१७५ जनामा ‘कोरोनाभाइरस’को संक्रमण देखिएन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहानबाट नेपाल ल्याइएका कुनैपनि व्यक्तिमा ‘कोरोनाभाइरस’को संक्रमण  नरहेको जनाएको छ ।

मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी गएको आइतबार नेपाल ल्याइएका १७५ जनामा पहिलोपटक गरिएको परीक्षणमा कोरोना नरहेको पुष्टि भएको जनाएको हो ।

भक्तपुरको खरिपाटीमा ‘क्वारेन्टाइन’मा राखिएका उनीहरुको फागुन ४, ५ र ६ गते घाँटी र नाकभित्रको स्वाबको नमुना संकलन गरी परीक्षण गरिएको थियो ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कसैमा पनि कोरोनाभाइरसको संक्रमण नभेटिएको मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए ।

क्वारेन्टाइनमा रहेको १४ दिनपछि पुनः प्रत्येक व्यक्तिको नाक र घाँटीभित्रको स्वाबको परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।

‘नेपाल अझै जोखिममै’

मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले नेपाल ल्याइएका कसैमा पनि कोरोनाभाइरसको संक्रमण नदेखिँदैमा नेपाल कोरोनामुक्त छ भन्न नमिल्ने बताए ।

अन्य देशमा पनि रोगको संक्रमण देखिएकाले नेपाल अझै जोखिममा नै रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार