पवित्राहाङमा कप : लेटाङ फुटबल क्लब मोरङ सेमिफाइनलमा

  नयाँ बुलन्द
0 Shares

माङसेबुङ : इलामको माङसेबुङमा जारी पवित्रहाङमा कपमा लेटाङ फुटबल क्लब मोरङ विजयी भएको छ ।

आइतबार भएको अन्तिम क्वार्टरमा एमसीसी फुटबल क्लब सुनपा इलाम विरुद्ध ३-१ को नतिजा निकाल्दै लेटाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलको १४ औं मिनेटमा लेटाङकी ईमा राईले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । २० औं मिनेटमा लेटाङकी मेका खजुमले गोल गर्दै नतिजालाई दोब्बर बनाइन् ।

पहिलो हाफमा २-० को नतिजा निकालेको लेटाङले ४० औं मिनेटमा पुनः ईमा राईले गोल गर्दै अग्रता तेब्बर बनाइन । विपक्षीको निरन्तर दवावमा परेको एमसीसीले भने ६९ औं मिनेटमा जेनी राईले सान्तवना गोल फर्काएकी थिइन् ।

लेटाङले अब मंगलबार हुने दोश्रो सेमिफाइलनमा माउण्ट एभरेष्ट स्र्पोटिङ क्लब सुनसरीको सामना गर्नेछ ।

सोमबार पहिलो सेमिफाइनलमा एपिएससी माङसेबुङ इलाम र चुलाचुली गाउँपालिका खेलकुद विकास समिति बीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ सय ६४ रुपैयाँ र उपविजेता टिमले नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६४ रुपैयाँ प्राप्त गर्नेछन् ।

फाइनल खेल फागुन २ गते हुनेछ भने पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार