लोक सेवा विशेष : विषयगत प्रश्नोत्तर

  नयाँ बुलन्द  230 पटक हेरिएको

१. नेपालको पर्यटन उद्योगलाई प्रभावकारी बनाउने उपायहरू लेख्नुहोस् ।
– पर्यटन विदेशी मुद्रा आर्जनको स्रोत हो । रोजगारीको प्रमुख आधार क्षेत्र हो । राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहने पर्यटन उद्योगले नेपाललाई अन्तर्राष्ट्रिय सम्पर्कमा वृद्धि गराउनसमेत सहयोग गर्दछ । मनोरम प्राकृतिक सौन्दर्य, अतुलनीय साँस्कृतिक सम्पदा एवम् अनगिन्ती विशिष्टताका पर्यटकीय स्थलहरू रहेको नेपालको पर्यटन उद्योगलाई प्रभावकारी बनाउने उपायहरू निम्न छन् :
– सङ्ख्यात्मकको साथै गुणात्मक पर्यटनमा पनि जोड दिई पर्यटकहरूको सुरक्षाको प्रत्याभूति दिने,
– नयाँ पर्यटकीय स्थलहरूको पहिचान गर्ने,
– हवाई सेवालाई भरपर्दो, नियमित एवम् सुरक्षित बनाउँदै यसको क्षेत्र विस्तार गर्ने,
– पर्यटन सेवा केन्द्रहरूको विस्तार गर्ने,
– होटल रेस्टुराँहरूको सङ्ख्या बढाउने, होटल सेवाको नियमित अनुगमन गर्ने,
– वातावरण प्रदूषणमा नियन्त्रण र सरसफाइमा जोड दिने,
– कला, संस्कृतिको विकास एवम् सम्वद्र्धनमा जोड दिने,
– नेपालका पर्यटकीय क्षेत्रहरूको अन्तर्राष्ट्रिय जगत्मा व्यापक प्रचार–प्रसार गर्ने,
– पर्यटकहरूमाथि हुने शोषण र ठगीलाई निर्मूल गरिनुपर्ने,
– पर्यटनसम्बन्धी तालिम प्राप्त जनशक्ति उत्पादन गर्नुपर्ने,
– पर्यटन पूर्वाधार र पर्यटन बजार व्यवस्थित गर्नुपर्ने,
– आन्तरिक पर्यटनलाई बढावा गर्ने,
– शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने,
– राजनीतिक कारणले हुने बन्द–हडताल, चक्काजाम, चन्दा, अस्थिरता आदिको अन्त्य गर्ने,
– लगानीको वातावरण तयार गरी यस क्षेत्रमा स्वदेशी र विदेशी लगानी अभिवृद्धि गर्ने ।

२. नेपालमा खेतीयोग्य जमिनको उत्पादकत्व घट्नुको कारणहरू के–के हुन् ? उल्लेख गर्नुहोस् ।
– करिब ७८ प्रतिशत जनता कृषिमा आश्रित तथा कुल गार्हस्थ उत्पादनमा करिब ३३ प्रतिशत हिस्सा ओगटेको कृषि क्षेत्र नेपालमा एकातर्फ भौगोलिक विकटता, बसाइँ–सराइ, बढ्दो सहरीकरण आदिले खेतियोग्य जमिन घट्दै गएको छ भने अर्कोतर्फ भएको खेतियोग्य जमिनको उत्पादकत्व पनि घटिरहेको छ । यसरी खेतियोग्य जमिनको उत्पदकत्व घट्नुका विभिन्न कारण छन्, जुन निम्न छन्
– कृषकहरूमा खेती गर्ने आधुनिक उन्नत तरिकाको ज्ञान नहुनु,
– खेतियोग्य जमिनमा सिँचाइ सुविधा नहुनु,
– उन्नत बीउविजन एवम् रासायनिक मलको अभाव हुनु,
– खेतियोग्य जमिनको पूर्ण उपयोग नहुनु,
– कृषि सडक सञ्जालको विकास नहुनु,
– कृषिमा व्यावसायीकरण हुन नसक्नु,
– कृषि क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुनु,
– व्यावसायिक कृषि विकासका लागि निजी क्षेत्रको लगानी आकर्षित नहुनु,
– दीर्घकालीन कृषि योजनाले अपेक्षा गरेअनुसार कृषि क्षेत्रमा लगानी बढ्न नसक्नु ।

३. लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिका कस्तो हुनुपर्दछ ? उल्लेख गर्नुहोस् ।
– जनताका प्रतिनिधिद्वारा शासन चलाइने व्यवस्था लोकतन्त्र हो । राजनीतिक दल जनताका प्रतिनिधिहरू पनि हुन् । लोकतन्त्रमा राजनीतिक दलले शासन व्यवस्था चलाउने भएकाले लोकतन्त्रमा यिनको भूमिका बहुआयामिक हुनुपर्दछ । जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ :
– जनताको प्रतिनिधि भई जनहितका कार्यहरू गर्ने,
– जनचाहनाअनुरूप ऐन नियम बनाउने र बनेका ऐन नियमको पूर्ण पालन गर्ने, ऐन नियम कार्यान्वयन गर्न सहयोग गर्ने,
– जननिर्वाचित भएर मुलुकको समग्र शासन व्यवस्थाको नेतृत्व गर्ने,
– देश र जनताप्रति गरेको प्रतिबद्धता पूरा गर्ने,
– लोकतन्त्र र मानवअधिकारको संरक्षण एवम् प्रवद्र्धन गर्ने,
– दलगत र व्यक्तिगत स्वार्थमा नभई राष्ट्रिय स्वार्थमा कार्य गर्ने,
– शान्ति सुरक्षा, स्थिरता, विकास, कानुनी शासन स्थापना गरी मुलुकमा सुशासन कायम गर्ने,
– समग्रमा लोकतन्त्रको स्थापना गर्नेदेखि लोकतन्त्रको सुदृढीकरण गर्नेसम्मको सबै काम गर्ने ।

४. अन्तःशुल्क प्रशासनमा सुधारका क्षेत्रहरू के–के हुन् ?
– उत्पादनमा लाग्ने कर अन्तःशुल्क हो । यो स्वदेशभित्र आन्तरिक उत्पादनमा लाग्छ । स्वदेशमा अन्तःशुल्क लाग्ने वस्तु विदेशबाट आयात गरेमा त्यस्ता वस्तुमा भन्सार कार्यालयमा अन्तःशुल्क लाग्छ । वस्तु र सेवा दुवैमा लाग्ने यो कर नेपालको परम्परागत राजस्व हो । नेपालको राजस्व प्रशासन खासगरी आयकर, मूल्य अभिवृद्धि कर र भन्सार आधुनिक राजस्व प्रशासनमा रूपान्तरण हुन थाले पनि अन्तःशुल्क प्रशासन पुरानै ढाँचामा सञ्चालित छ । अन्तःशुल्क प्रशासनका कार्यमा कम्प्युटर प्रणाली अवलम्बन गर्न नसकिएको, अन्तःशुल्कको दर र क्षेत्रमा स्थिरता ल्याउन नसकिएको, सङ्गठन संरचनामा सुदृढीकरण गर्न नसकिएको अवस्था छ । त्यसैले अन्तःशुल्कमा सुधारका पक्ष यिनै हुन सक्छन् । जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ :
– अन्तःशुल्कको दर र क्षेत्रमा स्थिरता ल्याउने,
– अन्तःशुल्क प्रशासनको सुदृढीकरण गर्ने,
– आन्तरिक राजस्वको आधार फराकिलो बनाउन अन्तःशुल्कको प्रयोग गर्ने,
– भौतिक नियन्त्रण प्रणालीलाई स्वयम् निष्कासन प्रणालीमा रूपान्तरण गर्ने,
– अन्तःशुल्कमार्फत स्वदेशी उद्योगको संरक्षण र प्रवद्र्धन गर्ने,
नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भएकाले घट्दो भन्सार राजस्वको स्थान पूर्ति गर्नसमेत यसको प्रयोग गर्नुपर्ने देखिन्छ । अतः यसको व्यवस्थित परिचालन आवश्यक छ । यसका लागि अन्तःशुल्कको दर र क्षेत्रमा स्थिरता ल्याउँदै साङ्गठनिक प्रणालीमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ ।

प्रस्तुतकर्ता : हेमचन्द्र शर्मा/श्रोेत : गोरखापत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार