगत अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा इलाम आइपुगेका कन्दङवाले जनताको मुद्धा बोकेको पार्टी सफलता बन्ने भन्दै उच्च मनोलका साथ संगठन निर्माणमा लाग्न निर्देशन दिए ।

नेपालका उत्पीडित आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित (शिल्पी), खसआर्य, महिला, पिछडिएको क्षेत्र तथा विपन्न वर्गको मुद्धा समाजवादी पार्टीसँग मात्र भएकाले समाजवादी पार्टीप्रति जनताको आकर्षण बढ्दो रहेको उल्लेख गरे । ‘हामी अहिले आकारमा सानौ भएपनि मुद्धा ठूलो छ । उत्पीडित र विपन्न जनताको मुद्धा हामीले मात्र उठाएका छौं’ प्रशिक्षका क्रममा कन्दङवाले भने, ‘यी मुद्धालाई तल्लो स्तरका जनतासम्म लिएर जान जरुरी छ । जनताको मुद्धालाई बुझाउन सक्यौ भने अर्को चुनावममा हामी शक्तिशाली पार्टीका रुपमा स्थापित हुन्छौं ।’

तत्कालिन नेकपा (माओवादी) ले पहिचान र अधिकारको मुद्धा उठाएर जनयुद्ध गरेको भएपनि अहिले एमालेमा विलय भएर सबै मुद्धा छोडेको कन्दङवाको आरोप थियो । ‘हिजो जनयुद्धमा उत्पीडित जनतालाई पहिचान र अधिकार दिन्छु भनेर माओवादीले आश्वासन दिएको थियो  । तर अहिले पार्टी एकताको नाममा सबै मुद्धा छोडेर जनतालाई धोका दियो’ कन्दङवाले भने, ‘अहिले पहिचान र अधिकारको मुद्धा समाजवादी पार्टीसँग मात्र छ । यही मुद्धा जनतालाई बुझाउँदै संगठन निर्माण गर्नुपर्दछ ।’ पार्टी निर्माणका लागि मुद्धा प्रमुख रहने उल्लेख गर्दै कन्दङवाले त्यही मुद्धाप्रति नेपाली जनता विस्तारै गोलबद्ध हुने विस्वास व्यक्त गरे ।

समाजवादी पार्टीले नेपालको संविधान जारी हुँदादेखि नै संविधानप्रत असहमति जनाउँदै आन्दोलन गर्दै आएको छ । समाजवादी पार्टीले अहिलेको ७ प्रदेशले उत्पीडित जनताको पहिचान र अधिकार प्रत्याभूत नभएको भन्दै संविधान संसोधन गरी पहिचानका आधारमा १० जोड १ प्रदेश पुनर्संरचना गरिनुपर्ने माग गर्दै आएको छ । समाजवादी पार्टीले पहिचानका आधारमा लिम्बुवान, किरात, शेर्पालुङ, नेवा:, ताम्सालिङ, मगरात, तमुवान, मधेस, थरुहट, खसान गरी १० भौगोलिक र दलित (शिल्पी) हरुका लागि गैरभौगोलिक प्रदेश बनाउनुपर्ने बताउँदै आएको छ ।

‘सम्मुनत संघीय समाजवाद’ लाई मार्गनिर्देशक सिद्धान्तका रुपमा अघि बढाएको समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदमा आधारित शासकीय प्रणाली अपनाइनुपर्ने बताउँदै आएको छ ।

कार्यक्रममा समाजवादी पार्टीका महासचिव कन्दङवा, केन्द्रीय सदस्य तथा  प्रदेश १ अध्यक्ष चाम्लिङ, उपाध्यक्ष यादवसहित केन्द्रीय सदस्य तथा विसु अभियान संघीय निर्वाचन क्षेत्र २ का संयोजक मित्र चापागाई, प्रदेश १ का कोषाध्यक्ष तथा विसु अभियान प्रदेश निर्वाचन क्षेत्र २ (२) का संयोजक विनोद नेम्बाङ, प्रदेश सदस्य चन्द्र मादेन,  लिलाबहादुर सुनुवार, समाजवादी विद्यार्थी सुनियनका उपाध्यक्ष सुवास लाबुङ, केन्द्रीय सदस्य संजय राई, प्रेस नेपालका केन्द्रीय सदस्य राम योङहाङलगायतको उपस्थिती थियो ।

समाजवादी पार्टी जिल्ला समन्वय समिति इलामका अध्यक्ष कमल चाम्लिङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष छिकिन तामाङ र संचालन सहसचिव सुवास चौरासेले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार