राजपासँगको एकता प्रयास जारी छ : महासचिव कन्दङवा

इलाम : समाजवादी पार्टीका महासचिव रणध्वज कन्दङ्वाले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीचको एकीकरणको प्रयास जारी रहेको बताएका छन् । देशले अग्रगामी वैकल्पिक शक्तिको आवश्यकता गरेको भन्दै महासचिव कन्दङ्वाले पहिचान पक्षधर पार्टीहरु ध्रविकृत हुने प्रयासस्वरुप राजपासँगको एकताको प्रक्रिया जारी रहेको बताए ।

समाजवादी पार्टीले देशव्यापी रुपमा संचालन गरिरहेको संगठन विस्तार तथा सुदृढीकरण (विसु) अभियान अन्तरगत अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा इलाम आइपुगेका महासचिव कन्दङवाले संचारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् ।

सैद्धान्तिक कुराहरु मिलिसकेको र केही प्राविधिक कुरा मात्र मिल्न बाँकी रहेकाले निकट भविष्यमै दुई पार्टीबीच एकता गरी नयाँ वैकल्पिक शक्ति निर्माण हुने बताए । ‘पार्टीको नाम, झण्डा, चुनाव चिन्ह तथा पार्टीको आदर्श र सिन्द्धान्तलगायत विषय यसअघि नै सैद्धान्तिक सहमति भइसकेको हो’ कन्दङवाले भने, ‘दुवै तर्फका नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा अनौपचारिक छलफल भइरहेको छ । टुङ्गिनसाथ एकता हुन्छ ।’

पार्टी एकताका लागि भनेर यी दुई पार्टीले वार्ता समितिसमेत बनाइसकेका थिए । तर, समाजवादी पार्टी सरकारबाट नबाहिरिएसम्म एकता नगर्ने भनेर राजपा पछि हटेको थियो । पछि समाजवादी पार्टी सरकारबाट बाहिरिएपनि राजपाले एकतामा खासै चासो दिएको थिएन ।

पछिल्लो समय पुन: यी दुई पार्टीबीचको एकताको चर्चाले नेपाली राजनीतिमा नयाँ तरङ्ग सिर्जना गर्न थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार