गजुरमुखी रेडस्टार गोल्डकप : रेडहर्ष सेमिफाइनलमा

इलाम : इलामको माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी धाममा जारी प्रथम गजुरमुखी रेडस्टार गोल्डकप फूटबल प्रतियोगितामा रेडहर्ष इलाम  सेमिफाइनल प्रवेश गरेको छ ।

मंगलबार भएको तेस्रो क्‍वार्टरमा राइजिङ स्टार पाँचथरलाई १-० गोल अन्तरले पराजित गर्दै रेडहर्षले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । रेडहर्षका दिपेश राईले खेलको १५ औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।

यसअघि मंगलबार भएको दोस्रो क्‍वार्टरमा देउमाई खेलकुद विकास समिति इलामलाई २-१ ले पराजित गर्दै इलाम एफसी सेमिफाइनल प्रवेश गरेको थियो ।

प्रतियोगिता अन्तरगत बुधबार अन्तिम क्‍वार्टरमा फुवा युवाक्लब इलाम र एपीएफसी माङसेबुङ आमनेसामने हुँदैछन् ।

रेडस्टार क्लब माङसेबुङ २ इलामको आयोजनामा सुरु भएको प्रतियोगितामा इलाम र पाँचथरका ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताका विजेताले नगद १ लाख र उपविजेताले नगद ५१ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताको फाइनल ११ फागुनमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार