जथाभाबी निर्माणले पर्यटकीय क्षेत्र कुरूप

  नयाँ बुलन्द  223 पटक हेरिएको

स्थानीय तहले पूर्वाधार निर्माणमा करोडौं रकम खर्च गरे पनि वातावरण प्रभाव मूल्यांकनलाई ध्यान दिएका छैनन् ।

सूर्योदय नगरपालिकाको अन्तुपोखरीमा बोटिङमा रमाउँदै पर्यटकहरु ।

इलाम : संघीयता कार्यान्वयनपछि तीन तहकै सरकारले पूर्वाधार विकासमा उल्लेख्य वजेट खर्चिरहेका छन् । सडकदेखि भवन, मठमन्दिरलगायत पर्यटकीय क्षेत्रमा बजेट र कार्यक्रम केन्द्रित छ तर पर्यटन र वातावरणीय दृष्टिले दूरगामी महत्त्व राख्ने क्षेत्रमा भएका पूर्वाधार निर्माण वातावरणमैत्री छन् छैनन् भन्ने प्रश्न उब्जाएको छ ।

खासगरी सडक निर्माण र पर्यटकीय क्षेत्रलाई सिंगार्ने नाउँमा प्राकृतिक स्रोतको दोहन तीव्र बढेको छ । संरक्षण गरेर पर्यटक लागि सुरक्षित राखिनु पर्ने वस्तुहरू नै हटाएर कंक्रिटको संरचना निर्माण भइरहँदा यसको असर नकारात्मक बढी देखिएको छ ।

स्थानीय तहले पूर्वाधार निर्माणमा करौडौं रकम खर्चे पनि वातावरण प्रभाव मूल्यांकनलाई ध्यान दिएका छैनन् । यहाँका १० स्थानीय तहमध्ये कसैले पनि वातावरणीय प्रभाव मूल्यांकन सम्वन्धी कुनै पनि कानुन कार्यान्वयनमा ल्याएका छैनन् । सारोकारवाला निकायलाई प्राकृतिक दोहनको अवस्थाका बारेमा प्रस्ट जानकारी भए पनि नियन्त्रणका लागि ठोस उपाय भने अपनाउन सकेका छैनन् ।

प्रमुख पर्यटकीय स्थलहरू अन्तु, कन्याम, इलाम बजार, सन्दकपुर क्षेत्रलगायतमा पूर्वाधार विकासका कारण प्राकृतिक पक्ष ओझेल पर्दै गएको हो । खोजकर्ता युद्ध वैद्य क्षणिक निर्णयका कारण प्राकृतिक वस्तुको ख्याल नगर्ने प्रवृत्ति बढेका कारण इलामको प्राकृतिक पहिचान मेटिंदै जानेमा चिन्ता गर्छन् ।

‘पूर्वाधार विकासको पहिलो पाटो नै यसले वातावरणमा पार्ने असरबारे गम्भीर हुनु हो,’ उनी थप्छन्, ‘तर जुनसुकै सरकार र निकायले यसलाई थोरै पनि महत्त्व दिएका छैनन् ।

निजी क्षेत्रबाट बनिंदै गरेका जलविद्युत्आयोजना हुन् या सरकारी निकायबाट हुने पूर्वाधार विकास कहीं पनि प्राकृतिक सुन्दरता जोगाउने भन्दा पूर्वाधार विकासको कामलाई छिटो सक्ने ध्याउन्न देखिन्छ ।

निजी जलविद्युत् कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्ने पैसा पनि सम्बन्धित पालिका वा स्थानीयले सडकलगायतका पूर्वाधार विकासमा नै खर्च गर्ने गरेका छन् । एकातिर पूर्वाधार विकासका लागि रुख काट्ने कामबढ्दो छ भने वृक्षरोपण कार्य औपचारिकतामा मात्र सीमित देखिन्छ ।

इलाम बजार क्षेत्रको विस्तारसँगै पूर्वाधार विकासले गर्दा यहाँका थुप्रै ढुङ्गे धारा सुकेका छन् । सडक या घर निर्माण हुँदा पानी रिचार्ज हुन अवरोध भएकाले यस्ता ढुङ्गेधारा सुक्ने गरेको वातावरणविदहरूको भनाइ छ । जिल्लाका हरेकजसो स्थानमा नै पानीका स्रोत, पाकृतिक सम्पदा जोगाउने प्रति ध्यान नपुगेको पाइएको छ । निर्माणका क्रममा प्रयोग हुने ठूला मेशिनरी औजारको जथाभावी प्रयोगले पनि धार्मिक, जैविक, सांस्कृतिक र प्राकृतिक वस्तुहरूलाई असर पुगेको छ । धेरै स्थानमा पानीका स्रोतहरूसमेत सुक्दै गएका छन् ।

रोङ गाउँपालिकाको कुटिडाँडा क्षेत्रमा पनि प्रकृति मैत्री पूर्वाधार विकास नभएको गुनासो छ । पछिल्लो समय स्थानीय तह सहित प्रदेश र केन्द्र सरकारले पुराना र सुक्दै गएका पोखरी संरक्षणमा भने चासो बढाएको छ । तर यस्ता पोखरी संरक्षण गर्दा पानीका स्रोत नसुक्ने गरि प्राकृतिकरुपमा नै गर्दा उपयोगी हुने देखिएको छ ।

रामसार क्षेत्रमा सूचिकृत जैविक धार्मिक र पर्यटकीय महत्वको माइपोखरीमा एक करोड रुपैयाँको लागतमा शिवको मूर्ति बनिने भएको छ । इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाको बराबरी लगानी हुने गरि यो मूर्ती बनाउन लागिएको हो । तर यो स्थानमा मूर्ती भन्दा यसमा रहेका महत्वहरूलाई नै संरक्षण र सम्वर्धन गर्नु पर्ने आवश्यकता रहेको वातावरण संरक्षणमा कार्यरतहरू वताउछन् ।

अन्तुको मौलिकता मेटिँदै

ग्रामीण पर्यटन केन्द्रको रूपमा पछिल्लो समय स्थापित बनेको अन्तु क्षेत्र अहिले सहर झैं लाग्छ । कंक्रिटका ठूलाठूला घर, पर्यटकीय क्षेत्रमा पनि उस्तै संरचना ।

झट्ट हेर्दा अहिलेको अन्तुको विकास उत्कर्षमा पुग झै लाग्छ । तर प्राकृतिक र वातावरणीय पक्षलाई ख्याल नगरि पूर्वाधार विकासको काम गरिदा अन्तुले आफ्नो अस्मिता गुमाउदै गएको प्रश्ट आभास हुन्छ ।

झुल्केघामको मनोरम दृष्यावलोकनसागै लेप्चा संस्कृतिको रसस्वादन र चियाबारीको बीचमा अवस्थित पोखरीको अनुपम दृश्य अन्तुको पर्याय हो । प्रदेश १ कै पर्यटकीय गन्तव्य सूचीमा रहेको यो क्षेत्रमा गरिएका पूर्वाधार विकाससँगै व्यवसायिक प्रयोजनले वनाइएका संरचनाले अन्तुको मौलिकता मेटिदै गएको आभास हुन्छ ।

अन्तुडाँडा र पोखरी आशपास वनाइएका संरचनाले एकातिर अन्तुको आर्कषणलाई छाँयामा पार्दै गएको छ भने पहिचान बनेको यहाँको होमस्टे संस्कृति पनि मेटिदै गएको छ । ‘प्राकृतिक पक्ष जोगाउन नसकिएको अवस्था हो,’ अन्तुका पर्यटनकर्मी धनकुमार आलेले भने, ‘यसका लागि विज्ञहरूसँगको सहकार्यमा गतिलो गरी योजना बनाउनुपर्छ ।’

अन्तुको पहिचानको रुपमा रहेको होमस्टे संस्कृति पनि हराउदै गएको छ । राज्य पक्षवाट व्यवसायिक होटल र रिसोर्टलाई धमाधाम अनुमति दिएपछि होटलको संख्या बढेको हो । अन्तुमा ६० वटा होमस्टे छन् । त्यस्तै २ दर्जन जति होटलहरू खुलेका छन् । थप होमस्टे र होटल बन्ने क्रम पनि रोकिएको छैन ।

२०६० देखि व्यवसायिक पर्यटनको अभ्यासमा लागेका अन्तुवासीको अथक मेहनतले यो क्षेत्र देशीविदेशी पर्यटककालागि गन्तव्य वनेको हो । हराभरा चियावारी, घरैपिच्छे फूलबारी, न्यानो अतिथि सत्कार जस्ता कारणले छोटो अवधीमा नै अन्तुवासीले पर्यटनलाई जिउने अधार वनाएका हुन् ।

तर अहिले पूर्वाधार विकास गर्दा स्थानीयसाग यथेष्ट छलफल र सरसल्लाहको अभावले पनि समस्या देखिएको छ । ‘यहाँको प्रकृति, संस्कृति र संस्कारसहितको विषेशताकालागि स्थानीयले लामो अभ्यास र अनुभव सँगेटेका छन्,’ यसको रक्षाका लागि जुनसुकै निकायले पनि पूर्वाधार विकासको काम अघि बढाउदा स्थानीयसँग पर्याप्त सहकार्य गर्नुको विकल्प छैन ।’

अन्तु क्षेत्रका जुन रफ्तारमा पूर्वाधारको विकास भइरहेको छ यो देख्ने अधिकांश स्थानीय पनि यहाँको पर्यटनको भविश्य लामो नहुने हो की भन्नेमा छन् । ‘यहि प्रकारको गतिविधि बढेर जाने हो भने अव अन्तु पर्यटनको भविश्य ५ वर्ष मात्रै हो,’ स्थानीय कमल घिमिरेले भने ।

नगरपालिकाको लगानीमा अन्तुडाँडामा करिव एक करोड रुपैयाँको लागतमा विभिन्न पूर्वाधार वनिदै छन् । हरियो चौरी भएको ठाउँमा टायल लगाइँदै छ भने सूर्योदय हेर्ने आउनेहरूको सहजताका लागि कंक्रिटको संरचनाबनिरहेको छ ।

अन्तुमा सवैभन्दा धेरै पोखरी क्षेत्र दोहनमा परेको छ । स्थानीयले जग्गा लिजमा या विक्री गर्ने गरेकाले पोखरीको सौन्दर्य घट्दो छ ।

पोखरी वरिपरी हराभरा चियाबारी र धुपीका रुखले त्यहाँ पुग्नेलाई भिन्न अनुभूति हुने गरेको थियो तर क्रमशः अहिले चियाबारीमा होटल निर्माण भइरहेका छन् । कान्तिपुर दैनिकमा विप्लव भट्टराईले यो खबर लेखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार