अमर नेम्बाङ लिम्बू स्मृति ट्रस्टद्वारा दुलाल र शेर्मा सम्मानित

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर : ‘अमर नेम्बाङ लिम्बू स्मृति ट्रष्ट’द्वारा दुई श्रष्टालाई साहित्य पुरस्कारबाट आइतबार सम्मान गरिएको छ ।

नेम्वाङको वार्षिक स्मृतिका अवसरमा पाँचथरका उपन्यासकार, अनुसन्धानकर्ता, नाटककार तथा साहित्यकार डा.देवी क्षेत्री दुलाल र झापाका कवि तथा समालाेचक मुनाराज शेर्मालाई नगद एक लाख राशि सहित सम्मान पत्रले सम्मान गरिएको छ ।

त्यस्तै, मेन्छ्यायेम एफएम १०३.४ मेघाहर्ज तेह्रथुमलाई पाँच हजार रुपैया र फाल्गुनन्द-३, पौवासारतापका विद्यालयको शैक्षिक उन्नति सहयोग र छात्रवृत्तिका लागि दुई विद्यालयलाई ५० हजारका दरले नगद हस्तान्तरण गरिएको थियोे ।

नेम्वाङको जन्म स्थान

फाल्गुनन्द-३, पौवासारतापको शिलौटीफेदीमा रहेको अमर नेम्वाङ स्मृति रंगशालामा आयोजित कार्यक्रमका संयोजक रङ्गवादी कवि धर्मेन्द्र नेम्वाङको सभापतित्वमा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव डा.तुलसी प्रसाद भट्टराईबाट पुरस्कर प्रदान गरिएको थियो ।

कार्यक्रममा आख्यानकार कृष्ण बराल, कवि प्रेम ओझा, सन्देश सुब्बा, प्रकाश थाम्सुहाङ्ग, मिना राई, गजलकार बालिका थपलिया, नुनाम केरुङ्ग, दुर्गाराज भट्टराई, गायक खड्ग बोहोरा, सुरेन शिशिर केरुङ्ग, गजलकार तथा वक्ता मधु केरुङ्ग लगायतले श्रद्धासुमन सहित उनको जिवनीको चर्चा गरेका थिए ।

इलाम, झापा र पाँचथरका साहित्य प्रेमीको समेत उपस्थित रहेको स्मृति दिवसमा श्रष्टाहरुले रचना वाचन गरेका थिए ।

फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदकै समयमा उनको स्वर्गारोहण भएको थियो । साहित्य र राजनीति क्षेत्रमा अनवरत संघर्ष गर्दै आएका नेम्वाङको सम्झनामा समाजमा गरिएका सकारात्मक काम र योगदानलाई प्रोत्साहन गर्ने उदेश्यले ट्रष्टको स्थापना गरिएको ट्रष्ट अध्यक्ष नेम्वाङका जेठा छाेरा मुनिन्द्र नेम्बाङले जानकारी दिए ।

ट्रष्टले विभिन्न विधामा कलम चलाउने श्रष्टा,शैक्षिक तथा मिडिया क्षेत्र लगायतलाई बर्सेनि सम्मान गर्ने उनले जानकारी दिए ।

हाल उनी अमेरिकमा रहेर आफ्नो जन्म भूमिको लागि हरेक क्षेत्रमा मद्दत गर्दै आएका छन् ।

को हुन् स्व.नेम्वाङ ?

फाल्गुनन्द गाउँपालिका-३,पौवासारताप निवासी स्व. नयेन्द्रराज (नरबीर) नेम्बाङ र माता श्रीहाङमा थाम्सुहाङकाे माहिला छाेरा वि.सं. १९९८ सालमा उनको जन्म भएको थियो ।

उनले गाउँकै मनरत्न मिडिल स्कुलबाट प्रारम्भिक शिक्षा शुरू गरेका थिए । त्यस पछि १० वर्ष भारतको दार्जिलिङ हुँदै त्रिभुवन विश्वविद्यालयबाट २०२५ सालमा राजनीतिशास्त्रमा स्नातकाेत्तर पूरा गरेका थिए।अध्यन पछि उनी जागिर तथा शहरिया जीवन तर्फ कल्पना नगरी ग्रामीण क्षेत्रको सेवामा सक्रिय रहे ।

वि.स.२०३३ सालमा छिमेकी गाउँपञ्चायत चिलिङदिनकाे जनपक्षिय नेपाली कांग्रेसकाे तर्फबाट निर्विरोध प्रधानपञ्च भएपछि उनी पटक पटक साविक पौवा सारताप गाविस अध्यक्ष बन्दै गणतन्त्रको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा फाल्गुनन्द गाउँपालिका प्रथम अध्यक्ष निर्वाचित भए।उनी जिल्लाकै जेष्ठ अध्यक्ष थिए ।

तीनवटै व्यवस्था गाउँञ्चायत, गाउँविकास समिति, गाउँपालिकाको जिम्मेवारी वहन गर्ने व्यक्तिको रूपमा परिचित भए ।

अन्तमा गाउँपालिका अध्यक्ष कार्यरतमै वडाकाे एक कार्यक्रममा सम्बाेधन गर्दै गर्दा ढले । त्यस पछि उपचारमा लैजाँदै गर्दा बाटोमा उनको २०७५ माघ २६ गते ७७ वर्षको उमेर सधैंको लागि अस्ताए । उनका तीन छाेरा मुनिन्द्र, सुनिन्द्र, गुनिन्द्र, एक छोरी इन्दिरा, श्रीमति चन्द्रकला थाङदेन साथै नातानातीनाहरु छन् ।

उनी लिम्बु समुदायमा स्नातकाेत्तर गर्ने पहिलाे व्यक्ति हुन् । केहि समय अमेरिकमा उनले बसोबास गरेका थिए । त्यहीँ रहँदा उनले विश्व साहित्यको अध्यन गर्दै यस क्षेत्रमा कलम चलाए।उनका अमेरिका भ्रमणका सम्झना, सम्झनाका तरेलिहरु र एक साँझकाे अवसान नामक कविता संग्रह लगायत अन्य थुप्रै लेख रचनाहरु प्रकाशित छन्

२०७५ सालमा नेपाल सरकारले उनलाई सुप्रवल जनसेवा श्री पदकले विभुषित भएका उनको पछिल्लो समयमा राजनीतिज्ञ, बिश्लेशक तथा विज्ञहरुले पनि उनको जिवनी अध्यन गर्न थालेका छन् ।

नेपाली काँङ्ग्रेसको तर्फबाट निर्वाचित भएका अध्यक्ष नेम्वाङ ग्रामीण क्षेत्रमा समाज सेवा गर्ने इच्छा शक्ति भएका अभिभावक तथा जनप्रिय नेता मात्रै हैनन् उनी सरल र भावुक इकोराइटर पनि हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार