सात सय ५ दिनको यात्रा गन्तब्य नपुग्दै रोकियो

काठमाडौं : हरेक बिहिबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने सन्चार तथा सूचना प्रविधिमन्त्रीको नियमित पत्रकार सम्मेलन आज हुन सकेन ।

अक्सर दिउँसो ३ बजे हुने पत्रकार सम्मेलन आज सवा ४ बजेका लागि राखिएको थियो । त्यो पनि अन्तिम समयमा स्थगित गरियो ।

‘म भ्रष्टाचार गर्दिनँ । म भ्रष्टाचार हुन दिन्नँ । म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु ।’ यो वाक्य सन्चारमन्त्रीको कार्यकक्षको ढोकामा रहेको छ ।

तर, बुधबार राति यिनै सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘कमिसन’का लागि गरेको ‘बार्गेनिङ’ बाहिर आएपछि यो वाक्यले बाँस्कोटालाई नै गिज्याइरहेको आभास हुन्थ्यो । अर्थात् भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार हुन दिन्नँ भन्ने नारा ‘हात्तीको देखाउने दाँत’मात्रै रहेछ भन्ने देखियो ।

राजीनामा घोषणा हुनासाथ एक टोलीले मन्त्रीको कार्यकक्षबाटै महत्वपूर्ण कागजातहरुसमेत नियन्त्रणमा लिएको थियो ।

मन्त्रीले राजीनामा गरेको अनौपचारिक समाचार बाहिर आएपनि उनकै मुखबाट राजीनामा सुन्ने प्रतीक्षामा पत्रकारहरु थिए ।

तर, अन्तिममा मन्त्रालयका कर्मचारी आएर पत्रकार सम्मेलन स्थगित भएको जानकारी दिए ।

पत्रकार सम्मेलन नभएपनि कर्मचारीले पत्रकारका लागि राखिएको खाजा वितरण गर्दैै आरामले खान आग्रह गरे ।

पत्रकारहरु पनि के कम सन्चारमन्त्री बाँस्कोटाको ‘अन्तिम भोज’ भन्दै खाजा खाए ।

पत्रकार सम्मेलनहरुमा सधैं हक्की स्वभाव देखाएर प्रस्तुत हुने बाँस्कोटा अन्तिम दिन भने पत्रकारहरुको सामना नै नगरी बिदा भए । आखिर सबै समयको खेल न हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार