प्रथम गजुरमुखी रेडस्टार गोल्डकप सुरु, आयोजकको विजयी सुरुआत


इलाम : इलामको माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी धाममा आज (आइतबार) देखि प्रथम गजुरमुखी रेडस्टार गोल्डकप फूटबल प्रतियोगिता सुरु भएको छ ।

उद्घाटन खेलमा आयोजक रेडस्टार क्लब माङसेबुङ २ ले विजयी सुरुआत गरेको छ ।
एफसीडीसी फाकफोकथुम ७ इलामलाई सडन डेथमा पराजित गर्दै आयोजकले सेमिफाइनलको यात्रा तय गरेको हो ।

निर्धारित समयमा दुवै टिमबाट १-१ गोलको बराबरी र टाइब्रेकरमा समेत २-२ को बराबरी भएपछि विजेता निर्धारण गर्न सडन डेथसम्म कुर्नुपरेको थियो ।

प्रतियोगिता अन्तरगत सोमबार देउमाई खेलकुद विकास समिति इलाम र इलाम एफसी इलामबीच प्रतिष्पर्धा हुने आयोजक रेडस्टार क्लबका अध्यक्ष मदन राईले जानकारी दिए ।

रेडस्टार क्लब माङसेबुङ २ इलामको आयोजनामा सुरु भएको प्रतियोगितामा इलाम र पाँचथरका ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा आयोजक रेडस्टार क्लब माङसेबुङसँगै एफसीडीसी फाकफोकथुम ७ इलाम, देउमाई खेलकुद विकास समिति इलाम, इलाम एफसी इलाम, गुनमुने एफसी इलाम, राइजिङ स्टार क्लब रवी पाँचथर, फुवा युवाक्लब इलाम र एपीएफसी माङसेबुङ इलामको सहभागिता रहेको छ ।

प्रतियोगिताका विजेताले नगद १ लाख र उपविजेताले नगद ५५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताको फाइनल ११ फागुनमा हुनेछ ।
प्रतियोगिताको उद्घाटन माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले व्यानर खोलेर गरे ।

उद्घाटन कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष इदिङ्गोले खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन सकिने बताउदै त्यसका लागि गाउँपालिका लागिपरेको बताए । यस्ता प्रतियोगितामा गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

रेडस्टार क्लबका अध्यक्ष मदन राइको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको स्वागत क्लबका सल्लाहकार पृथीमान जवेगू र संचालन सचिव हरी राईले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार